अमेरिकाका मोस्ट वान्टेड अपराधी तालिबानका गृहमन्त्री, ५८ करोड छ टाउकोको मूल्य

डिसी नेपाल
२३ भदौ २०७८ १०:३२

काठमाडौं। तालिबानले अफगानिस्तानमा आफ्नो अन्तरिम सरकारको गठनको घोषणा गर्दै अफगानिस्तानलाई ‘एस्लामिक इमिरेट’ घोषणा गरेको छ । मुल्ला मोहम्मद हसन अखुंद देशका प्रधानमन्त्री हुनेछन् र मुल्ला अब्दुल गनी बरादर उपप्रधानमन्त्री हुनेछन् । मुल्ला अब्दुल सलाम हनफीलाई पनि उपप्रधानमन्त्री बनाइएको छ ।

यो सबका बीच सबैभन्दा धेरै चर्चा भइरहेका व्यक्ति हक्कानी समुहका प्रमुख सिराजुद्दीन हक्कानी हुन् । उनलाई अखुंद सरकारमा गृह मन्त्री बनाइएको छ । यी उनै हक्कानी हुन् जसले विगत २० वर्षमा कैयौं घातक आक्रमणहरु गरेका छन् । सिराजुद्दीन हक्कानी नेटवर्ककको नामले कुख्यात चरमपन्थी समूहका प्रमुख हुन् र उनको सम्बन्ध तालिबानसँग रहिआएको छ ।

२०१७ मा उनको समूहले एक ट्रकमा बम आक्रमण गरेको थियो जसमा १५० भन्दा धेरै मानिसहरु मारिएका थिए । यो समूहको अल कायदासँग पनि नजिकको सम्बन्ध छ । हक्कानी नेटवर्कलाई अमेरिकाले आतंकवादी संगठनको रुपमा सूचिकृत गरेको छ । अमेरिकाको संघीय ब्युरोसँग भएको हक्कानीको प्रोफाइलअनुसार उनी अमेरिकामा मोस्ट वान्टेड अपराधी हुन् ।

२००८ मा काबुलमा एक होटलमा भएको आक्रमणको घटनामा उनी अमेरिकामा वान्टेड छन् जुन आक्रमणमा अमेरिकी नागरिकसहित ६ जना मारिएका थिए । एफबीआइमा भएको उनको प्रोफाइलअनुसार हक्कानी नेटवर्कले नै अमेरिका नेतृत्वको नाटो सेनामाथि सीमापारबाट आक्रमण गरेको र २००८ मा तत्कालीन अफगान राष्ट्रपति हमिद कारजाइमाथि आत्मघाती आक्रमण गरेको उल्लेख छ । २ सेप्टेम्बर २०११ मा काबुलमा अमेरिकी दूतावास नजिकै नाटोको बेसमा भएको आक्रमणमा पनि हक्कानीलाई दोषी ठहर गरिएको छ ।

एफबीआइको प्रोफाइलमा हक्कानीको कद ५ फिट ७ इन्च भएको उल्लेख छ । हक्कानी अफगानिस्तानमा बसिरहेको र उनको समूह पाकिस्तान–अफगानिस्तान सीमामा सक्रिय रहेको भनिएको छ । उनको उमेर ४५ वर्ष उल्लेख गरिएको छ । उनको टाउकोको मूल्य ५० लाख डलर (५८ करोड रुपैयाँ) तोकिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *