धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक गुणाकर भट्टद्वारा राजीनामा

डिसी नेपाल
२४ वैशाख २०८३ १८:३९

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिका संयोजक डा. गुणाकर भट्टले आफ्नो पदबाट राजीनामा दिएका हुन्।

अध्यक्ष पदका आकांक्षीहरूमध्ये आफ्नै नातेदारको समेत आवेदन परेपछि ‘स्वार्थको द्वन्द्व’ हुन सक्ने नैतिकताका आधारमा उहाँले जिम्मेवारीबाट बाहिरिने निर्णय गरेका हुन्।

सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत रहेका डा. भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो। उक्त समितिले अध्यक्षका लागि दरखास्त आह्वान गर्ने र आवेदन संकलन गर्ने कार्य सम्पन्न गरिसकेको छ।

अध्यक्ष पदका लागि परेका आवेदनहरूमा आफ्ना नजिकका आफन्त समेत प्रतिस्पर्धामा देखिएपछि छनोट प्रक्रियाको निष्पक्षतामा प्रश्न नउठोस् भनी डा. भट्टले राजीनामा दिएको बताइएकाे छ।

अब सरकारले समितिको बाँकी प्रक्रिया अघि बढाउन र अध्यक्षको अन्तिम उम्मेदवार सिफारिस गर्नका लागि अर्को व्यक्तिलाई संयोजकको रूपमा नियुक्त गर्ने तयारी गरेको छ। लामो समयदेखि नेतृत्वविहीन रहेको धितोपत्र बोर्डमा नयाँ अध्यक्ष छनोटको काम यो राजीनामासँगै केही समय पर धकेलिने सम्भावना देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *