रहेनन् हो भान लांग, ४१ वर्ष जंगलमा बसेका उनलाई संसारमा महिला छन् भन्ने थाहा थिएन

डिसी नेपाल
२९ भदौ २०७८ १०:३४

काठमाडौं। आधुनिक संसारभन्दा धेरै टाढा जंगलमा ४१ वर्षसम्म जीवन बिताएका रियल लाइफ टार्जन हो भान लांगको निधन भएको छ । उनलाई ८ वर्ष पहिले मात्रै जंगलबाट सामान्य मानिसहरुको संसारमा ल्याइएको थियो । उनको ५२ वर्षको उमेरमा गएको सेप्टेम्बर ६ का दिन कलेजोको क्यान्सरका कारण निधन भएको द सनको रिपोर्टमा उल्लेख छ । भियतनामका हो भान लांगलाई उनका पिताले ३ वर्षको उमेरमा जंगलमा लिएर गएका थिए र उनले त्यहाँको जंगलमा आफ्ना पिताको साथमा ४१ वर्ष बिताएका थिए ।

उनलाई उनका पिताले जंगलमै हुर्काए र उनलाई संसारमा महिलाहरु छन्, महिलाहरुसँग शारीरिक सम्बन्धपछि बच्चा जन्मिन्छन् र सृष्टि चल्छ भन्ने समेत थाहा थिएन । हो भान लांग र उनका पिता हो भान थान्हले ४१ वर्ष घना जंगलभित्र बसेर बिताए । भियतनामको युद्धका बेला भागेर जंगल पसेका उनीहरुले कुआंग गाइ प्रान्तको ते त्रा जिल्लामा पर्ने घना जंगलमा यति लामो समय बिताए । उनीहरुले जंगलमा रुखका घर बनाए, रुखका बोक्रा र पातको कपडा बनाएर लगाए र मुसा मारेर खाए । ४ दशकसम्म उनीहरुको कुनै पनि अर्को मानिस र आधुनिक संसारसँग कुनै पनि सम्पर्क भएन ।

द सनकै यसअघिको एक रिपोर्टअनुसार थान्ह त्यतिबेला सेनामा थिए । १९७२ मा अमेरिकी सेनाको बमले उनकी श्रीमती र दुई सन्तानलाई मारिदिएपछि उनले २ वर्षका छोरा लांगलाई लिएर जंगलभित्र भाग्ने निर्णय गरेका थिए । त्यसपछि ४१ वर्षसम्म कुनै पनि अर्को मानिससँग नभेटेरै बसेका उनीहरुलाई स्थानीयले २०१३ मा फेला पारेका थिए । त्यसपछि उनीहरु विस्तारै समाजमा घुलमिल हुन थालेका थिए । उनीहरु पछिल्लो समय जंगलनजिकै एउटा घरमा बस्ने गरेका थिए ।

२०१५ मा पर्यटकहरुलाई मानिसको बसोबास नभएको दुर्गम क्षेत्रमा विदाको प्याकेज उपलब्ध गराउने कम्पनी दोकास्तावेका प्रबन्ध निर्देशक अल्भारो सेरेजोले लांगसँग भेटेका थिए । उनले लांगसँग जंगलमा जीवित रहने तरिकाहरुबारे जान्न चाहेका थिए । तर, उनीहरु जंगलमा जहाँ लांग हुर्केका थिए त्यहीँ ५ दिन साथमै बिताए । अल्भारोका अनुसार लांगले महिला र पुरुष छुट्याउन निकै संघर्ष गरेका थिए र उनलाई अहिलेसम्म पनि महिला र पुरुषबीचको आधारभूत फरक थाहा थिएन ।

‘म यो पुष्टि गर्न सक्छु कि लांगलाई कहिल्यै पनि न्यूनतम यौन इच्छा समेत भएन र उनको प्रजनन सम्बन्धी व्यवहार कहिल्यै पनि देखिएन’ सेरेजोले भनेका थिए । लांग र थान्हको खाना फलफूल, तरकारीहरु, मह र बाँदर, मुसा, सर्प, छेपारो, भ्यागुता, चमेरा, चराहरु र माछाजस्ता विभिन्न किसिमका मासुहरु थिए । सेजारोले भने ‘लांगले जनावरको कुनै पनि भाग खेर फाल्दैनथे । जतिबेला म उनीसँग थिएँ मैले लांगलाई जैतुनजस्तै गरी चमेरा खाएको देखेको थिएँ । उनले मुसाको टाउको र आन्द्राभुँडी पनि खान्थे ।’

उनीहरुले जंगलमा सधैं आगो बालिराख्थे र जंगलमा भेटिएका सामग्रीहरुबाट विभिन्न भाँडाकुँडा बनाएका थिए । लांगको जीवन सहजै चलिरहेको थियो तर अचानक उनका पिताको स्वास्थ्य बिग्रियो । ‘उनका पिताको खराब मानसिक अवस्थाका कारण लांग पछिल्ला केही वर्ष पूरै तनाव र एङजाइटीमा बाँचेका थिए । कहिलेकाहीँ उनी रातभरी जागा बस्थे’ सेजारोले भने । जब उनीहरुलाई अरु मानिसले फेला पारे त्यसपछि लांगलाई कारमा गाउँ लगिएको थियो जहाँ उनी आधुनिक विकास देखेर दंग परेका थिए ।

रातमा बल्बबाट प्रकाश आइरहेको देख्दा उनी छक्क पर्थे । लांगका अनुसार रातको समयमा पनि प्रकाशको मजा लिन पाउनु उनका लागि सबैभन्दा अद्भूत लागेको थियो । त्यसपछि उनले जीवनमै पहिलो पटक टेलिभिजन देखे । यो यस्तो चीज थियो जसबारे उनका पिताले उनी युवा हुँदा भनेका थिए । त्यसैले उनलाई त्यहाँ देखिने मानिसहरु बाकसभित्र छैनन भन्ने चाहिँ थाहा थियो । लांग पछिल्लो ८ वर्ष आधुनिक गाउँमा बसेका थिए तर यो ८ वर्षको अवधिमा पनि उनले सामाजिक नियमलाई भने बेवास्ता गरेरै बिताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *