अफगानिस्तानबाट रित्तो हात लिएर फर्कियो अमेरिका, तालिवानले बन्दुक पड्काएर मनाए खुसियाली

डिसी नेपाल
१५ भदौ २०७८ १२:२०

एजेन्सी। अफगानिस्तानमा अमेरिकी सेनाको २० वर्ष लामो उपस्थिति समाप्त भएकोे छ । अमेरिकाले मंगलबार काबुलबाट आफ्ना सम्पूर्ण सेना फिर्ता गरेसँगै अमेरिकी उपस्थिति अन्त्य भएको हो । मंगलबार अन्तिमपटक अमेरिकी दूत सवार सी १७ विमान काबुलबाट वासिंगटनका लागि प्रस्थान गरेको थियो ।

अन्तिम अमेरिकी विमान काबुलको आकाशमा उडेपछि तालिवानले बन्दुक पड्काएर खुसियाली मनाएका थिए । अमेरिकी सेनाले काबुल छोडेपछि तालिवान लडाकूले काबुल विमानस्थलमामा निगरानी बढाएको थियो । केही लडाकूले अमेरिकी सेनाले छोडेका सैन्य पोसाक लगाएका देखिन्थे ।

सन् २०२० को जनवरीमा भएको एउटा सम्झौतामा अमेरिकाले ३१ अगस्टभित्र आफ्ना सम्पूर्ण सेना फिर्ता गरिसक्नुपर्ने उल्लेख थियो । तोकिएको समयभित्र सबै सेना फिर्ता गर्न अमेरिकामाथि तालिवानले दबाब दिएको थियो ।

आफूहरुसँगै अमेरिका जान नसकेका अफगानीलाई कूटनीतिक नियोगले निरन्तर सहयोग गर्ने अमेरिकाले जनाएको छ । अमेरिकाले आफ्ना नागरिक र अफगान सर्वसाधारण गरी एक लाख २३ हजारलाई स्वदेश फिर्ता गरेको जनाएको छ ।

दुई दशक लामो अफगान युद्धमा अमेरिकाले ठूलो मूल्य चुकाएको छ । युद्धमा २४ सय अमेरिकी सेनाको ज्यान गएको छ ।

अफगानिस्तानमा सैन्य मिसन समाप्त

अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिनकेनले छोटो समयमै आफ्ना सबै नागरिक स्वदेश फिर्ता गरिएको बताएका छन् । उनले भने, ‘अब नयाँ अध्याय सुरु भएको छ । अफगानिस्तानको सैन्य मिसन समाप्त भएको छ । नयाँ कूटनीतिक मिसन सुरु भएको छ ।’

आफ्नो मिसन पूरा गरेसँगै अमेरिकाले काबुलमा कूटनीतिक उपस्थिति अन्त्य गरेको छ । अब कतारको राजधानी दोहामा रहेको अमेरिकी मिसनले नै अफगानिस्तान हेर्नेछ ।

एक प्रसंगमा उनले तालिवानले अन्तर्राष्ट्रिय समुदायको समर्थन पाउन आवश्यक भएको बताए । त्यस्तै, तालिवानले आफ्ना प्रतिबद्धता पूरा गर्नुपर्ने उनले बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *