अमेरिकाले ३१ अगष्टसम्म मानिस निकालेर नसक्ने, चेतावनी दिएको तालिबानले अब के गर्छ ?

डिसी नेपाल
१० भदौ २०७८ १७:११

काठमाडौं। अमेरिकाले ३१ अगष्टको निर्धारित समय सीमाभित्र अफगानिस्तानमा फसेका मानिसहरु बाहिर निकाल्ने काम नसकिने बताएको छ । तालिबानले यसअघि नै अमेरिकालाई आफैंले निर्धारण गरेको ३१ अगष्टको समय सीमाभित्र आफ्ना सबै सैनिक लिएर फिर्ता गइसक्न चेतावनी दिँदै यसो नगरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिइसकेको छ ।

अमेरिकाले अब ३१ अगष्टपछि अफगानिस्तानमा आफ्नो कूटनीतिक उपस्थिति कायम राख्न कैयौं विकल्पबारे विचार गरिरहेको बताएको छ । यसअघि अमेरिका र तालिबान दुवैले अमेरिकी सेना ३१ अगष्टसम्म अफगानिस्तानबाट बाहिर गइसक्ने बताएका थिए ।

बुधबार एक पत्रकार सम्मेलनमा अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनले भने ‘आगामी केही दिनसम्म अफगानिस्तानमा काम गरिरहेका अमेरिकी नागरिक, अन्य अफगान सहयोगी र साझेदार देशका नागरिकलाई त्यहाँबाट निकाल्ने र उनीहरुको सुरक्षामा केन्द्रित हुनेछौं ।’

उनले अगाडि भने ‘भलै हामीलाई यो मन परोस् वा नपरोस् तालिबानसँग काम गर्नु महत्वपूर्ण छ ताकि अफगानिस्तान छोड्न इच्छुक मानिसहरुलाई त्यहाँबाट निकाल्ने सुनिश्चित गर्न सकियोस् किनकि अफगानिस्तानको ठूलो भागमा तालिबानको नियन्त्रण छ । हामी यो अभियानको सुरुवातबाटै यो कुरालाई महत्व दिइरहेका छौं ।’ ब्लिंकेनका अनुसार अमेरिका विगत केही वर्षदेखि तालिबानसँग कुटनैतिक सम्पर्कमा छ ताकि अफगानिस्तानको संघर्षको शान्तिपूर्ण समाधानतर्फ बढ्न सकियोस् ।

उनले भने ‘अहिले पनि कुराकानी जारी छ । तालिबान र अफगान सरकारका पूर्व सदस्यहरुबीच यस सिलसिलामा सम्पर्क भइरहेको छ । उदाहरणको लागि सत्ता हस्तान्तरण र सबैको सहभागिता भएको सरकार गठनका विषयमा कुरा भइरहेको छ । मलाई लाग्छ यी कोसिसलाई समर्थन गर्नु हाम्रो हितमै छ ।

अफगानिस्तानबाट मानिसहरु बाहिर निकाल्ने विषयमा उनले भने ‘३१ अगष्ट पछि पनि जोखिमपूर्ण अवस्थाका मानिसहरुलाई देश छाड्न अनुमति दिइनेछ ।’ उनले जोड दिँदै भने ‘जो अफगानिस्तानबाट निस्किन चाहन्छन् उनीहरुलाई सहयोग गर्ने अमेरिकी प्रयास यो मितिमा समाप्त हुने छैन ।’ ब्लिंकेनका अनुसार १ हजार वा त्योभन्दा पनि बढी अमेरिकी नागरिक अझै अफगानिस्तानमा हुन सक्छन् । प्रशासनले उनीहरुको खोजीका लागि कडा प्रयास गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *