यी शर्तहरुको आधारमा तालिबान र नर्दर्न एलायन्सबीच वार्ता हुने

डिसी नेपाल
९ भदौ २०७८ १६:११

काठमाडौं। अफगानिस्तानको सत्ता तालिबानको नियन्त्रणमा आएको छ । तालिबानले अधिकांश देश कब्जा गरिसकेको छ तर पंजशीर प्रान्तसम्म भने तालिबान अझै पुग्न सकेको छैन । पंजशीर प्रान्तमा नर्दर्न एलायन्सका लडाकुहरु तालिबानविरुद्ध युद्ध लडिरहेका छन् । तर, यी दुई गुटबीच वार्ताको संकेत देखिएको छ ।

न्युजविकको रिपोर्टअनुसार नर्दर्न एलायन्स र तादिबानबीच शक्ति बाँडफाँडको विषयलाई लिएर कुराकानी भइरहेको छ । तालिबानले पूरै अफगानिस्तानमा शरिया कानुन लागू गर्ने भनेको छ । तर, नर्दर्न एलायन्स यसलाई केही हदसम्म नियन्त्रणमा राखेर लोकतन्त्र स्थापित गर्ने प्रयासमा जुटेको छ । ‘पंजशीरका सिंह’ भनिने अहमद शाह मसुदका भाइ अहमद वली मसुदका अनुसार शक्ति बाँडफाँडको सम्झौताको प्रयास भइरहेको छ ।

उनले भने ‘हामी सबै पंजशीरमा यो कोसिसमा छौं कि के कुनै शक्ति बाँडफाडको सम्झौता हुन सक्छ वा सक्दैन ? यसबाट तालिबानको कुरा पनि रहनेछ र समाजका सबै वर्गले सम्मान पनि पाउनेछौं ।’ अहमद वली मसुदका अनुसार नर्दर्न एलायन्सले देशमा जो कोहीले आफ्नो कुरा भन्ने अधिकार पाउन् भन्ने चाहन्छ ।

तालिबानले शरिया कानुन लागू गर्न चाहन्छ भने लागू गर्न सक्ने तर त्यो कानुन कसैमाथि नथोपरियोस् भन्ने नर्दर्न एलायन्सको प्रयास छ । यदि काबुलले शरिया कानुन चाहेन भने यो यहाँ लागू नगरियोस् र यदि तालिबानले पनि लोकतन्त्र नचाहे उसमाथि पनि लोकतन्त्र नथोपरियोस् भन्ने एलायन्सले चाहेको छ ।

एकातिर अहमद वली मसुदले शक्ति बाँडफाँडको कुरा गरेका छन् भने अर्कोतर्फ उनका भतिजा अर्थात अहमद शाह मसुदका छोरा अहमद मसुदले तालिबानविरुद्ध युद्धको मोर्चा सम्हालेका छन् । अहमद मसुद आफ्ना लडाकुको साथमा तालिबानविरुद्ध युद्धमा छन् तर उनले पनि वार्ताको विकल्प खुला राखेका छन् । तालिबानले नर्दर्न एलायन्ससँग वार्ताको प्रस्ताव राखेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *