पंजशीरमा तालिबानमाथि बम खसाल्ने लडाकु विमान कसका हुन् ?

डिसी नेपाल
२२ भदौ २०७८ १२:१२

काठमाडौं। अफगानिस्तानको पंजशीरमा हालै तालिबानले कब्जा गरेको दावी गरेको थियो । तर, यो दावीपछिको रातमा आश्चर्यजनक घटना भयो । सोमबार अबेर राती पंजशीरमा तालिबानको अड्डामा लडाकु जहाजले बम खसाले । रिपोर्टमा तालिबानको अड्डामा भारी नोक्सान भएको दावी गरिएको छ । यो हवाइ आक्रमण गर्ने जहाजहरु अज्ञात छन् र अब यो आक्रमण कसले गरेको हो भन्ने प्रश्न उठेको छ ।

अफगानिस्तानको स्थानीय मिडिया र पत्रकारले अबेर राती पंजशीरमा तालिबानको अड्डामा हवाइ आक्रमण भएको खबर दिएका थिए । अज्ञात लडाकु विमानले यो आक्रमण गरेका थिए । मुहम्मद अल्सुल्मानीले ट्वीट गर्दै अज्ञात विमानहरुले पंजशीरमा तालिबानको अड्डामा आक्रमण गरेर रेसिस्टेन्स फोर्सको क्षेत्रमा गएको बताएका छन् ।

तालिबानले अब पंजशीरमा आफ्नो नियन्त्रण भएको र अफगानिस्तानको युद्ध समाप्त भएको दावी गरेको छ । तर, पंजशीरको जमिनमा युद्ध लडिरहेका नर्दर्न एलायन्सका लाडाकुहरु र तिनीहरुमा प्रमुख अहमद मसुदले भने आफूहरु रगतको अन्तिम थोपा रहँदासम्म लड्ने बताएका छन् । यस्तोमा अहिले प्रश्न उठिरहेको छ कि तालिबानलाई यो आक्रमण कसले गर्यो ?

अफगानिस्तानका पत्रकारहरुले गरेका अनुमानहरुमा सबैभन्दा धेरै नाम ताजिकिस्तानको आएको छ किनकि अहिले अहमद मसुद ताजिकिस्तानमा भएको दावी गरिएको छ । यसबाहेक तालिबानले अफगानिस्तानमा आफ्नो नियन्त्रण बढाउँदै लैजाँदा अफगान सेनाका कैयौं सैनिकले लडाकु विमान लिएर ताजिकिस्तान पुग्न सफल भएका थिए । ताजिकिस्तानले यसअघि पनि बेलाबेलामा नर्दर्न एलायन्स र तालिबान विरोधी गुटहरुलाई साथ दिँदै आएको छ । यही कारण यो आक्रमण ताजिकिस्तानले गरेको आशंका सबैभन्दा धेरै गरिएको छ ।

ताजिकिस्तानबाहेक यदि अन्य कुनै देशलाई लिएर प्रश्न उठेको छ भने ती रुस र इरान हुन् । इरानले हालै नर्दर्न एलायन्सका लडाकुमाथि पाकिस्तानले गरेको आक्रमणको निन्दा गरेको थियो । उसले यसरी अन्य कुनै देशको आन्तरिक मामिलामा हस्तषेप गरेको भन्दै पाकिस्तानको विरोध गरेको थियो । यस्तोमा इरानले नै पाकिस्तानले नर्दर्न एलायन्सका लडाकुमाथि गरेको आक्रमणको बदला लिन यो आक्रमण गरेको समेत आशंका गरिएको छ ।

तर, इरानमाथि गरिएको आशंका एक पक्षबाट कमजोर छ किनकि तालिबानले आफ्नो सरकार गठनमा सीमित देशहरुलाई निम्ता दिएको भए पनि ती सीमित देशको सूचीमा इरान छ । रुसको हकमा पनि यही अवस्था छ । रुस र तालिबानको सम्बन्ध त्यस्तो निकटको छैन र इतिहासमा त यी दुई विरोधी नै थिए । यसका बावजुद तालिबानले रुसलाई सरकार गठन कार्यक्रममा निम्ता दिएको छ ।

अमेरिकाले तालिबानको हातमा अफगानिस्तान सुम्पिएको भन्दै रुसले कडा आपत्ति जनाएको थियो र अमेरिकाको निन्दा गरेको थियो । यस्तोमा तालिबानलाई चोट दिनको लागि रुसले नर्दर्न एलायन्सलाई साथ दिनु आश्चर्यजनक मानिँदैन ।

सोमबार राती पंजशीरमा तालिबानको अड्डामा भएको आक्रमणमा कति नोक्सानी भयो र यी आक्रमण कुन–कुन ठाउँमा गरिए भन्ने स्पष्ट छैन । स्थानीय मिडिया र पत्रकारले जति कुरा सार्वजनिक गरेका छन् त्यसमा यससम्बनधी विस्तृत विवरण छैन । पंजशीरका विषयमा दैनिकजसो नयाँ खबरहरु आइरहेका छन् । उता तालिबान काबुलमा सरकार गठनको अन्तिम तयारीमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *