प्रतिस्पर्धी घाइते भएपछि खेलाडीले एक्लै स्वर्ण पदक लिन मानेनन्, दुवैलाई स्वर्ण पदक दिइयो

डिसी नेपाल
१८ साउन २०७८ १७:१८

काठमाडौं। जापानको टोकियो जारी ओलम्पिक खेलको एक प्रतिस्पर्धामा २ जना खेलाडीले संयुक्त रुपमा स्वर्ण पदक जितेका छन् । कतारका खेलाडीले एक्लै स्वर्ण पदक लिन अस्वीकार गरेपछि दुई प्रतिस्पर्धी खेलाडीलाई स्वर्ण पदक दिइएको हो । कतारका खेलाडी मुताज एस्सा बारशिमले आफूले त स्वर्ण पदक पाए नै आफूसँग प्रतिस्पर्धा गरिरहेका इटलीका खेलाडी गियानमार्को ताम्बेरीलाई पनि स्वर्ण पदक दिलाए ।

अल जजीराका अनुसार ओलम्पिकमा पुरुष हाइजम्प प्रतिस्पर्धामा यो घटना भएको हो । बारशिम र ताम्बेरी दुवैले २.३७ मिटर जम्प गरेर एकसाथ पहिलो स्थानमा रहे । त्यसपछि २ जनामध्ये एक विजेता छान्नुपर्ने भयो । यसको लागि खेल अधिकारीले उनीहरु दुवैलाई थप ३–३ जम्प गर्न भने । तर, पछि गरिएका तीनवटै जम्पमा यी दुईमध्ये कुनै पनि खेलाडी २.३७ मिटरको उचाइभन्दा माथि जान सकेनन् ।

तीन थप जम्प गर्ने क्रममा पनि विजेताको छिनोफानो हुन नसकेपछि अधिकारीहरुले उनीहरुलाई थप १–१ जम्प गर्न भने । तर, ३–३ जम्प गर्ने क्रममा तेस्रो जम्पका क्रममा इटलीका खेलाडी ताम्बेरी घाइते भएका थिए । खुट्टामा चोट लागेर अर्को जम्प गर्न नसकेपछि उनले आफ्नो नाम फिर्ता लिए । यससँगै एक राम्रो जम्प गरेर स्वर्ण पदक जित्ने मौका कतारी खेलाडी बारशिमलाई हात लाग्यो ।

प्रतिस्पर्धी खेलाडी बाहिरिएपछि बारशिमले खेल अधिकारीसँग ‘मैले पनि नाम फिर्ता लिए के हुन्छ ?’ भनेर सोधे । अधिकारीले नियमको अध्ययन गरेर उनले पनि नाम फिर्ता लिए दुवैलाई स्वर्णपदक दिइने बताए । यो थाहा पाएपछि बारशिमले पनि नाम फिर्ता लिए । त्यसपछि नियमअनुसार दुवै खेलाडीलाई स्वर्ण पदक दिइयो ।

बारशिमले आफ्नो ऐतिहासिक निर्णयपछि भने ‘खेलमा जित्नु नै सबथोक हुँदैन । हामीले आउने पिढीलाई सन्देश दिएका छौं कि कसरी खेल्नुपर्छ । कसरी आफ्ना प्रतिद्वन्द्वीलाई पनि सम्मान गर्नुपर्छ र जो हकदार छन् उनीहरुसँग सफलता बाँड्नुपर्छ । तांबेरीले खुसीमा बारशिमलाई अंकमाल गरे र दुवैले ओलम्पिक स्टेडियम परिक्रमा गरेर आफ्नो भावना व्यक्त गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *