तालिबानले पंजशीरमाथि आक्रमण नगर्ने, सीजफायरमा सहमति बन्यो

डिसी नेपाल
१० भदौ २०७८ १३:५४

काठमाडौं। तालिबानले अफगानिस्तानको पंजशीर उपत्यकामा आक्रमण नगर्ने भएको छ । पंजशीरमै तालिबान र नर्दर्न एलायन्सबीच वार्ता सुरु भएको छ । तालिबानले लगभग पूरै अफगानिस्तान कब्जा गरेको भए पनि पंजशीरमा भने प्रवेश गर्न सकेको छैन । यहाँ तालिबान र नर्दर्न एलायन्सका लडाकुहरुबीच युद्ध भइरहेको थियो । अब दुवै पक्षमा सीजफायरको सम्झौता भएको छ ।

अहमद मसुदको नेतृत्वमा नर्दर्न एलायन्स र तालिबानबीच परवानमा वार्ता सुरु भएको हो । तालिबानको तर्फबाट वार्ता टोलीको नेतृत्व मौलाना अमिर खान मुक्तइले गरिरहेका छन् । तालिबानले यो वार्तालाई अमन जिरगा नाम दिएको छ । यो बैठक परवान जिल्लाको चारिकर क्षेत्रमा भइरहेको छ । पंजशीरका विषयमा कुरा गर्दै तालिबानले दुवै पक्ष सीजफायरका लागि सहमत भएको बताएको छ । पंजशीरमा अब दुवै पक्षका लडाकुले गोलीबारी गर्ने छैनन् र तनाव उत्पन्न गर्ने छैनन् ।

पछिल्लो केही दिनयता तालिबान र नर्दर्न एलायन्सका लडाकुबीच पंजशीरको सीमामा गोलीबारी भएको थियो । भिडन्तमा करिब ३ सय जना तालिबानी लडाकु मारिएको बताइएको थियो । तालिबान लगातार पंजशीर कब्जा गर्ने प्रयासमा छ र नर्दर्न एलायन्सले उसलाई रोकिरहेको छ । अहमद शाह मसुदका छोरा अहमद मसुदले नर्दर्न एलायन्सको नेतृत्व गरिरहेका छन् । अफगानिस्तानका उपराष्ट्रपति अमरुल्लाह सालेहले उनलाई साथ दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *