२०२४ मा अमेरिकाको राष्ट्रपति फेरि ट्रम्प !

डिसी नेपाल
२४ भदौ २०७८ १४:११

काठमाडौं। अफगानिस्तानबाट सेना हटाउने निर्णयले अहिले अमेरिकी राष्ट्रपति जो बाइडेनको निकै आलोचना भइरहेको छ । यसले उनको लोकप्रियतालाई पनि निकै घटाएको छ । यस विषयमा इमरसन कलेजको तर्फबाट एउटा सर्वेक्षण गरिएको छ । यो सर्वेक्षणअनुसार यदि अहिलेकै अवस्थामा २०२४ मा ट्रम्प र बाइडेन दुवै राष्ट्रपतिको निर्वाचनमा प्रतिस्पर्धा गरे भने बाइडेनले हार्नेछन् ।

बाइडेन दोस्रो कार्यकालको लागि पुनः राष्ट्रपति पदको उम्मेदवार बन्न इच्छुक छन् । उता ट्रम्पले पनि आफू २०२४ मा फेरि राष्ट्रपति बदको लागि उम्मेदवार बन्ने बताइसकेका छन् । अमेरिकाको संविधानअनुसार एक व्यक्तिले २ कार्यकालसम्म राष्ट्रपति बन्न पाउँछ । अमेरिकाको इतिहासमा लगभग सबैजसो राष्ट्रपतिहरु दोस्रो कार्यकालको लागि चुनाब लडेका छन् र धेरैले जितेका पनि छन् । दोस्रो कार्यकालको लागि लड्दा हार्ने सीमित राष्ट्रपतिमध्ये ट्रम्प पनि एक हुन् ।

विश्लेषकहरुका अनुसार २०२४ मा रिपब्लिकन पार्टीका लागि अहिलेसम्म राष्ट्रपति पदको लागि ट्रम्पजत्तिको प्रभावशारी उम्मेदवार अर्को देखिएको छैन । ट्रम्प यसअघि एक कार्यकाल मात्र राष्ट्रपति भएकोले उनी चुनाब लड्न पाउँछन् र रिपब्लिकन पार्टीसँग पनि ट्रम्पजत्तिको अर्को उम्मेदवार नदेखिएकोले पार्टीले पनि उनैलाई उठाउन सक्छ । अर्कोतर्फ अमेरिकाका सबैजसो राष्ट्रपतिहरु दोस्रो कार्यकालको लागि चुनाब लड्ने गरेकोले बाइडेन पनि लड्छन् भन्ने अनुमान गरिएको छ ।

बोस्टन हेराल्डमा प्रकाशित रिपोर्टअनुसार सर्वेक्षणमा ४७ प्रतिशत सहभागीहरुले ट्रम्पलाई मत दिएका छन् भने ४६ प्रतिशतले बाइडेनलाई मत दिएका छन् । २० अगष्टदेखि १ सेप्टेम्बरसम्म गरिएको सर्वेक्षणमा सहभागीहरुलाई ‘२०२४ मा राष्ट्रपति पदमा ट्रम्प र बाइडेनमध्ये एकलाई रोज्नुपरे कसलाई रोज्नुहुन्छ ?’ भनेर सोधिएको थियो ।

बाइडेनको पार्टी डेमोक्रेटका सदस्यहरुमध्ये ६० प्रतिशतले बाइडेन २०२४ मा डेमोक्रेट पार्टीको उम्मेदवार बनुन् भन्ने चाहन्छन् । रिपब्लिकनको हकमा भने ६७ प्रतिशत रिपब्लिकनहरु ट्रम्प राष्ट्रपति पदको उम्मेदवार बनुन भन्ने चाहन्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *