‘साहित्य समाज रुपान्तरणका लागि लेखिने विषय हुनुपर्छ’ – Dcnepal

‘साहित्य समाज रुपान्तरणका लागि लेखिने विषय हुनुपर्छ’

नेपाली प्रगतिशील साहित्यको प्रतिष्ठित पुरस्कार हो ‘साहित्य सन्ध्या’। साहित्य सन्ध्या पुरस्कारको ४ सय १९ औं श्रृङ्खला कवि अनिता लामाको पोल्टामा परेको छ।

कवि अनिता लामा विद्यालय पढ्दै गर्दादेखि नै साहित्यमा रुचि राख्ने व्यक्ति हुन्। उनी अहिले पनि नेपालीमा भएका कविताहरुलाई लय मिलाएर पढेको स्मरण गरिरहन्छिन्। नेपालमा चलेको प्रगतिशील आन्दोलनमा पनि २०४६ सालदेखि नै लागिन् उनी।

आन्दोलनको दौडानमा जनवादी गीतसंगीतले जनतालाई सुसूचित गर्ने काम धेरै गरेको अनिताको अनुभव छ। स्कुले जीवनमा नै साहित्यमा रुची राखेको भए पनि २०५८ सालमा ‘अनुराग’ कविता संग्रह बजारमा आएपछि अनिताको साहित्यमा औपचारिक प्रवेश भयो।

उनले २०७१ सालमा अर्पण र २०७४ सालमा आतुङ गरी तीनवटा कविताका कृतिहरु बजारमा ल्याएकी छिन्। साहित्यमा सक्रिय रहेकी उनी नेपाल मेडिकल काउन्सिलको जागिरेसमेत छिन्।

जागिरसँगै समाजसेवामा लागेका उनका पाइलाहरु अझै पनि रोकिएका छैनन्। मागेर समाजसेव ागर्ने चलन बढेका बेला आफूसँग भएकोले मात्र समाजसेव ागर्ने अनिता मात्रै हुन भन्दा अतियुक्ति नहोला।

उनै कवि तथा समाजसेवी प्रगतिशील साहित्यकी हस्ताक्षर, जहिले पनि भूईँमान्छेको कविता लेख्ने र भूईँमान्छेको आवाज बुलन्द गर्ने सामाजिक अभियान्ता लामासँग डिसी नेपालका लागि तर्कबहादुर थापाले गरेको कुराकानीको सम्पादित अंशः

साहित्य सन्ध्या जस्तो प्रगतिशील साहित्य पुरस्कार बाट पुरस्कृत हुन भएको छ। बधाइ छ। कस्तो महशुस गर्नु भएको छ ?

राष्ट्रियस्तरको र प्रतिष्ठित पुरस्कार पाएको पहिलो पटक हो। लेख्न त विद्यालयको जीवनबाट लेखेँ। कहिलै पनि अरुले कसरी पुरस्कार पाए, मैले पनि हकदाबी गर्नु पर्छ। माग गर्नु पर्छ भन्ने पनि लागेन। यो पुरस्कार पाएपछि पनि मैले सोधेँ दिनेहरुलाई मलाई किन?

उहाँहरु हास्नु भयो। तपाईं पहिलो होला यस्तो प्रश्न सोध्ने मान्छे भन्नु भयो। मैले किन मलाई भनेर सोध्नु पर्ने बाध्यता छ। अहिले पुरस्कारका विषयमा नराम्रो संस्कार पनि छ।

मैले एउटा विचारको पनि प्रतिनिधित्व गर्छु। उक्त टिममा रहेको अग्रज दाजुहरुले यसपाली महिलालाई दिउँ भन्ने निर्णय भएको थियो। झण्डै ४०/५० महिलाहरुको बीचमा चौतर्फि सक्रिय तपाईँलाई मात्र देखेको हुँदा यसमा तपाईँ गर्व गर्नुस भन्नु भयो। त्यसपछि म खुसी भएँ।

कोरोनाको महामरीकैबीच कुराकानी भइरहेको छ। कस्तो प्रभाव पार्‍यो ?

कोरोनाको दोस्रोलहर उत्कर्षमा पुगेका बेला संक्रमित नै भएँ। पहिलो लहकाबेला त्यस्तो केही अफ्ठोरो भोग्नु परेको थिएन। मैले कोरोनाको दोस्रो खोप लगाएपछिको चौथोदिनबाट पोजेटिभ देखिएर घरमा आइसोलेटेड हुनु पर्‍यो। झण्डै २० दिनको अफिसको विदा त्यतिनै आफैले मागेको सयम गरी करिव ४५ दिन आइसोलेटेड भएपछि म काममा जान थालेकी हुँ।

अघिल्लो पटकको लकडाउनमा जम्माजम्मि ६ दिनमात्र बन्द रहेको मेरो अफिस दोस्रो लहरको बेला एकदिन पनि बन्द रहेन। हामीले स्टाफहरुलाई पालोपालो गराएर भए पनि काम गर्‍यौँ। हुन त स्वास्थ्य क्षेत्रको सबै अफिसहरु बन्द भएनन् होला। तर, पनि हामी नियामक निकाएमा भएका कारण पनि बाध्यता नै भयो अफिस खोल्नु पर्ने।

भूईँ र साहित्यको सम्बन्ध कस्तो हो ?

भूईँले सबैलाई बुई लगाउँछ। बोक्छ। भूईँले बुई गराएर अर्को जिम्मेवारीको बुईँमा गएपछि भूईँ छोड्छ। भूईँबाट टुट्ने भनेपछि त्यो माटोबाट टुट्नु हो। जमिनसँग टुट्नुहो। प्राकृतिकरुपमा हामी सबै भूईँको अंश हो। भूईँले हामीलाई हरेकचिजमा जग दिएको हुन्छ।

त्यो समाजबाट टुटेपछि छुटेपछि घमण्ड, बडप्पन आउँछ। म भन्ने कुरा बढी आउँछ। मले गरेको मपाईँत्वको कारण परिवार, समाज हुँदै अहिले त देश नै त्यसको शिकार भइरहेको छ। विचारमा, व्यक्तित्वमा, वर्गीयरुपमा, जातीयरुपमा, संस्कृतिहरुलाई स्वीकार नगर्ने।

यो सबै भूईँ छोडेका कारण हो। हामीले हरेक विषयमा मपाईँत्वमा गयौं। साहित्यले भूमीसँगको सम्बन्धलाई बनाइराख्न समाजलाई मार्ग निर्देश गर्नु पर्छ।

धेरै तलामाथि बस्नेहरुले पनि त भूईँको कुरा लेखेकै हुन्छन् त ?

त्यो कल्पना हो। त्यसमा वास्वितकता आउँदैन। माथिल्लो तलामा बसेर कल्पना गरेको दृष्यहरुमा आएका हुन्। मैरो विचारमा सहतको कुरा कल्पनामा मात्र लेखेर हुँदैन। सतहैमै जानु पर्छ र मात्र वास्तविक सतहको आवाजका बारेमा बोल्न सकिन्छ। लेख्न सकिन्छ भन्ने मेरो विचार हो।

म संगठनमा काम गरे पनि केही चाहीदैन भन्दै हिड्छु। खसाल्ने र उस्काउनेकोबीचमा छु। म बिचमा छु। मलाई केही फरक परेन। पर्दैन पनि।

दुःख गरे अनुसारको लिएको भए साहित्यमा टिक्न पनि सजिलो हुन्थ्यो होला नि!

नेपालमा लेखेर बाँचिदैन मलाई पनि थाहा भएको कुरा हो। बाँच्नका लागि लेखियो भने त्यो लेखकले लेख्न खोजेको कुरा पनि आउँदैन। आम्दानीको स्रोतसँग दाज्यो भने त्यो व्यापार भयो। व्यापार एउटा पाटो हो। विचार अर्कोपाटो हो। साहित्य त सम्प्रेशणको पाटो न हो।

साहित्य, रंगमञ्ज, कलाकारिता जुनसुकै फिल्डमा भए पनि हामीले सही सूचना दिन सक्नु पर्छ। समाजलाई निर्देशन गर्न सक्नु पर्छ। साहित्यले विचार दिने हो। अहिले साहित्य नै व्यापार भएपछि जसरी हुन्छ विकाउ सामानमात्र बजारमा आउन थाले। त्यसले न त विचार दिन्छ न त मार्ग निर्देशन नै गर्न सक्छ।

साहित्यले पाठकलाई पनि सकारात्मक सन्देश प्रवाह गरेर सकारात्मक बन्न सिकाउनु पर्‍यो। सूचना जसरी सम्प्रेशण भएको छ। त्यो सत्य हुनु पर्‍यो। असत्य हुनु भएन। र लेखक पनि आफूले लेखेको सत्यमा अडिक हुनु पर्‍यो। सत्यमा उ बाँची रहेको हुनु प¥यो। त्यसैले मेरो बिचारमा दिओस्, पाइयोस् भनेर साहित्य लेख्ने होइन्। साहित्य समाज रुपान्तरणका लागि लेखिने विषय हुनु पर्छ।

आम्दानी नहुने विधाहो कविता। यो विधा नै किन रोज्नु भयो त ?

यसलाई त विद्यालय पढ्दादेखि कै मोहका रुपमा लिने गर्छु। मैले भने म एउटा विचार समूहको पनि प्रतिनिधित्व गर्छु। त्यो विचार समूहको सांस्कृतिक कार्यक्रममा भाग लिने बेला, पूर्वपश्चिम यात्रा पनि गरेकी छु। मैले गीतहरु पनि गाएकी छु। सायद त्यसको प्रभाले पनि अनुप्रास मिलाउने, छोटो समयमा नै आफूले भन्न चाहेको कुरा भन्न सकिने, लेख्नलाई पनि वर्षो घोत्लीन नपर्ने र साहित्यको सर्वश्रेष्ठ विधा भएका कारण पनि कविता नै रोजेँ भन्छु।

कविता सबैले बुझ्न नसक्ने विधा हो पनि भनिन्छ। सबैले बुझ्ने गरी कविता लैख्ने के कुरा आवश्यक पर्छ ?

सबैलाई बुझ्नु पर्‍यो। मैले भूईँ भूईँ भन्छु नि त्यो कुरा जान्नु पर्‍यो। समाज बुझ्नु पर्‍यो। समाज नबुझेर लेखिएको साहित्य समाजले पनि बुझ्दैन। खालि साहित्यिक भाषिका प्रयोग गरेर लेखेको कवितामात्र उत्कृष्ट भन्ने गलत चलन चलेको छ। त्यो होइन। हामीले सरल भाषामा पनि भन्न खोजेको कुरालाई उृत्कृष्ट रुपमा बुझाउन सक्छौं। त्यसका लागि मैले अघि पनि भने समाज बुझ्न जरुरी छु।

बिम्ब र प्रतिकको प्रयोग ?

त्यो श्रष्टाको क्षमताको कुरा हो। यसको प्रयोगले कवितालाई सुन्दर बनाउँछ नै। तर, सही र सरल खालका बिम्बहरु प्रयोग गर्नु आवश्यक छ। बिम्ब र प्रतिकको प्रयोगका लागि आफूले पनि त्यही अनुसारको अध्ययन गर्नु पर्छ। बिम्ब र प्रतिकहरु बेमेल हुनु भएन भन्ने नै हो।

मैले पनि पुस्तक त निकालेकी छु। पुस्तक निकाले पनि अहिले फर्केर हेर्दा धेरै ठाउँमा त्यो कुराहरु पाइन्छ। कतिपय ठाउँमा बिम्ब र प्रतिकहरु बेमेल भएको भेट्छु । त्यसका लागि यसको प्रयोग गर्न अध्ययन हुनु जरुरी छ भनेकी हुँ।

छन्दमुक्त कवितामात्र लेख्नु भयो कि छन्दमा पनि छन् ?

अघि पनि भने गीत गाउँथेँ। जेबीटुहुरेदाईसँग धेरै गीतगाएँ, उहाँकोसंगतले धेरै कुरा सिकायो। उहाँ प्रति श्रदाञ्जली पनि छ। त्यो हिसाबले मैले पनि छन्दमै कविता लेख्नु पर्ने हो। तर, लेखीन। त्यसको लागी गर्नु पर्ने तयारी पुगेन भनौं। गद्य जस्तो सजिलो छैन। ईट्टाबनाउँने साँचो जस्तै हो।

माटो भरेपछि इट्टा तयार हुन्छ भन्ने धारण राख्ने मान्छे पनि छन्। विषेशगरी छन्दहरुको बारेमा जान्न, त्यसको भावमा शब्दहरु छनोट गरेर लेख्न त्यति सजिलो छैन। मलाई रहर लागे पनि लेख्न सक्दिन। कहिले काँही अरुले लेखेको पढेर मन बुझाउने गरेकी छु। मन लाग्छ तर सकेकी छैन।
नेपाली कविताको अवस्था कहाँ छ त ?

यही ठाउँमा छ भनेर कसरी देखाउँ। मैले आफैले लेखेको कविता आफैलाई चित्त नबुझ्दो अवस्थामा छ। आफुलाई अपडेट गर्न म अहले पनि गोपाल प्रसाद रिमालको कवितामा जान्छु। फेरि पनि म भूमि शेरचनकै कविता श्रृङ्खला पढ्छु। यसको कारण हाम्रो परिवेश हो।

सामाजिक सञ्जालले हामीलाई अस्तव्यस्त र ध्वस्त बनाइदियो। अध्ययन चिन्तन र मनन गर्ने धेरै समय सामाजिक सञ्जालले खोस्यो। केही ठाउँबाट लाभ दिए पनि सृजनशीलता मारिरदएको छ।

महिनौदेखि पढ्न थालेका किताबहरु सिरानी मै छैन। अनसिनखालको प्रतिश्पर्धामै दिनहरु बितेका छन्। अध्ययन भएन भने गुणस्तर आउँदैन। अहिलेको माहोलले क्वालिटी दिन सकेको छैन।

समाज आदर्श शून्य भयो। हामीले पनि आदर्श गुमाएका छौं। योगमाया उपन्यास जस्तो अर्को आउन समय लाग्छ। तर,पछिल्लो समयमा आएका केही किताबहरु छन्। जो ठूला छन्, मूल्य धेरै छ।

तर, त्यसको स्तरीयतामा प्रश्न उठछ। धेरै पैसा तिरेर किनेको पुस्तकबाट प्राप्त हुने कुरा के त केही पनि छैन। पैसा नहुनेले लेख्न सक्दैन भन्ने कुरालाई स्थापित गराउन चाहिरहनु भएको छ। त्यसले पनि नेपाली समग्र साहित्यको अवस्थाको बारेमा बोल्छ।

अबको साहित्यले समाजलाई मार्गनिर्देशन गर्नु पर्छ भन्ने हो ?

हो। साहित्य सेलिब्रेटी केन्द्रीत भएको छ। यसरी एउटा व्यक्तिलाई स्थापित गराउनका लागि लेखिनु भएन। साहित्य सेलिब्रेसन गर्ने ठाउँ त हो तर, सबैले गर्न पाउनु पर्ने भन्ने हो। पैसा हुनेले, प्रकाशकलाई भने जति दिन सक्नेले, पाठकहरुलाई झुक्याइरहेका छन्।

त्यो पाठकको समय पैसा दुबैको नोक्सानी गरिरहेका छन्। अबको साहित्यले त्यस्तोकुराबाट विश्राम लिनु पर्छ। साहित्य समाजको ऐना त हो नै अब मार्ग निर्देशक पनि बन्नु पर्छ। त्यसरी लेख्नु पर्छ।

आउने पुस्ताका लागि के भन्नु हुन्छ ?

सबै भन्दा पहिला त अध्ययन नै हो। जति धेरै अध्ययन ग¥यो त्यति नै गुणस्तरियता आउँछ। अझै भनौ अबको पुस्ताले लेख्ने साहित्यमा आदर्श मर्नु हुँदैन। आदर्श समाजको लागि अब आउने पुस्ताको साहित्यले महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्छ। समाज अगाडी बढ्न र समाजलाई एकतावद्ध गर्नमा मोटिभेट गर्ने खालको साहित्य अबको पुस्ताको अपरिहार्यता रहन्छ।

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो