पारस खड्काको सन्यासमा गजबको संयोग, आइसीसीले सम्झियो ऐतिहासिक दिन

डिसी नेपाल
१९ साउन २०७८ १०:१९

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । सन् २००२ देखि नेपाली राष्ट्रिय टोलीका लागि खेल्दै आएका खड्काले २ दशकपछि आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअर अन्त्यको घोषणा गरेका हुन् ।

खड्काको सन्यास घोषणामा रोचक संयोग परेको छ । उनले यो दिन आफैंले पनि रोजेको हुन सक्छ । ३ वर्ष अगाडि आजकै दिन अर्थात अगष्ट ३ तारिखका दिन नेपालले पहिलो एकदिवसीय खेल जितेको थियो । नेदरल्याण्डविरुद्ध त्यो खेल नेपालले मात्रै १ रनले जितेको थियो र त्यो १ रनको जीतका हिरो कप्तान पारस खड्का नै थिए । कप्तानको रुपमा जुन दिन राष्ट्रिय टिमलाई पहिलो एकदिवसीय जिताएका थिए त्यही दिन खड्काले सन्यास घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले खड्काको सन्यास घोषणासँगै ३ वर्षअघिको त्यो ऐतिहासिक दिनको स्मरण गरेको छ ।

३ वर्षअघि २०१८ को अगष्ट ३ का दिन एम्सटेल्भिनमा भएको त्यो खेलमा नेपालले पहिलो ब्याटिङ गर्दै २१६ रन बनाएको थियो । त्यो खेलमा कप्तान खड्काले ब्याटिङतर्फ ५१ रनको अर्धशतकीय इनिङ खेलेका थिए । जवाफी ब्याटिङका क्रममा नेदरल्याण्डले ४९ ओभरमा ९ विकेटको क्षतिमा २११ रन बनायो । जीतका लागि अन्तिम ओभरमा नेदरल्याण्डलाई ६ बलमा ६ रन नै चाहिएको थियो ।

अन्तिम ओभर बलिङ गर्न कप्तान खड्का स्वयं अगाडि आए । खड्काले अन्तिम ओभरको पहिलो बलमा १ रन, दोस्रोमा शुन्य, तेस्रोमा १ रन र चौथो बलमा २ रन दिए । पाँचौं बलमा कुनै रन दिएनन् । अन्तिम बलमा नेदरल्याण्डलाई जीतको लागि २ रन चाहिएको थियो । अन्तिम बल बलिङ गरेका खड्काले आफैं फ्रेड क्लासनलाई रनआउट पनि गराए । ओभर सकिँदा नेदरल्याण्ड अलआउट पनि भयो र नेपालले खेल १ रनले जित्यो ।

पहिलो एक दिवसीय जितेको १ वर्षपछि कप्तानबाट राजीनामा दिएका खड्काले आज बिहानै सन्यासको घोषणा गरेका हुन् । सन्यासको घोषणा गर्दै खड्काले लेखेका छन् ‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटका लागि मेरा सपना भने अझै बामे सर्दैछन् ।’ खड्काको कप्तानीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले डिभिजन ५ बाट अगाडि बढ्दै २०१४ मा टि–२० विश्वकप खेलेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *