पुरुषहरुलाई एक्लै घरबाहिर निस्किन प्रतिबन्ध लगाउन माग

डिसी नेपाल
९ भदौ २०७८ १६:४०

काठमाडौं। पाकिस्तानका पूर्व राष्ट्रपति आसिफ अली जरदारी र पूर्व प्रधानमन्त्री बेनजीर भुट्टोकी छोरी बख्तावर भुट्टो जरदारीले देशका महिलाहरुको स्थितिप्रति चिन्ता व्यक्त गर्दै पाकिस्तानमा पुरुषहरुलाई एक्लै सार्वजनिक स्थानहरुमा जान प्रतिबन्ध लगाउन माग गरेकी छिन् । उनले यो महिलाको सुरक्षाको लागि भएको बताएकी छिन् । उनले पुरुषहरुको साथमा उनीहरुकी आमा, दिदी, बहिनी वा पत्नी भएको अवस्थामा मात्र पुरुषहरुलाई सार्वजनिक ठाउँमा जान दिनुपर्ने बताएकी छिन् ।

भुट्टोको यो बयान सामाजिक संजालमा चर्चामा छ । कैयौंले उनको यो मागको बारेमा प्रश्न उठाएका छन् । त्यसपछि भुट्टोले आफ्नो यो बयानको विषयमा सफाइ पनि दिएकी छिन् । भुट्टोले ट्वीटरमा भनेकी छिन् ‘महिलाविरुद्ध लगातार बढिरहेको हिंसाका घटनाका कारण मैले यो सुझाव दिएकी हुँ । मलाई योभन्दा राम्रो कुनै विकल्प हुन्छ जस्तो लाग्दैन ।’ उनका अनुसार पुरुषहरुको साथमा आफन्त महिला भएपछि उनीहरु अर्की कुनै महिलाप्रति अभद्र व्यवहार गर्नुभन्दा पहिले २ पटक सोच्नेछन् ।

यसअघि १४ अगष्टका दिन पाकिस्तानको स्वतन्त्रता दिवसका क्रममा लाहोर ग्रेट इकबाल पार्कमा एक महिला युट्युबरमाथि भीडले अभद्र व्यवहार गरेका थिए । डनको रिपोर्टअनुसार ती महिला आफ्ना ६ साथीहरुसँग मिनार ए पाकिस्तानमा भिडियो बनाइरहेकी थिइन् त्यही बेला भीडले उनीमाथि आक्रमण गरेको थियो । यो घटनालगत्तै पाकिस्तानमा महिलाहरुको सुरक्षाको विषयमा बहस सुरु भएको थियो ।

भुट्टोले यो घटनाप्रति प्रतिक्रिया दिँदै यो निकै भयानक घटना भएको र घटना पुलिसकै अगाडि हुनु झनै दुर्भाग्यपूर्ण भएको बताएकी थिइन् । उनले महिलाहरुको सुरक्षामा कमी भएको बताउँदै महिलाहरुको सुरक्षाका लागि महिलाहरुकै आवश्यकता भएको बताइन् । पछिल्लो समय अफगानिस्तानमा महिलाहरुविरुद्ध अपराध बढेको देखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *