काबुल आक्रमणपछि अफगानिस्तानबाट बाहिरिने अमेरिकी योजनामा के–के परिवर्तन भए ?

डिसी नेपाल
१२ भदौ २०७८ ११:०१

काठमाडौं। अफगानिस्तान संकटका बीच अमेरिकाले काबुलबाट मानिसहरुलाई बाहिर निकाल्ने काम जारी राखेको छ । यही बीच बिहीबार भएको आत्मघाती बम विष्फोटपछि अमेरिकाको निकासी योजना सुरक्षित नभएको प्रस्ट भएको छ । आइएसआइएस–केले फेरि आतंकवादी आक्रमण गर्न सक्ने खतरा बढेको छ । तर, अमेरिका ३१ अगष्टसम्म अफगानिस्तानबाट बाहिरिने आफ्नो योजनामा कायम छ ।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले अफगानिस्तानमा खतरा सधैं कायम रहेको र आफ्ना जवानहरु यो सबको बीच अहिले पनि त्यहीँ भएको बताउँदै यो आफ्नो मिशनको सबैभन्दा खतरनाक चरण भएको बताइन् । उनले अब मिशन समाप्त हुन लागेको बताइन् । उनका अनुसार सैन्य कमाण्डर र जवान हतियारसमेत फर्केर आउँदैछन् र यो कुनै पनि मिशनको सबैभन्दा खतरनाक चरण हो ।

बिहीबार काबुलको हमिद कारजाइ विमानस्थलमा २ आत्मघाती विष्फोट हुँदा सयौंको संख्यामा मानिस मारिएका थिए । मारिनेमा १३ जना अमेरिकी सैनिक पनि थिए । आइएसआइएस खुरासानले यसको जिम्मेवारी लिएको थियो । प्रेस सेक्रेटरी जेन साकीका अनुसार राष्ट्रपति जो बाइडेनले सेना आफ्नो मिसनलाई जारी राख्न, आगामी दिनमा अफगानिस्तानबाट अरु मानिसहरुलाई निकाल्न र ३१ अगष्टसम्म आफ्नो मिशन पूरा गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

केही दिनमा अफगानिस्तानका अमेरिकी जवानहरुको संख्या अझै कम हुने र त्यो अवस्थामा मिशन पूरा गर्न र अमेरिकी सैनिकको सुरक्षा अझै अहम हुने साकीले बताइन् । उनका अनुसार राष्ट्रपति बाइडेनले विदेश मन्त्रीलाई अन्तर्राष्ट्रिय साझेदारसँग कुटनीतिक तरिकाले अफगानिस्तानमा मानिसहरुको सुरक्षा तय गर्न निर्देशन दिएका छन् । उनले अमेरिकी सेना अफगानिस्तानबाट बाहिरिएपछि पनि अफगानिस्तान र अन्य देशका नागरिकले भिसा पाउने र त्यहाँबाट निस्किन सक्ने व्यवस्था गर्न निर्देशन दिएका छन् ।

साकीका अनुसार अमेरिकाले यसको लागि तालिबानसँग वार्ता र समन्वय गर्नुपर्नेछ । अमेरिकालाई तालिबानमाथि विश्वास छैन तर अहिलेको अवस्थामा तालिबानको साथमा काम गर्नेबाहेक अरु विकल्प पनि देखिएको छैन । साकीका अनुसार तालिबानसँग वार्ता र समन्वय गरेरै अमेरिकाले अहिलेसम्म १ लाख ५ हजार मानिसलाई अफगानिस्तानबाट निकालेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *