अमेरिकाले राखेको डाटा लिक हुँदा लाखौं अफगानी खतरामा, तालिबानले खोजी गर्दै

डिसी नेपाल
१३ भदौ २०७८ १०:५६

काठमाडौं। २० वर्षपछि अमेरिकाले अफगानिस्तान छाड्दै गर्दा लाखौं अफगानी नागरिकहरु खतरामा परेका छन् । तालिबानले ती अफगानीहरुलाई अहिले खोजिरहेको छ । तालिबानले यो अवधिमा अमेरिकी नेतृत्वका नाटो सैनिकहरुलाई सहयोग गरेका लाखौं अफगानी नागरिकहरुको डाटा हात पारेको छ । यो डाटा पछिल्लो वर्षको अवधिमा अमेरिकाले जम्मा पारेको थियो । अहिले तालिबानले यही डाटाको आधारमा ती अफगानीहरुलाई खोजी गरिरहेको छ ।

तालिबानको विशेष युनिट अल इशाले सक्रियतापूर्वक यो काम गर्न सुरु गरेको छ । अमेरिकाले आफ्ना सहयोगीहरुको बायोमेट्रिक डाटाबेस ह्याण्ड हेल्ड स्क्यानरहरुमार्फत जम्मा गरेको थियो । यी स्क्यानरहरुमा अमेरिकालाई सहयोग गर्नेहरुको औलाको छाप र आँखाको रेटिनाको प्रतिलिपि संग्रहित छ । तालिबानले यस्ता ह्याण्ड हेल्ड स्क्यानरहरु ठूलो संख्यामा फेला पारेको छ । अहिले उसले यी स्क्यानरहरुबाट अमेरिकालाई सहयोग गर्नेहरुको ठूलो डाटाबेस तयार गरिरहेको छ ।

जेंगर न्यूजलाई दिएको एक अन्तरवार्तामा तालिबानको विशेष युनिट अल इशाका ब्रिगेड कमाण्डर नवाजुद्दीन हक्कानीले यसको पुष्टि गरेका छन् । अल इशाले ती डाटाहरु एक ठाउँमा जम्मा गरिरहेको छ जसको प्रयोग कुनै समय अमेरिकाले गर्थ्यो । हक्कानीका अनुसार यो डाटाबेसबाट को–को पहिले अमेरिकी सेना र नाटोसँग काम गरिसकेका छन् भन्ने थाहा हुन्छ ।

यो त्यही डर हो जुन डरका कारण ठूलो संख्यामा अफगानीहरु देश छाडेर भाग्नको लागि काबुल विमानस्थलतिर दौडिएका थिए । यी लाखौं मानिसहरुले पछिल्लो २० वर्षमा कुनै समय अमेरिकालाई सहयोग गरेका थिए र अब उनीहरु सबैलाई ज्यानको खतरा छ । हक्कानीले पनि अन्तरवार्तामा यसैतर्फ इशारा गरेका छन् । उनले अन्तरवार्तामा भनेका छन् ‘काबुलमा नियन्त्रण कायम भइसकेको छ । अब काउन्टर इन्टेलिजेन्समा केन्द्रित हुँदैछौं । अल इशाले यो काम सुरु गरिसकेको छ । अहिले डाटा स्क्यान भइरहेको छ ।’

अफगानिस्तानमा अमेरिकी सेनाले सक्रिय रुपले काम गरेको समयमा उसले हाइड नामको उपकरणको लगातार उपयोग गरेको थियो । हाइडको अर्थ ह्याण्डहेल्ड इन्टरएजेन्सी आइडेन्टिटी डिटेक्सन इक्विपमेन्ट हो । यसको माध्यमबाट अमेरिकाले १५ लाख अफगानीको डाटा जम्मा गरेको थियो । यी डाटामा औंलाको छाप, अनुहारको स्क्यानदेखि आँखाको रेटिनाको स्क्यानसमेतथियो । यो डाटाबाट अमेरिकाले आफूलाई सहयोग गर्ने अफगानीहरुलाई चिन्ने गर्थ्यो ।

न्यूयोर्क पोस्टका अनुसार हक्कानीको तर्फबाट ‘अमेरिकी कठपुतली’हरुलाई चेतावनी जारी गरिएको छ । हक्कानीको तर्फबाट ‘जसले पनि अमेरिकी सेनजालाई सहयोग गरेका थिए वा अफगान सरकारसँग हात मिलाएका थिए उनीहरुलाई नछोडिने’ भनिएको छ । यो डाटा पनि त्यही समय लिक भएको छ जतिबेला ठूलो संख्यामा अमेरिकी हतियार पनि तालिबानको हात परेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *