अफगान उपराष्ट्रपति पनि देश छोडेर भागे

डिसी नेपाल
२१ भदौ २०७८ १४:३७

काठमाडौं। अफगानिस्तानका उपराष्ट्रपति अमरुल्लाह सालेह देश छोडेर भागेको तालिबानले दावी गरेको छ । आज एक पत्रकार सम्मेलन गर्दै तालिबानले देशका उपराष्ट्रपति सालेह देश छाडेर भागेको बताएको हो । यसअघि सालेह पंजशीरमा थिए र नर्दर्न एलायन्सको साथमा तालिबानविरुद्ध युद्ध गरिरहेका थिए ।

अफगानिस्तानका राष्ट्रपति अशरफ गनी १५ अगष्टमा तालिबानले राजधानी काबुलमा कब्जा गरेलगत्तै देश छाडेर भागिसकेका छन् । राष्ट्रपतिले देश छाडेर भागेपछि उपराष्ट्रपति अमरुल्लाह सालेहले आफूलाई देशको कार्यवाहक राष्ट्रपति घोषणा गरेका थिए । त्यसपछि पंजशीर गएका उपराष्ट्रपति सालेह पंजशीरमै बसिरहेका थिए ।

तालिबान प्रवक्ता जबीहुल्लाह मुजाहिदले पत्रकार सम्मेलनमा आफूलाई अमरुल्लाह सालेह अफगानिस्तान छाडेर ताजकिस्तान भागेको जानकारी दिइएको बताएका छन् । गत हप्ता सालेहले एक भिडियो शेयर गर्दै आफू पंजशीर छाडेर नभागेको बताएका थिए ।

आजको पत्रकार सम्मेलनमा तालिबान प्रवक्ताले पंजशीर जसको कब्जामा थियो ती मानिसहरु गायब भएको बताएका छन् । उनले अफगानिस्तान ती भाग्नेहरुको पनि घर भएको बताउँदै उनीहरु चाहेको बेला फर्किन सक्ने बताए । उनले पंजशीरमा बरामद गरिएका हतियार अफगानिस्तानको हतियार भण्डारमा समावेश गरिने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *