कोरोनाले पहिलो मृत्यु चीन र अमेरिकामा एकै दिन भएको थियो, गुपचुप फेरियो ‘डेथ सर्टिफिकेट’

डिसी नेपाल
२२ भदौ २०७८ १६:५९

काठमाडौं। अमेरिकामा कोरोनाभाइरस संक्रमणका कारण मत्यु भएको पहिलो बिरामीको मृत्यु प्रमाणपत्र गुपचुप तरिकाले परिवर्तन गरिएको छ । यो मृत्यु प्रमाणपत्र एक महिलाको हो । यी महिलाको ९ जनवरीमा अमेरिकाको कन्सास राज्यमा मृत्यु भएको थियो । खासमा यी महिलाको मृत्यु मिति पहिले करिब एक महिना पछिको थियो जसलाई चुपचाप बदलिएको छ ।

द मर्करी न्यूजका अनुसार कन्सासको लिवेनवर्थमा ७८ वर्षकी लोवेल कुकी ब्राउनको मृत्यु कोरोनाका कारण ९ जनवरी २०२० मा भएको थियो । जबकि त्यतिबेलासम्म अमेरिकामा कोरोनाभाइरसको कुनै पनि संक्रमण रेकर्ड गरिएको थिएन । यसको केही हप्तापछि मात्रै अमेरिकामा कोरोनाभाइरस संक्रमणको पहिलो आधिकारिक केस पाइएको थियो । ब्राउनको मृत्यु प्रमाणपत्र मे २०२१ मा बदलिएको छ ।

उनको पुरानो मृत्यु प्रमाणपत्रमा उनको मृत्यु स्ट्रोक र क्रोनिक अब्स्ट्रक्टिभ लंग डिजिजका कारण भएको लेखिएको थियो । २०२१ को मे महिनामा डाक्टरहरुले उनको मृत्यु प्रमाणपत्र गुपचुप तरिकाले बदलिदिए । उनको नयाँ मृत्यु प्रमाण पत्रमा उनको मृत्यु कोभिड–१९ निमोनियाका कारण भएको उल्लेख छ । रोचक त के भने कोरोनाभाइरसका कारण विश्वकै पहिलो आधिकारिक मृत्यु पनि ९ जनवरी २०२० कै दिन चीनको वुहानमा भएको रेकर्डमा छ । यसको अर्थ चीनमा कोरोनाका कारण पहिलो मृत्यु भएकै दिन अमेरिकामा पनि कोरोनाका कारण यी महिलाको मृत्यु भएको थियो ।

अब अमेरिकाको आधिकारिक रेकर्डअनुसार कुकी ब्राउन कोरोनाभाइरसका कारण अमेरिकामा मृत्यु हुने पहिलो व्यक्ति बनेकी छिन् । र, उनको मृत्यु त्यही दिन भएको आधिकारिक रेकर्डमा छ जुन दिन कोरोनाभाइरसको उद्गम स्थल मानिएको चीनको वुहानमा पनि पहिलो मृत्यु भएको रेकर्डमा छ । यसअघि अमेरिकामा कोरोनाका कारण पहिलो मृत्यु ६ फेब्रुअरी २०२० मा भएको रेकर्डमा थियो । यो मृत्यु क्यालिफोर्नियाको सेन जोन क्षेत्रकी एक महिलाको थियो ।

अमेरिकाको नियामक निकाय सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)ले आफ्नो आधिकारिक वेब पेजमा जनवरी २०२० मा अमेरिकामा कोरोनाका कारण ५ मृत्यु भएको लेखेको छ । लोवेल कुकी ब्राउन कोरोनाबाट मृत्यु हुने पहिलो महिला थिइन् । कान्सास डिपार्टमेन्ट अफ हेल्थ एण्ड इन्भाइरोमेन्टले पनि ९ जनवरी २०२० मा कोरोनाका कारण एक मृत्यु भएको रेकर्ड राखेको छ ।

यद्यपि ब्राउनको मृत्यु प्रमाणपत्र किन बदलियो अहिलेसम्म थाहा हुन सकेको छैन । उनको मृत्युको कारण कोरोना उल्लेख गर्नुपर्ने के प्रमाण भेटिए भन्ने पनि खुलाइएको छैन । उनको मृत्युलाई सामान्य मृत्युको सूचीबाट हटाएर कोरोनाबाट भएको मृत्युको सूचीमा राखियो । यहाँसम्म कि ब्राउनको मृत्यु प्रमाणपत्र गर्एको मे महिनामै बदलिएको भए पनि उनको परिवारलाई यसबारे थाहै थिएन । परिवारले अगष्टको अन्तिम हप्ता मात्र यसबारे थाहा पाए ।

मृत्युभन्दा पहिले २०१९ को क्रिसमसको बेलामा नै लोवेल कुकी ब्राउनलाई टाउको दुख्ने, ज्वरो र शरीर दुख्ने लक्षण देखिइसकेका थिए । उनका परिवारले मर्करी न्यूजलाई बताएअनुसार ब्राउनले त्यतिबेलै आफूले मन पर्ने खानाको स्वाद नपाएको बताएकी छिन् । जब उनलाई सास फेर्न अत्यन्तै गाह्रो भयो त्यसपछि परिवारले उनलाई अस्पताल लिएर गएका थिए । अस्पतालमा आइसीयुमा भर्ना गरिएकी उनको एक हप्तापछि मृत्यु भयो ।

ब्राउन आफ्नो मृत्युभन्दा महिनौं पहिलेदेखि कतै अन्तर्राष्ट्रिय यात्रामा गएकी थिइनन् । उनी आफ्नो घरबाहिर डाक्टरकहाँ जान्थिन् । त्यहाँ उनको मधुमेह र क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिजको उपचार भइरहेको थियो । कान्सासको पेभिडेन्स मेडिकल सेन्टरका फिजिसियन डाक्टर थोमस फुलब्राइटले ब्राउनको मृत्यु प्रमाणपत्र बदलेका हुन् । उनले स्थानीस्य मिडियासँग बिरामीको निजताको कानुनको उल्लंघन हुने भएकोले आफूले मृत्यु प्रमाणपत्र बदल्नुको कारण नबताउने भनेका थिए ।

कान्सास डिपार्टमेन्ट अफ हेल्थ एण्ड इन्भायरोमेन्टले स्थानीय मिडियालाई बताएअनुसार ९ जनवरी २०२० मा जुन व्यक्तिको मृत्यु भएको थियो उनको कोरोना जाँच गरिएको थिएन । किनकि त्यतिबेला कोरोना जाँच किट यति ठूलो परिमाणमा उपलब्ध थिएन । साथमा जनवरी २०२० मा यति धेरै कोरोना जाँच भइरहेका पनि थिएनन् । सीडीसीका अनुसार १० जनवरीमा पहिलो पटक कोरोनाको जीनोम सिक्वेंस प्रकाशित भएको थियो । त्यसपछि जाँचमा तीब्रता आएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *