उत्कृष्ट अनुसन्धान गर्ने पाँच जना प्रहरी कर्मचारीहरु नगद पुरस्कारद्वारा पुरस्कृत

डिसी नेपाल
३१ भदौ २०७८ २०:१६

काठमाडौं । संखुवासभा मादी गाउँपालिका १ उम्लिङस्थित एकै परिवारका ६ जनाको हत्या गरिएको घटनाको सफल अनुसन्धान गर्ने ५ जना प्रहरी कर्मचारीहरु नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको छ ।

पुरस्कृत हुने प्रहरी कर्मचारीहरूमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक अरूण कुमार वि.सी., नेपाल प्रहरी प्रदेश कार्यालय धरान अपराध अनुसन्धान शाखाका प्रहरी उपरीक्षक भिम बहादुर दाहाल, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक लाल ध्वज सुवेदी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी निरीक्षक मणिराम थापा र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर अनुसन्धान शाखाका प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङ रहेका छन् ।

अपराध अनुसन्धानमा प्रशंसनीय एवं उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरिँदा अन्य प्रहरी कर्मचारीहरुको कार्य सम्पादन स्तरमा समेत सकारात्मक प्रभाव पर्न गई प्रहरी मनोबल उच्च रहने विषयलाई दृष्टिगत गरी उनीहरूले सम्पादन गरेको प्रशंसनीय कार्यको कदर स्वरूप प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को परिच्छेद १५ को नियम १९७ को देहाय (क) बमोजिम अभिलेखमा जनिने गरी प्रहरी प्रधान कार्यालयले उनीहरूलाई बिहीबार नगद पुरस्कारद्वारा पुरस्कृत गरेको हो ।

साथै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, नेपाल प्रहरी प्रदेश कार्यालय धरान र जिल्ला प्रहरी कार्यालय संखुवासभा समेतले उक्त घटनाको सफल अनुसन्धानमा इमानदार एवं निष्ठाकासाथ प्रशंसनीय कार्य गर्ने आआफ्ना कार्यालय मातहतका प्रहरी कर्मचारीहरूलाई समेत पुरस्कृत गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *