फ्रान्सले अमेरिका र अस्ट्रेलियाबाट राजदूत फिर्ता गरेपछि बेलायतलाई पनि दियो झट्का

डिसी नेपाल
४ असोज २०७८ १५:३१

काठमाडौं। बेलायत, अमेरिका र अस्ट्रेलियाबीच भएको नयाँ रक्षा सम्झौता अकुसका विषयमा फ्रान्सकी रक्षा मन्त्री फ्लोेरेन्स पार्लीले आफ्नो बेलायती समकक्षीसँग हुने बैठक रद्द गरिदिएकी छिन् । अस्ट्रेलियाले परमाणु शक्तिसम्पन्न मिसाइलको निर्माणको लागि अकुस सम्झौतामा हस्ताक्षर गरेपछि फ्रान्सले पहिले पाएको ठेक्का रद्द भएको छ जसबाट फ्रान्स रुष्ट छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले भने सम्झौताका विषयमा फ्रान्सलाई चिन्ता गर्नुपर्ने कुनै कारण नभएको बताएका छन् ।

फ्रान्सकी रक्षा मन्त्री फ्लोरेन्स पार्लीले बेलायती रक्षा मन्त्री बेन वेलेससँग लण्डनमा यही हप्ता हुने बैठक रद्द गरेकी हुन् । फ्रान्समा बेलायती राजदूत रहिसकेका लर्ड रिकेट्स २ दिनसम्म चल्ने यो बैठकमा सहभागी हुँदै थिए । रिकेट्सले बीबीसीसँग कुरा गर्दै फ्रेन्च रक्षा मन्त्रीले बैठक पछिको मितिको लागि स्थगित गरिदिएको पुष्टि गरेका छन् । गत हप्ता अकुस सम्झौताको घोषणा गरिएको थियो । यो सम्झौतालाई दक्षिण चीन सागरमा चीनको दबदबा रोक्ने प्रयासको रुपमा हेरिएको छ ।

तर, अकुस सम्झौताका कारण अस्ट्रेलियाले फ्रान्ससँग २०१६ मा गरेको त्यो सम्झौता तोडियो जुन सम्झौताअनुसार फ्रेन्च कम्पनी नेवल ग्रुपलाई १२ पारम्परिक पनडुब्बी निर्माणका लागि ३७ अर्ब डलरको ठेक्का दिइएको थियो । फ्रेन्च विदेश मन्त्रीले यो सम्झौतालाई फ्रान्सको पिठ्युँमा छुरा रोपिएको बताएका छन् । कुरा यत्तिमै रोकिएन । त्यसपछि एक किसिमले अभूतपूर्व फैसला लिँदै फ्रेन्च राष्ट्रपति इम्मानुएल म्याक्रोनले अमेरिका र अस्ट्रेलियाबाट आफ्ना राजदूत फिर्ता बोलाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *