फ्रान्सले अमेरिकासँग स्पष्टीकरण माग्यो, फ्रेन्च राष्ट्रपतिले बाइडेनलाई वास्ता गर्न छाडे

डिसी नेपाल
४ असोज २०७८ १४:४५

काठमाडौं। अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको ऐतिहासिक अकुस सुरक्षा सम्झौताका कारण फ्रान्स आक्रोशित छ । तीनै देश फ्रान्सलाई फकाउने प्रयासमा छन् तर फ्रान्स नरम हुन सकिरहेको छैन । अमेरिका फ्रान्ससँग समझदारीको कोसिस गरिरहेको छ । फ्रान्सले आफुलाई वास्ता गर्न छाडेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनलाई फोनमा कुरा गर्न आग्रह गरेका छन् ।

फ्रान्स सरकारका प्रवक्ता ग्याब्रियल एटालले आगामी केही दिनमा फ्रान्स र अमेरिकाका राष्ट्रपतिले एक अर्कासँग कुरा गर्न सक्ने बताएको समाचार एजेन्सी एएफपीले जनाएको छ । एटालका अनुसार फ्रान्सले यस विषयमा अमेरिकासँग स्पष्टीकरण मागेको छ । उनले भने ‘अमेरिकाले हाम्रो विश्वास तोडेको छ र उनीहरुले यस विषयमा चित्तबुझ्दो जवाफ दिनुपर्छ ।’

फ्रान्सले अमेरिका र अस्ट्रेलियाबाट आफ्ना राजदूतलाई फिर्ता बोलाइसकेको छ । फ्रान्सका विदेश मन्त्रीले फ्रान्स २ टेलिभिजनसँग कुरा गर्दै भने ‘अस्ट्रेलिया र अमेरिकाबाट राजदूतलाई बोलाउनुले यो देखाउँछ कि हामी यी देशको व्यवहारबाट कति आहत भएका छौं र दुवै देशसँग हाम्रो सम्बन्धमा चिसोपना आएको छ । यो विषयमा झुट र दोहोरो चरित्र देखिएको छ र हामीसँग धोका भएको छ ।’

फ्रान्सले बेलायतबाट भने आफ्ना राजदूत फिर्ता बोलाएको छैन तर यस विषयमा पनि फ्रान्सका विदेशमन्त्रीले निकै तीखो जवाफ दिएका छन् । उनले भने ‘बेलायतबाट फ्रेन्च राजदूत फिर्ता बोलाउने आवश्यकता महसुस भएन । हामी उनहिरुको अवसरवादी व्यवहारसँग परिचित छौं । त्यसैले यसको आवश्इकता थिएन ।’ बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले भने बेलायत र फ्रान्सबीच निकै मित्रवत सम्बन्ध रहेको र यो उनको लागि निकै महत्वपूर्ण भएको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *