भक्तपुरकाे सिद्धपाेखरीमा इन्द्रदहमा मेला
भादगाउँ । भाद्र शुक्ल पूर्णिमाका अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल प्राचीन इन्द्रदह (सिद्धपोखरी)मा आज बिहानैदेखि मेला लागेको छ। हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ मेला लाग्ने गर्दछ। इन्द्र दहमा स्नान गरी इन्द्रायणी देवीको पूजा आरधना गर्न भक्तजन घुइँचो लागेको हो।
देवराज इन्द्रले स्नान गरेको दह हुनाले आजको दिन इन्द्र दहको स्नान गरी इन्द्रायणी देवीको पूजाआराधना गरेमा पूण्यप्राप्ति हुनुका साथै पारिवारिक सुःख समृद्धि मिल्ने जनविश्वास छ। हरेक वर्ष इन्द्रजात्राका दिन भक्तपुरको खौमा टोलस्थित इन्द्रायणी देवीको मूर्तिलाई खटमा राखी जात्रा गरेर इन्द्रदहमा ल्याई विराजमान गराई तान्त्रिक विधिपूवक पूजा र भोगबलि चलाउने परम्परा रहेको छ। यसबेला परम्परागत बाजागाजाका साथ दाफा र भजन गाउने प्रचलन छ।
दहमा लिच्छविकालीनदेखि मल्लकालसम्मका शैव, शक्ति, बौद्ध, वैष्णव, सम्प्रदायका देवी देवताका मूर्ति छन्। अनावृष्टि हुँदा दहमा आई वासुकी नागलाई पूजा गर्ने र जल वृष्टिका लागि तान्त्रिक पूजा गर्ने प्रचलन रहेको छ। आजको दिन दहको पूर्वपट्टि दिशामा अवस्थित शिवलिङ्गमा जल चढाई पिएमा घाँटी दुखेको रोग निको हुन्छ भन्ने जनविश्वास रहेको छ।रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment