को हुन् कन्दाहर विमानस्थलमा विस्फोट गराउने आई एस–के ?

डिसी नेपाल
११ भदौ २०७८ १५:०२

काबुल। बिहीबार साँझ हमिद करजाई विमानस्थलमा अतिवादी समूह इस्लामिक स्टेट– के (खोरासन) ले विस्फोट गराएपछि अफगान भूमि खाली गर्न दबाबमा परेका पश्चिमेली मुलुक थप तनावमा छन्। विदेशी सेना र उनीहरुसँगै फर्किन चाहने अफगानीलाई लक्षित गरि भएका ती ऋंखलाबद्ध विस्फोटमा १०३ जनाको मृत्यु भइसकेको छ।

को हुन आक्रमणकारी ?

विहीवारको विस्फोटको जिम्मा लिएको आइ एस–के (खोरासन) अफगानिस्तानमा सक्रीय हिंसात्मक लडाकू समूहमध्येको एक हो । इस्लामिक स्टेटले इराक र सिरियामा आफ्नो प्रभाव बढाइरहेका बेला सन् २०१५ को जनवरीमा सो समूहको स्थापना भएको थियो । अफगानिस्तान र पाकिस्तानका जिहादीलगायतका अतिवादीहरु यो समूहमा आबद्व छन् ।

हिंसात्मक आक्रमण

अफगानिस्तानमा भएका हिंसात्मक हमलामा आईएस–के समेत संलग्न हुने गरेको छ । यो समूहले बालिकाहरुले पढ्ने विद्यालय, अस्पताल र प्रसूति वार्डमा आक्रमण गरि दर्जनौ शिक्षक, गर्भवती महिला र नर्सको हत्या गरेको छ । तालिवानको स्वार्थ केबल अफगानिस्तानमा भए पनि यो समूहको अन्तर्राष्ट्रिय तहमा नै एउटा सञ्जाल छ । समूहले पश्चिमेली, अन्तर्राष्ट्रिय र मानवीय संगठनलाई निशाना बनाउँदै आएको छ ।

कहाँ छ उनीहरुको प्रभुत्व ?

आईएस–के समूहको अफगानिस्तानको नानगरहार प्रान्तको पूर्वी क्षेत्रमा ठूलो प्रभाव छ । यो प्रान्त अफगानिस्तानबाट पाकिस्तानतर्फ लागूऔषध र मानव तस्कर ओसारपसार गर्ने एउटा मार्गसमेत हो । कुनै बेला यो समूहको ३ हजार सदस्य लडाकू थिए । तर, अमेरिकी र अफगानी सेनाको कारबाहीमा ठूलो क्षति बेहोरोपछि अहिले सो संख्या घटेको अनुमान गरिएको छ ।

के यो समूह तालिवानसँग आबद्ध छ ?

यो समूह अप्रत्यक्ष रुपमा तालिवानसँग आबद्ध छ । हक्कानी नेटवर्कमार्फत यो समूह र तालिवानबिच साँठगाँठ रहेको बताइन्छ । विज्ञहरुका अनुसार यो समूह र हक्कानी नेटवर्कबिच बलियो सम्बन्ध छ । काबुलमा यो समूहका प्रमुख खलिल हक्कानी हुन् र उनको टाउको ल्याउने व्यक्तिलाई यसअघिको अफगान सरकारले ५० लाख घोषणा गरेको थियो ।

सन् २०१९ देखि २०२१ सम्म अफगानिस्तानमा भएका मुख्य हमलामा आईएस–के, तालिवानको हक्कानी सञ्जाल र पाकिस्तानमा रहेका अन्य अतिवादी समूह जिम्मेवार रहेको एशिया प्यासेफिक फाउण्डेसनका डा. सजन गोहले बताउँछन् । तालिवानले १५ अगस्टमा काबुल नियन्त्रणमा लिएपछि उसले विभिन्न जेलबाट ठूलो संख्यामा कैदी छुटाएको थियो । छुट्नेहरुमा तालिवान लडाकूका अतिरिक्त अलकायदा, आइएस र आइएस–के आबद्ध समूहका कार्यकर्ता पनि रहेको जनाइन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *