पानीमा खसेका व्यक्तिलाई बचाउन हाम्फालेका मन्त्रीको ढुङ्गामा टाउको ठोकिएर मृत्यु

डिसी नेपाल
२४ भदौ २०७८ १३:२२

काठमाडौं। रुसका आपतकालीन मन्त्री येभगेनी जिनीचेभको एक दुर्घटनामा मृत्यु भएको छ । जिनिचेभ आर्कटिक क्षेत्रमा एक सिभिल डिफेन्स अभ्यासमा भाग लिँदै थिए । यस क्रममा एक व्यक्ति पानीमा खसे । ती व्यक्तिलाई बचाउने प्रयासमा जिनिचेभको ज्यान गएको हो ।

बीबीसीको रिपोर्टअनुसार एक्सरसाइजको क्रममा आर्कटिक षेत्रमा एक व्यक्तिले मन्त्री जिनिचेभको अन्तरवार्ता लिँदै थिए । यही क्रममा क्यामेरापर्सन अचानक पानीमा खसे । उनलाई बचाउनको लागि मन्त्री जिनिचेभ पनि पानीमा हाम्फाले । तर, दुर्भाग्यवश दुवैको मृत्यु भयो ।

रिपोर्टका अनुसार क्यामेरापर्सन अचानक उचाइबाट चिप्लिएर हिउँसहितको पानीमा खसेका थिए । यो देखेर उनलाई बचाउनका लागि जिनिचेभले तत्काल पानीमा हाम्फाले । तर, पानीमा खस्नासाथ उनको टाउको ढुङ्गामा ठोकियो र उनको मृत्यु भयो । रुसी मन्त्री जुन व्यक्तिलाई बचाउन पानीमा हाम्फालेका थिए उनको पनि मृत्यु भयो ।

रुसी मिडियाका अनुसार घटना उत्तरी साइबेरियाको पुटोराना नेचर रिजर्भमा किताबो ओरोनमा भएको हो । यो ठाउँ नोरिल्स्कबाट १६५ किलोमिटर पश्चिममा छ । क्यामेरापर्सन ६३ वर्षका अलेक्जेन्डर मेलनिक हुन् । दुर्घटनापछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुःख व्यक्त गरेका छन् । जिनिचेभको मन्त्रालयले पनि उनी कर्तव्य पालना गर्ने क्रममा शहीद भएकोमा दुःख व्यक्त गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *