तालिबानका सरकार प्रमुख मुल्ला मोहम्मद हसन अखुंद हुने, मन्त्रीहरु पनि छानिए

डिसी नेपाल
२१ भदौ २०७८ १७:४९

काठमाडौं। तालिबानले कैयौं दिनको विचार विमर्शपछि अन्ततः मुल्ला मोहम्मद हसन अखुंदलाई अफगानिस्तानको नयाँ राष्ट्राध्यक्ष बनाउने भएको छ । तालिबानको नयाँ सरकार बुधबार घोषणा हुने सम्भावना उच्च छ यद्यपि यसमा केही दिन ढिलाइ हुन पनि सक्छ ।

एक बरिष्ठ तालिबानी नेताले पाकिस्तानी अखबार द न्यूज इन्टरनेशनलसँग भने ‘अमीरुल मोमिनीन शेख हिब्तुल्लाह अखुंदजादाले स्वयं मुल्ला मोहम्मद हसन अखुंदलाई रइस–ए–जम्हुर वा रइस–ए–वजारा वा अफगानिस्तानको नयाँ राष्ट्रप्रमुखकका रुपमा प्रस्ताव गर्नुभएको थियो । मुल्ला बरादर अखुंद र मुल्ला अब्दुस सलामले उहाँको प्रतिनिधिको रुपमा काम गर्नुहुनेछ ।’

रिपोर्टका अनुसार तालिबानका तीन नेताहरुले मुल्ला मोहम्मद हसन अखुंदलाई नयाँ राष्ट्रप्रमुखको रुपमा मनोनयन गरिएको पुष्टि गरे । मुल्ला मोहम्मद हसन अखुंद अहिले तालिबानको शक्तिशाली निर्णय लिने निकाय रहबारी शूरा वा नेतृत्व परिषदका प्रमुख हुन् । रिपोर्टका अनुसार उनी तालिबानको उद्गम स्थल कान्दाहारका हुन् । उनी सशस्त्र आन्दोलनका संस्थापकमध्ये एक हुन् ।

तालिबानका एक अन्य नेताले भने ‘उहाँले रहबारी शूराका प्रमुखको रुपमा २० वर्षसम्म काम गर्नुभयो र निकै राम्रो प्रतिष्ठा आर्जन गर्नुभयो । उहाँ सैनिक पृष्ठभूमिको नभइ धार्मिक नेता हुनुहुन्छ र आफ्नो चरित्र र भक्तिको लागि परिचित हुनुहुन्छ ।’ मुल्ला हसन २० वर्षसम्म तालिबानका सर्वोच्च नेता हिब्तुल्लाह अखुंदजादाको निकट रहेर काम गरेका नेता हुन् ।

रिपोर्टका अनुसार हक्कानी नेटवर्ककका प्रमुख तालिबानी नेता सिराजुद्दीन हक्कानीलाई संघीय आन्तरिक मन्त्रीको रुपमा प्रस्ताव गरिएको छ । उनलाई पूर्वी प्रान्तको गभर्नर मनोनित गर्ने अख्तियारी पनि दिइएको छ । तालिबानका संस्थापक प्रमुख मुल्ला मोहम्मद उमरका छोरा मुल्ला याकुबलाई रक्षा मन्त्री बनाइएको छ ।

तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदलाई राष्ट्रप्रमुख मुल्ला हसन अखुंदका प्रवक्ताको जिम्मेवारी दिइएको छ । पहिले उनलाई संचार मन्त्री बनाउने तयारी थियो । मुल्ला अमीर खान मुत्ताकीलाई नयाँ विदेशमन्त्री मनोनित गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *