बेलायती सेनाको ४० जवानको टुकडीले अफगानिस्तानमै बस्न अनुमति माग्यो
काठमाडौं। अफगानिस्तानको काबुल विमानस्थलमा आत्मघाती बम विष्फोटमा १७० भन्दा धेरै मानिसहरु मारिएका थिए । यी विष्फोटपछि अमेरिकाले आएसआइएस–के आतंकवादीहरुमाथि ड्रोन आक्रमण गर्यो । अब बेलायती सेनाको सास फाइटर्सको एक टुकडीले अफगानिस्तानमै बस्न अनुमति मागेको छ ।
बेलायती अखबार डेली मिररको एक रिपोर्टअनुसार काबुल विमानस्थलमा आत्मघाती आक्रमणमा मारिएका १३ अमेरिकी सैनिकको मृत्युको बदला लिनको लागि बेलायती सेनाको स्पेसल एयर सर्भिस (सास) को एक घातक टिम अझै केही दिन अफगानिस्तानमै बस्न सक्छ । सूत्रका अनुसार ‘हु डेयर विन्स रेजिमेन्ट’का ४० फाइटरहरुले युद्धग्रस्त अफगानिस्तानमै बस्न अनुमति मागेका छन् ताकि उनीहरुले आइएसआइएस केका आतंकवादीहरुसँगको लडाइँ निष्कर्षमा पुर्याउन सकुन् ।
सास फाइटरहरुले यो निर्णय त्यतिबेला गरेका हुन् जतिबेला बेलायतको अन्तिम विमान आफ्ना नागरिकलाई लिएर उडिसकेको थियो । तर, १५० जना बेलायती पासपोर्ट वाहक अझै काबुलमै फसेका छन् । अब सास फाइटरहरुले पूर्वी अफगानिस्तानकमा रहेको खतरनाक आतंकवादी संगठन आइएसआइएस केको आधार क्षेत्रमा गुप्त आक्रमण गर्नको लागि अफगान–पाकिस्तान सीमा क्षेत्रमा बेस स्थापना गर्ने सम्भावना छ । यो बेसको प्रयोग बेलायती सेनाको रोयल नेवीको एसबीएस विशेष बल, अमेरिकी सेनाको डेल्टा फोर्स र अमेरिकी नेवी सीलले पनि गर्नेछन् ।
अफगानिस्तानमा सास फाइटरहरुलाई ड्रोन तथा अमेरिकी र बेलायती स्ट्राइक विमानबाट सहयोग गरिनेछ । यद्यपि यी सैनिकलाई अफगानिस्तानमा काम गर्नको लागि तालिबानको अनुमति आवश्यक हुनेछ । यस्तोमा रक्षा सूत्रले अनुमति दिइने सम्भावना भएको बताएको छ ।
बेलायती र अमेरिकी विशेष बललाई यसअघि इराकमा टास्क फोर्स ब्ल्याकलाई जस्तै गरी संगठित गरिनेछ । यो विशेष बलले अफगानिस्तानमा आफ्नो काम गरिरहनेछ तर उनीहरुको संख्या निकै कम हुनेछ ।
अमेरिका, बेलायत र तालिबानले आफ्नो साझा दुश्मन इस्लामिक स्टेट खुरासानलाई समाप्त पार्नको लागि हात मिलाउन सक्ने बताइएको छ । काबुल विमानस्थलमा पनि यही आतंकवादी संगठनले आत्मघाती आक्रमण गरेको थियो ।
Facebook Comment