बैंक लुटेपछि केही बन्धकलाई गाडीमाथि बाँधेर साथमै लिएर डाँकाहरू फरार

डिसी नेपाल
१५ भदौ २०७८ १३:२७

साओ पाउलो (बीबीसी)। ब्रजिलको एउटा सहरमा ब्याङ्कमा लुटपाट गरेपछि सशस्त्र डाँकाहरूले केही मानिसलाई आफ्नै गाडीमाथि बाँधेर लिएर भागेका छन्।

देशको दक्षिणी भेगमा अवस्थित आराशाटुवामा भएको डकैतीका क्रममा कम्तीमा तीन जनाको मृत्यु भएको प्रहरीले बताएको छ। तीमध्ये एक जना सन्दिग्ध डाँका पनि छन्।

उक्त डकैतीमा २० जनाभन्दा बढी मानिसहरू सहभागी थिए। डाँकाहरूले गाडीमा आगो लगाएर बाटो अवरुद्ध पारेका थिए तथा सहरका ठाउँठाउँमा विस्फोटक पदार्थ राखिदिएका थिए।

केही वर्षयता मानिसलाई बन्धक बनाएर मानवढालका रूपमा प्रयोग गरी ब्याङ्कमा गरिने डकैतीका ठूला घटनाहरूको सङ्ख्या बढ्न थालेको छ।

प्रारम्भिक विवरणहरूमा डाँकाहरूको समूहमा ५० जनाभन्दा बढी मानिस भएको बताइएको थियो। तर पछि उक्त सङ्ख्या २० को सेरोफेरोमा भएको विवरण आयो।

हताहत हुने मानिस को हुन्?

एक सुरक्षा अधिकारीले ग्लोबोन्यूजलाई बताएअनुसार भिडिओ खिच्दै गरेको थाहा पाएपछि डाँकाहरूले एक व्यक्तिलाई मारिदिएका थिए।

डाँकाहरू भागिरहेको बेला प्रहरीले गरेको कारबाहीमा सहरबाहिर एक महिला र डाँकाहरूको समूहको भन्ठानिएका एक जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

डाँकाहरूले बाटोमा बिछ्याएको बम विस्फोट हुँदा साइकल चलाइरहेका एक २५ वर्षे व्यक्ति गम्भीर घाइते भएका छन्।

उनलाई अस्पताल लगिएको र उनका दुवै खुट्टा शल्यक्रिया गरेर फाल्नुपरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

गोली लागेका अरू तीन जना पनि अस्पतालमा छन्।

स्थानीय सुरक्षा अधिकारीका अनुसार सहरका विभिन्न स्थानमा १४ वटा बम अझै बाँकी छन्। तिनमा ताप वा गतिले उत्तेजित भएर विस्फोट गराउने सेन्सर जडान भएको हुनसक्ने सङ्केत पाइएको उनले बताए।

सोमवार स्थानीय विद्यालयहरू बन्द रहे भने नगरवासीहरूलाई विस्फोटक पदार्थ र बम निष्क्रिय नपारिएसम्म घरभित्रै बस्न भनिएको छ।

प्रहरीका अनुसार तीनजना सन्दिग्ध डाँकालाई पक्राउ गरिएको छ।

कसरी भयो डकैती?

सशस्त्र डाँकाहरूको समूहले आराशाटुवाको मध्यभागमा अवस्थित तीनवटा ब्याङ्कमा स्थानीय समयानुसार बिहान सबेरै धावा बोल्यो।

लुटपाट गरिसकेपछि डाँकाहरूले केही मानिसलाई बन्धक बनाए तथा स्थानीय सैन्य प्रहरीको चौकी घेरे। उनीहरूले सहरभित्र छिर्ने मुख्य सडकहरूमा गाडीमा आगो लगाइदिएर अवरोध सिर्जना गरेको स्थानीय सञ्चारमाध्यममले जनाएका छन्।

रेकर्ड टीभीका पत्रकार युरी माक्रीले एउटा पोस्ट गरेका छन्। उनका अनुसार त्यसमा भाग्न प्रयोग गरिएका दुईवटा कार देखिन्छन्।

पहिलो कारको छतमा एक जना र अगाडिपट्टिको भागमा एक जनालाई बाँधिएको देखिन्छ। दोस्रो कारको अगाडिपट्टिको भागमा एक व्यक्ति टुक्रुक्क बसेको देखिन्छ।

ट्विटरमा प्रेषित एउटा सीसीटीभी फुटेजमा धेरैवटा गाडी कुदिरहेको र तीमध्ये केहीको छानामा मानिसहरूलाई बाँधिएको देखिन्छ। एउटा भ्यानमा उभिएका एक व्यक्तिले भने छतमाथि देखिनेगरी हात समातेको देखिन्छ।

धेरै सहरवासीले गोली चलेको र विस्फोटन भएको आवाज सुनेको बताएका छन्।

आराशाटुवाका नगरप्रमुखका अनुसार डाँकाहरूले आक्रमण गर्दा प्रहरीले तिनलाई रोक्न सङ्घर्ष गर्नुपरेको थियो।

“प्रहरीहरू आक्रमणमा जान सक्दैनन्, तिनले प्रतिरोध गर्न सक्दैनन् किनभने त्यहाँ धेरै मानिसको ज्यान जोखिममा हुन्छ,” उनले ब्यान्ड टीभीसँग भने।

के छ अहिलेको स्थिति?

डाँकाहरूले बन्धकहरूलाई मुक्त गरे कि गरेनन् भन्ने आफूलाई थाहा नभएको उनले बताए। तर उनका अनुसार सुरक्षाकर्मीहरूले सहरको मध्यभागमा नियन्त्रण कायम गरिसकेका छन्।

डाँकाहरूले कति पैसा लुटे भन्ने स्पष्ट भइसकेको छैन। तर केही भिडिओमा सडकमा छरिएका नोटहरू मानिसहरूले टिपिरहेको देखिन्छ।

समाचार साइट जी१ का अनुसार डाँकाहरूले प्रहरीमाथि निगरानी राख्न ड्रोन प्रयोग गरेका थिए।

डाँकाहरूले आराशाटुबाका ब्याङ्कमा आक्रमण गरेको यो पहिलो पटक हैन।

सन् २०१७ मा डाँकाहरूले एउटा निजी सुरक्षा फर्ममा धावा बोल्न जाँदा सहरका विभिन्न महत्त्वपूर्ण स्थानलाई आफ्नो नियन्त्रणमा लिएका थिए तथा प्रहरी चौकीहरूमाथि आक्रमण गरेका थिए अनि सडक अवरुद्ध पारेका थिए।

कस्ता ठाउँमा र कसरी हुन्छ डकैती?

ब्रजिलमा यस्ता सुनियोजित डकैतीहरूलाई “कङ्गाशो” भनिने केही पुरानो चलनसँग जोडेर हेरिन्छ।

सन् १९२० र १९३० को दशकमा ब्रजिललाई आक्रान्त पारेको डकैतीको चलनका लागि उक्त शब्द प्रयोग गरिन्थ्यो।

हिजोआज साना र मध्यम सहरलाई डाँकाहरूले आफ्नो तारो बनाएको पाइन्छ।

सन् २०१५ देखि ठूला डकैतीका घटनाहरू बढ्न थालेको विज्ञहरूको भनाइ छ। डाँकाहरूले ब्याङ्क तथा बहुमूल्य सामग्री भण्डार वा ढुवानी गर्ने कम्पनीलाई लक्षित गर्छन्।

एउटै डकैतीमा दर्जनौँ मानिसहरू सहभागी हुन्छन्। तीमध्ये धेरै जनासँग मशीन गन र कहिलेकाहीँ अरू विस्फोटक पदार्थ हुन्छ।

अधिकांश अपराध ब्रजिलमै गरे पनि ब्रजिलका डाँकाहरूले कम्तीमा एकचोटि छिमेकी देश पाराग्वेमा डकैती गरेको बताइन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *