श्रीकृष्ण जन्माष्टमी : कृष्ण जन्मको कारण अधर्मको नाश गर्न र धर्मको रक्षा हाे

डिसी नेपाल
१४ भदौ २०७८ ७:५६

हाम्रो हिन्दु वैदिक परम्परा अनुसार विभिन्न धार्मिक चाडपर्वहरू मध्ये श्रीकृष्णजन्माष्टमी पर्व पनि एक धार्मिक पर्वको रूपमा मानिदै आएको छ। विशेष गरी भाद्रकृष्ण अष्टमी तिथिलाई कृष्ण जन्माष्टमी भनिन्छ।

भगवान श्रीकृष्णको प्राकट्य यसै दिनमा भएको मानिन्छ। गर्गसंहिता अनुसार भगवान कृष्णको प्राकट्य भाद्रकृष्ण अष्टमी मध्यरात्री बुधबार रोहिणी नक्षत्र हर्षण योगमा भएको मानिन्छ। कृष्ण प्रकट भएको रातलाई मोहरात्री पनि भनिन्छ।

मनलाई निरोध गरी सांसारिक विषयबाट हटाएर श्रीकृष्णका साथ एकरूप हुनु मुक्त हुनु नै कृष्ण जन्मको प्रयोजन हो। कृष्णको सम्पूर्ण लीलामा योगमायाको हात रहेको हुन्छ। किनभने मायाको आश्रय नलिई भगवानले अवतार लिन सक्नुहुन्न। योगमाया विना कृष्णबाट मात्रै लीला हुँदैन।

कृष्ण जन्मको कारण अधर्मको नाश गर्न र धर्मको रक्षा गर्न मानिन्छ। आसुरी स्वभावका दुष्टहरूको विनाश गर्नु र साधु सन्तको रक्षा गर्न नै भगवान कृष्णको प्राकट्य भएको कुरा शास्त्रमा उल्लेख भएको पाइन्छ। जुन दिन अष्टमी तिथिले मध्यरात छोएको छ त्यसै दिन कृष्णजन्माष्टमी व्रत गर्नु उत्तम हुन्छ भन्ने कुरा पनि धर्मशास्त्रमा उल्लेख छ।

भगवानको अवतारहरूमा अंशावतार, आवेशावतार, कलावतार, पूर्ण अवतार र परिपूर्णतम अवतार हुने कुरा गर्गसंहितामा उल्लेख छ। मत्स्य, कच्छप आदि अवतारलाई कलावतार, परशुराम आदिलाई आवेश अवतार मानिएको छ। परशुराम जन्मदा भगवानका अवतार थिएनन उनी ऋषिकुमार नै थिए।

उनी पछि कैलाशधाममा शस्त्रास्त्र विद्या सिक्न शिवजीकहाँ गए। त्यतिबेला शिवले पार्वतीलाई रामगीता सुनाउन लागेका रहेछन् र उनले सान्निध्यमा बसेर रामगीता सुनिसकेपछि उनी नारायण अवतार भएर शिवजीबाट धनुर्विद्या ग्रहण गरी आश्रममा फर्किए पछि एक्काइस पटक पृथ्वी युद्ध गरी आसुरी स्वभावका क्षत्रीय राजाहरूलाई नाश गरी धर्म स्थापना गरे।

पछि राम अवतारको पालमा सीतासँगको विवाहमा धनुर्भङ्गमा परशुरामको नारायण अवतार राममा सरेपछि परशुराम ऋषिकै रूपमा रहे। परशुराम चिरञ्जीवी भएकाले आजतक पनि जीवित नै मानिन्छन्। भगवान रामलाई पूर्ण अवतार र कृष्णलाई चाहिँ परिपूर्णतम अवतार मानिन्छ।

अल्पसमयका निमित्त अल्प जीवहरूका उद्धारका लागि जो अवतार हुन्छ त्यो अंशावतार हो र अनन्त कालका लागि तथा अनन्त जीवका कल्याणका लागि जो अवतार हुन्छ त्यो पूर्ण अवतार हो। कृष्ण अवतारको बाललीलादेखि स्वधामगमनसम्म अनेकौँ अलौकिक र अद्भुत लीला नै कृष्ण अवतारको विशेषता हो।

कृष्ण अवतारको मुख्य देन नै श्रीमद्भगवद्गीता हो। श्रकृष्णले नै महाभारतको लडाईँको आरम्भमा अर्जुन मोहमा परेको बेलामा अर्जुनको त्यो मोह छुटाउनको लागि यो पृथ्वीतलमा चार वेद अठार पुराणको सार गीता हो जसमा कर्मयोग, भक्तियोग र ज्ञानयोगको महिमा उपदेश गर्नुभएको छ। त्यही गीता ग्रन्थ नै हाम्रो हिन्दु समाजको धरोहर हो। भगवान कृष्णले आफ्नो जन्म कर्मका विषयमा यसरी बताउनु भएको छ।

अजोऽपि सन्नव्ययात्मा भूतानामीश्वरोऽपि सन्।

प्रकृतिं स्वामधिष्ठाय संभवाम्यात्ममायया।। गीता ४। ६।

हे अर्जुन! म नजन्मने सत् अव्यय , आत्मा प्राणीहरूको ईश्वर हुँ तापनि प्रकृतिलाई स्वीकार गरेर मायाद्वारा मेरो जन्म संभव भएको हो। यदि माया थिइन भने मेरो जन्मनै हुदैनथ्यो।

जन्म कर्म च मे दिव्यमेवं यो वेत्ति तत्त्वतः ।
त्यक्त्वा देहं पुनर्जन्म नैति मामेति सोऽर्जुन ।। गीता ४। ९।

हे अर्जुन ! मेरो जन्म र कर्म दिव्य छ। तत्त्वपूर्वक जसले मेरो जन्म र कर्मलाई जान्दछ त्यो व्यक्तिको पुनर्जन्म हुँदैन त्यो मेरै धाममा रहन्छ भन्नुभएको छ।

यसकारण कृष्णजन्माष्टमी पर्व अत्यन्तै पुण्यदायक पर्वको रूपमा मानिदै आएको छ। यो दिनमा दिनभर व्रत लिएर मध्यरात्रीमा श्रीकृष्णको जन्मोत्सव मनाएर विधिपूर्वक भगवान श्रीकृष्णको षोडषोपचार विधिले पूजा अराधना गरी प्रसाद ग्रहण गर्नु उत्तम मानिन्छ। कृष्ण जन्माष्टमीको भोलिबेर श्रीकृष्णको मूर्तिलाई रथमा राखी रथ यात्रा गर्ने चलन चलिआएको छ।

कृष्णजन्माष्टमी कै दिनमा हाम्रो देश भित्र रहेका कृष्णका मठ मन्दिरमा धूमधामसँग कृष्णको पूजाआराधना गरिन्छ । यसैदिनमा राजा मानदेवको पालामा बनेको भक्तपुरको चाँगुनारायण मन्दिरमा ठूलो मेला लाग्दछ। यसै गरी सिद्धिनरसिंह मल्लले निर्माण गरेका ललितपुर जिल्लाको पाटन शहरमा रहेको विश्वप्रसिद्ध कृष्ण मन्दिरमा भगवान कृष्णको पूजाआराधना गर्न व्रतालु भक्तजनको ठूलो भीड लाग्दछ।

यसै दिनमा चैतन्य महाप्रभुको अनुयायी कृष्ण भक्तले पनि त्यो दिनमा श्रीकृष्णको लीला उत्सव नेपाल, भारत लगायत विश्वका जुन ठाउँमा रहेका कृष्णका मन्दिरमा भव्य मेला उत्सव गरी मनाउँदछन्।

त्यस्तै गरी कृष्णप्रणामी कृष्ण भक्तले पनि भगवान कृष्णको भव्य रूपले उत्सव गरी पूजा आराधना गरी मनाउने चलन रहेको पाइन्छ। यो कृष्ण जन्माष्टमी पर्व सार्वभौम पर्व हो। त्यसकारण सबै मानवका लागि कल्याण गर्ने पर्व हो। भगवान कृष्ण जात र सम्प्रदायको घेरा भन्दा माथि हुनुहुन्छ। यही नै कृष्ण धर्म र भगवद्गीताको सार हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *