‘कुनै पनि साहित्य हृदयबाट लेखिनु पर्छ’ – Dcnepal

‘कुनै पनि साहित्य हृदयबाट लेखिनु पर्छ’

हामी हाम्रो समाजमा अनेकन चुनौतीका साथ जुधिरहेका हुन्छौं। चुनौतीको चाङमुनी भएको जीवनलाई कतिले उठाउँछन् र आफ्नो पहिचान बनाउँछन्। कतिपय त्यही चुनौतीहरुसँग हराउँछन्। आफूसँग भएको प्रतिभा पनि सँगसँगै चितामा पुर्‍याउँछन्।

समाजका अनेकाैं चुनौतीका माझ आफूलाई स्थापित गर्नु चट्टान फुटाएर उम्रिने विरुवा जस्तै हुन्छ। नेपाली साहित्यमा आफ्नो व्यक्तिगत समस्या, सामाजिक चुनौतीलगायतका थुप्रै समस्याहरुको पहाडभित्रबाट निस्किएको एउटा नाम हो बिनु थिङ तामाङ।

हेटौंडाको औद्योगिक क्षेत्र सेरोफेरोमा बाल्यकाल बिताएकी उनको १५ वर्षको उमेरमा विवाह भयो, काठमाडौं राजाबस्ने ठाउँ। छोरीको सुखको अपेक्षा राखेर विनुका बुबाले छोरीलाई ‘याम्बेनेर’ दिन्छन्।

कलिलै उमेरमा विवाह भएपछिका झण्डै १० वर्षहरु कालारातको रुपमा बिताएको बताउने विनाले ६० को दशकपछि नेपाली साहित्यमा औपचारिक प्रवेश गरिन्। सामाजिक यथार्थमा रहेको ‘छुकी’ कता संग्रहबाट औपचारिक साहित्यमा आएकी बिनाले ‘रातो घर’ कविता संग्रह र २०७७ सालमा ‘याम्बेनेर’ कथा संग्रह बजारमा ल्याएकी छिन्।

अरुको नामको पछाडि आउने परिचय भन्दा आफ्नो अलगै परिचय बनाउने चाहाले साहित्यकार बनाएको बताउने उनै थिङसँग डिसी नेपालका लागि तर्कबहादुर थापाले गरेको कुराकानीको सम्पादित अंशः

कोरोना कहर बाँकी नै छ। यसले यहाँलाई पारेको प्रभावबाट आजको बसाई सुरुवात गर्न चाहेँ!

आफन्तहरु घरबाहिर भएका कारण पहिलो पटक भएको लकडाउनमा डिप्रेसन जस्तै भएको थिएँ। मलाई कसैसँग पनि अब भेट हुँदैन कि जस्तो लाग्थ्यो । दोस्रो पटक कोरोनाले आफ्नो टाउको उठाएपछि, दोस्रो लहर आएर यहाँसम्म पुग्दा मैले पहिलो लहरको जस्तो अनुभूति गरिन। अहिले सामान्य जस्तै लाग्न थालेको छ।

हुन त केही महिना पहिला कोरोना संक्रमित पनि हुन पुगेकी थिएँ। अब त हामीले कोरोनालाई पनि अरु रोगहरु जस्तैसँगै लिएर बाँच्नु पर्छ जस्तो लाग्न थालेको छ। म पनि अहिले स्वास्थ्यका मापदण्डहरुको पालना गरेरै भए पनि सामान्य जीवनशैलीकै पक्षमा छु।

लेखनीको तर्फबाट हेर्दा कोरोनाले सहयोग वा असहयोग के गर्‍यो ?

लेखनीमा यसले असहयोग नै गरेको अनुभव छ। म आफू पनि एकान्तबास बस्दा पढ्ने बाहेकको काम गर्न सकिन। लेख्नका लागि त सौहार्दपूर्ण वातावरण चाहिने रहेछ।

मैले अघि पनि भने धेरै ठाउँमा छरिएर रहेका आफन्तका कारण, उहाँहरुमा कोरोनाले के कस्तो प्रभाव पार्ला भन्ने सोच्दा सोच्दै समय व्यतित हुने रहेछ। लेख्नको लागि आवश्यक्त पर्ने वातावरण कोरोनाकालमा मिलेको जस्तो लागने। यसरी हेर्दा समस्यामा लेख्न सकिने रहेनछ।

याम्बुनेर बजारमा आएको पनि वर्षदिन भएछ। अहिलेसम्म कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?

केही दिन अघिमात्र दक्षिण कोरियामा बस्ने एकजना बहिनीले सामाजिक सञ्जालमा टिप्पणी गर्नु भएको थियो। उहाँले एक वर्ष भन्दा बढी एउटै पुस्तकको बारेमा लगातार पाठक प्रतिक्रिया आइरहनु, समिक्षा, समालोचना, टिकाटिप्पणी भइरहनु अलि फरक छ।

मैले  विशेषगरी यथार्थ कुरा लेखेकी थिएँ। अहिलेको कृतिमा यथार्थताको धरातलमा टेकेर कल्पनाशीलतामा पनि कृतिलाई कुदाएकी छु। सायद त्यही भएर होला छुकीको धेरै चर्चा भएन। अथवा हामीले लेख्दा यथार्थताको धरातलमा रहेर कल्पनाशीलता चाहिन्छ।

मलाई पनि त्यो भनाइले आफैलाई खुसि लागिरहेको छ। हुन पनि मेरो पुस्तकले एक वर्षसम्म निरन्तर छलफलमा भाग लिन पाइरहेको छ। त्यसको बारेमा कुराभइरहेको सुनिन्छ। आफ्नो सृजनाको बारेमा निरन्तर कुरा भइरहेको सुन्दा खुसी नै लाग्छ।

याम्बुनेरमा सोममायालाई किन रिसाउन पठाउनु भयो त ?

मैले रिसाउन पठाएको हैन नि, त्यो पात्र चरित्र नै त्यस्तै हो। हाम्रो समाजमा धेरै सोममाया छन्। ती धेरै सोममायाहरु समाजको बनोटका कारण, पहुँचका कारण, स्रोत र साधनका कारण, राज्यले गरेको व्यवहारका कारण समाजमा जन्मिएका हुन्। उनीहरु रिसाउँछु भनेर मात्र रिसाउने होइन नि, उनीहरु बाध्यात्मक परिस्थितिमा छन्।

पात्रहरु परिकल्पना गरेर निर्माण गरिएका हुँदैनन् र?

साहित्यले जे अहिले भइरहेको छैन त्यो हुनुपर्छ भनेर परिकल्पना गर्ने हो। कुनै पनि पात्रहरुलाई बलियो बनाउनु पर्छ भन्ने लाग्छ। त्यो लाग्छ नै। तर, त्यो वास्तविकतामा हुनुपर्छ।

मैले सोममायाको परिकल्पना गर्दा उनको स्वभाव समाजकै एउटा सोममायाको हो, पारिवारिक अवस्था समाजको अर्को सोममायाको हो, श्रीमान र छोराछोरी अरु कुनै सोममायाको हो।

त्यो समाजका धेरै सोममायाको मिश्रणरुप कथाको सोममाया हुन्। परिकल्पना सँगै सत्यता पनि हुनु पर्छ। तपाईले लेखेको साहित्यले समाजलाई देखाउनु पर्छ। समाज देखाउन समाजकै पात्र आवश्यक हुन्छन्।

सामाजिक यथार्थमा कलम चलाउनु हुन्छ, विषयवस्तु कसरी जुर्छन ?

सोममायाकै कुरा गरौं। मैले भदौमा कथा संग्रह बजारमा ल्याएकी हुँ। त्यसको चार÷पाँच महिना पहिला प्रहरीले गाउँमा छापा मारे छ। काम लाग्ने तामाका भाडाहरु चौकिमा ल्याए छ। अरु फुटाएछ। त्याहाँका जनताहरु आक्रोशित भए।

चौकी घेर्न आउँदा उनीहरुले मदिरा बन्द गर्ने हो भने पुरै बन्द गर, होइन भने हामीलाई पनि गरिखान देउ। सरकारले बनाएका मापदण्ड पूरा गर्छौं। हामीलाई मापदण्डसहित मदिरा उत्पादनको अनुमति देउ। यस्ता कुरा सुन्दा मलाई त्यो कथाले क्लिक गरेको हो।

हाम्रो तामाङ समुदायको परम्परा नै हो। हामीले वर्षौदेखि त्यही पेसालाई गर्दै आइरहेका छौं भने अहिले एकै रातमा चमत्कार कसरी होला। मैले आफैले पनि लामो समय भोगेको व्यथा हो। भन्नुको मतलव समाजमा हुने हरेक घटनाहरुले हामीलाई साहित्यका लागि विषयवस्तु जुराएको हुन्छ। मेरा हकमा पनि त्यही कुरा लागू भयो।

तपाईँले लामो सयमसम्म आफूले पनि सोममायाको केही भूमिकामा रहेर काम गर्नु भयो। साहित्यमा कसरी आउनु भयो ?

बालापन मै ममा साहित्यको बिज रोपिएको थियो जस्तो अहिले लाग्छ। सानोमा मैले आफूसँग उपलब्ध भएका धेरै हिन्दी साहित्य पढ्थेँ। २०५२ साल पछिका करिव १० वर्ष एकदमै कालो रात बिताउन बाध्य भएँ।

मैले ती बीचका वर्षहरुमा चुलोचौको, घासदाउरा र मैले अघि भनेजस्तै मदिरा बनाउनमा नै जीवन बित्यो। त्यसपछि बोर्डिङ स्कुलमा पढाउने काम गरेँ। त्यहाँबाट अलिकति किताब प्रतिको प्रेमले पुनः पलाउने अवसर पायो। अझै सरकारी विद्यालयमा पढाउन थालेपछि त पुस्तकहरुसँगको सामिप्यता नै बढेर गयो।

गाउँपालिकाबाट नै बजेट छुट्याउन लगाएर विद्यालयमै पुस्तकालयको सुरुवाति गर्‍यौं। फुर्सदको सयममा अरु साथीहरु कुरा गरेर बस्नु हुन्थ्यो। म पढेर बस्थेँ। त्यसले पनि लेख्ने उर्जा थपि रह्यो। पछि समाजमा भएका घटनाहरुलाई लेखेर छपाउने काम थालेँ। त्यसको संगालो २०६९ तिर छुकी निकालेँ। छुकी निकालेपछि औपचारिक साहित्यमा प्रवेश गरियो भनौं।

साहित्यमा लाग्नुको कारण के हो ?

मान्छे मात्र एउटा प्राणी हो, जसले आफ्नो स्वअस्थित्वको लडाई लडी रहन्छ। आफ्ना आफन्तसँगको बिछोड्ले गाह्रो पर्छ। सधैं अर्काको लागि बाँच्यो भने आफ्नो परिचय बनाउन सकिँदैन। मलाई मेरो पहिचान चाहिएको थियो। यो छोटो उत्तर हो। मैले अनेकन दुःख भोगेँ।

अघि पनि कुरा गरेँ नि। बोर्डिङमा पढाउन थालेको बेला पनि मैले घरको सबैकाम सकेर आउँथे। पुन घर गएर बाँकी रहेको काम गर्थें। मैले मेरो जीवन यस्तै रहेछ भनेर बसेको भए, आफू पनि आर्थिकरुपमा आत्म निर्भर हुनु पर्न भन्ने मनमा नगएको भए सायद आज यो स्थितिमा हुने थिइन्। साहित्य त रगरगमै भएका कारण मैले छोड्न सकिन। अन्य कुनै कारण छ जस्तो लाग्दैन।

साहित्य लेखनीमा यथार्थता र कल्पनाशीलताले कत्तिको प्रभाव पार्छ?

म साहित्य सिक्दै छु। तपाईँले सोधेको प्रश्नको जवाफ भन्दा पनि मैले मेरो अनुभव मात्र सुनाउन चाहेँ। मैले छुकी विशेषगरी यथार्थ कुरा लेखेकी थिएँ। अहिलेको कृतिमा यथार्थताको धरातलमा टेकेर कल्पनाशीलतामा पनि कृतिलाई कुदाएकी छु। सायद त्यही भएर होला छुकीको धेरै चर्चा भएन। अथवा हामीले लेख्दा यथार्थताको धरातलमा रहेर कल्पनाशीलता चाहिन्छ।

अझै भनौं मुद्दाको हिसाबमा ठिक भए पनि कला आएन भने त्यसको मिठास हराउँछ। कला र मुद्दाभन्दा अझै जबरजस्त तरिकाले साहित्यमा मौलिकता आउनु पर्छ। मैले तामाङ समूदायको कथा लेखिरहँदा सम्पन्न परिवारमा बोलिने भाषा, वा अर्को कुनै समूदायमा बोलिने भाषालाई लेखें भने त्यसले त्यति मिठास दिदैँन।

आवश्यक्ता अनुसार भाषा आउला त्यो अलग कुरा हो। हामी जनजाति महिला आर्य महिला भन्दा अलि फरह हुन्छौं। हाम्रो घरमा श्रीमानलाई आर्य महिलाहरु जति सम्मानको आवश्यक्ता पर्दैन त्यो कुरा लेख्दा लखनीहो भनेर सम्मान गरेको देखाइदिएँ भने अनि असोभनीय हुन्छ जस्तो लाग्छ।

हामीले कथा लेखेपछि एउटा हरफ पढ्दै गर्दा अर्को हरफ पढ्ने हुटहुटी पाठकमा सिर्जना गर्न सक्नुपर्छ। यदि त्यसो गर्न नसकेको खण्डमा पाठकको समय खेर फालिएको हुन्छ। लेखनले एउटा प्याराग्राफ पढ्दै गर्दा अर्को पढ्नलाई तान्नु पर्छ। कथा विशेष गरी यस भन्दापछि के होला भन्ने कौतुहलतामै सकिएको हुनुपर्छ।

यहाँको कविता संग्रह पनि छ। कविता कसरी लेखिन्छ ?

कविता मेरो लागि चुनौती हो। म साहित्यमा कखरा सिक्दै गरेको कुरा अघि पनि उल्लेख गरेँ। तर, मेरो अनुभवमा साहित्य जे लेखे पनि त्यो हृदयले लेखिनु पर्छ। कविताको पनि पहिलो शर्त यही हो।

साहित्यिक शब्दहरुको भण्डारणमात्र कविता होइन। दोस्रो कवितामा प्रयोग हुने बिम्बहरु छुट्नै हुँदैनन्। अभिव्यक्तिको उच्चतम रुप कविता हो। कविताको बारेमा धेरै नबोलौं।

कविता विधाबाट कथामा किन आउनु भयो नि?

साहित्यमा विषयवस्तु अनुसारले विधा रोज्छ जस्तो लाग्छ। मैले अहिले सुनाएको बुबा कविता मैले कथामा लेख्न सक्दिन। त्यसमा आवश्यक पर्ने गुणहरु कथामा आउँदैनन्। हामीले कुनै पनि विषयवस्तु अनुसार विधा छनोट गर्छौ जस्तो लाग्छ। कवितामा नअटाउको कुरा कथामा, त्यसमा पनि नअटाएको कुरा उपन्यासमा लेखिन्छ जस्तो लाग्छ। मैले विधा परिवर्तन गरेको भन्दा पनि कथावस्तुलाई न्याय दिनका लागि विधा रोजेकी हुँ।

अन्त्यमा, नेपालको सन्दर्भमा लेखेरै बाँच्छु भन्ने कत्तिको सम्भावना देख्नु हुन्छ ?

एकदमै गाह्रो छ। हाम्रो देशमो पढन सस्कृतिको त्यतिधेरै विकास भएको पाइँदैन। साहित्यको बजार एकदमै थोरै छ। हुन त केही कृतिले कमाएका होलान्। तर, समग्रमा लेख्ने विधालाई मात्र आत्मसाथ गरेर बाँच्न सक्छु भन्ने नसोचेपनि हुन्छ भन्छु। साहित्यकार हुनका लागि आफ्नो आम्दानीको अलग स्रोत भएका व्यक्तिमात्र अलि लामो समय टिक्न सक्छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो