तालिबानका आफ्नै गुटभित्र झडप, राष्ट्रपति बन्ने भनिएका मुल्ला अब्दुल गनी बरादर घाइते

डिसी नेपाल
२१ भदौ २०७८ १३:५२

काठमाडौं। अफगानिस्तानमा नयाँ तालिबान सरकारको लागि भइरहेको प्रतिक्षा लामो हुँदै गइरहेको छ । तालिबानका गुटहरुबीचको मतभेदका कारण सरकार गठन प्रक्रियामा ढिलाइ भइरहेको बताइएको छ । यही बीचमा तालिबान सरकारको नेतृत्व गर्ने भनिएका नेता मुल्ला अब्दुल गनी बरादर घाइते भएको खबर छ । टाइम्स अफ इण्डियाका अनुसार मुल्ला अब्दुल गनी बरादर आफ्नो सहयोगी हक्कानी नेटवर्ककको साथ एक झडपमा शुक्रबार घाइते भएका हुन् । यो झडप तालिबानका दुई गुटबीच भएको थियो ।

अखबारका अनुसार यो घटनापछि पाकिस्तानी खुफिया एजेन्सी आइएसआइका प्रमुख लेफ्टिनेन्ट जनरल फैज हमिद शनिबार काबुल पुगेका छन् । आइएसआइका प्रमुखको काबुल यात्रापछि पाकिस्तानको भूमिका विवाद सुल्झाउने मध्यस्थकर्ताको रुपमा देखिएको छ । काबुल पुगेपछि आइएसआइ प्रमुखले भने ‘चिन्ता नगर्नुस्, यहाँ सब ठिक छ ।’

तर, जब उनीसँग के उनी तालिबान नेतृत्वसँग भेट्छन् भनेर सोधिँदा उनले अफगानिस्तानको लागि पाकिस्तानका राजदूत अहमद खानतिर हेर्दै भने ‘म भर्खरै यहाँ आएको मात्र छु । हामी अफगानिस्तानमा शान्ति र स्थिरताको लागि काम गर्दैछौं ।’

अफगानिस्तानबाट प्राप्त रिपोर्टमा भनिएको छ कि तालिबानका अहिलेका सर्वोच्च नेता हिब्तुल्लाह अखुंदजादालाई सर्वोच्च नेता कायम राख्ने प्रस्तावमा तालिबान, उसका सहयोगी र अलग अलग गुटका बीच मतभेद छ र शुक्रबार काबुलमा गोलीकारीको जुन आवाज सुनिएका थिए त्यो आवाज कथित रुपमा मुल्ला बरादर र अनस हक्कानीबीच सत्ता संघर्षको परिणाम थियो ।

टाइम्स अफ इण्डियाले अमेरिकी विश्लेषक माइकल रुबिनको हवाला दिँदै काबुलमा नयाँ सरकार गठनको ३ सेप्टेम्बरको डेडलाइन तालिबानले पूरा गर्न नसक्नुमा हक्कानी र अन्य तालिबान गुट हिब्तुल्लाह अखुंदजादालाई सर्वोच्च नेताको रुपमा स्वीकार गर्न तयार नहुनु भएको बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *