‘मलाई बरु गोली हानेर मारिदिनु तर तालिबानको हातमा नसुम्पिदिनु’

डिसी नेपाल
२८ भदौ २०७८ १५:११

काठमाडौं। अफगानिस्तानमा तालिबानको शासन सुरु भएपछि त्यहाँ कला र संस्कृतिसँग सम्बनिधत मानिसहरु अहिले भूमिगत भएका छन् वा भागेका छन् । अफगानिस्तानकी लोकप्रिय पपस्टार आर्यना सइद ती हजारौं मानिसहरुमध्ये एक थिइन् जो १५ अगष्टका दिन काबुल विमानस्थलबाट निस्केर विदेश जान चाहन्थिन् । सइदजस्तै लगभग एक लाख अफगानीहरुले अफगानिस्तान छोडिसकेका छन् जो संगीतकर्मी, कलाकार, पत्रकार, महिला खेलाडी हुन् ।

सइद अहिले टर्कीमा छिन् । उनले भाइस वर्ल्ड न्यूजसँग कुरा गर्दै भनिन् ‘मैले हुनेवाला पतिसँग भनेकी थिएँ कि यदि तालिबानले मलाई घेरे भने मलाईै टाउकोमा गोली हानिदिनु । मैले आत्मघाती बम आक्रमण देखेकी छु यसबाहेक अन्य कैयौं खतरा देखेकी छु तर म सबैभन्दा बढी त्यसबेला आत्तिन्छु जब म सोच्छु कि तालिबानले मलाई जिउँदै समाते भने मेरो हालत के होला , म संगीत बनाउँछु, महिलाहरुलाई सहयोग गर्छु । म तालिबानको मुख्य निशाना हुन्थें ।’

सइद आफ्ना हुनेवाला पतिका कारण अफगानिस्तानबाट भागेकी थिइन् । उनका अनुसार अफगानिस्तानमा जतिबेला तालिबानको राज थियो, कुनै संगीत बज्दैनथ्यो । संगीतले कुनै देशको संस्कृति, पहिचान र जनताको बारेमा बताउने उल्लेख गर्दै उनले बिना संगीत कुनै देश जमिनको टुक्रा मात्र हुने बताइन् । तालिबानले १९९६ देखि २००१ को बीचमा संगीतका उपकरण नष्ट गरेको थियो, सिडी र क्यासेट नष्ट गरेको थियो र कुनै पनि संगीतलाई गैर इस्लामी घोषित गरेको थियो ।

पछिल्लो २० वर्षमा अफगानिस्तानमा कविता, फिल्म, संगीत र कलासँग सम्बन्धित गतिविधि निकै वृद्धि भएका थिए र अफगानिस्तानमा कैयौं नयाँ कलाकारहरु देखिएका थिए । पछिल्लो केही समययता देखिएका यी कलाकर्मीहरुसँग अफगानिस्तानको कला अब भने खतरामा परेको छ । तालिबानले फवाद अन्द्राबी नामका एक लोकप्रिय गायकलाई मारिदिएपछि अफगानिस्तानको कलाकर्मी समुदाय त्रसित छ ।

अहिले काबुलमा रहेको एक संगीत स्कुल बन्द गरिएको छ । केही समयअघि तालिबानले अफगानिस्तानका एक लोकप्रिय हास्य कलाकारलाई पनि मारेको थियो । पछिल्लो समय अफगानिस्तानका कलाकर्मीहरुले आफूले सृजना गरेका कलालाई नष्ट गरिरहेको रिपोर्ट पनि सार्वजनिक भएका छन् । सइदले भने अझै पनि संगीत सिर्जना जारी राख्ने बताएकी छिन् । इस्तानबुलमा रहेर संगीत सिर्जना गरिरहने र तालिबानका विषयमा आफ्ना अनुभव सार्वजनिक गरिरहने बताउँदै उनले भनिन् ‘यो निकै संवेदनशील समय हो । विश्वले अफगानिस्तानलाई यति सजिलै बिर्सन सक्दैन ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *