यती एयरलाइन्स २४ वर्षमा प्रवेश, वार्षिकोत्सवमा कल सेन्टरको शुभारम्भ

डिसी नेपाल
५ असोज २०७८ ११:५९

काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित नेपालको सबैभन्दा ठूलो हवाई सञ्जाल भएको वायुसेवा कम्पनी यती एयरलाइन्स आज(मंगलबार) बाट २३ वर्ष पूरा गरी २४ वर्षमा प्रवेश गरेको छ । २१ सेप्टेम्वर, १९९८ बाट पहिलो उडान सुरु गरेको यतीले सोही दिनलाई बार्षिक उत्सवको रुपमा मनाउने गरेको छ ।

नेपालका दुर्गम क्षेत्रका बासिन्दालाई मानवीय सेवा गर्ने उद्देश्य लिएर स्थापना भएको यती एयरलाइन्सले आफ्नो भगिनी संस्था तारा एयरसहित २३ वर्षदेखि नेपाली आकाशमा उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।
स्थापनाको सुरुवाती दिनमा यातायात सञ्जाल नजोडिएका हिमाली क्षेत्र र कर्णालीका बासिन्दालाई खाद्यान्न, औषधी, लत्ताकपडालगायत सामग्री ढुवानी गर्दै आएको यतीले पछिल्लो समय अन्तर्राष्ट्रियस्तरमा समेत आफ्नो सञ्जाल बढाउँदै लगेको एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनोज रिमालले बताए ।

वार्षिकोत्सवको अवसरमा सिईओ रिमालले भने, “यती एयरलाइन्स र तारा एयरका साहसी पाइलट एवं आत्मविश्वासी चालकदल, दक्ष प्राविधिक, तालिम प्राप्त कर्मठ कर्मचारी, साझेदार संघसंस्थाहरुको लगन, मेहनत, इमान्दारी तथा यात्रुहरुको विश्वासले यती एयरलाइन्सले गौरवमय २३ वर्षे इतिहास पूरा गर्न सफल भएको हो, यसका लागी हामी सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।”

२४ वर्षे यात्रासँगै यतीले जेटस्ट्रिम युगको पूर्णरुपले अन्त्य गरी एटिआर युगमा प्रवेश गरेको छ । हालै यतीले आफूसंग रहेको ५ वटा विमान बिक्री गरेको हो । २३औँ वार्षिकोत्सवको अवसरमा यती एयरलाइन्सले ग्राहकवर्गलाई थप सहजता प्रदान गर्ने उद्देश्यले रिजर्भेसन सेन्टरलाई अपग्रेड गर्दै आज(मंगलबार) बाट कल सेन्टरको औपचारिक शुभारम्भ गरेको छ ।

कल सेन्टरको शुभारम्भसँगै अब ०१–५९७००७४ मा फोन गरी उडान सम्बन्धी जानकारी लिन सकिने र उडानसम्बन्धी जिज्ञासा अनुत्तरित नरहने यती एअरलाइन्सले जनाएको छ । एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले उपयुक्त भाडादर, झन्झटरहित यात्रा, गुणस्तरीय सेवा र यात्रुहरुलाई पहिलो प्राथमिकतामा राखी उडान गरेका कारण यती एयरलाइन्स स्वदेशी तथा विदेशी यात्रुको रोजाईमा पर्न सफल भएको बताए ।

उनले भने, “बिरामी, अपाङ्गता वा फरक क्षमता भएका यात्रु महानुभाव, बालबालिका तथा ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकतामा राखि सुरक्षित रुपमा गन्तव्यमा पुर्याई सन्तुष्ट सेवा प्रदान गर्दै आएका छौँ ।”
यती एयरलाइन्स नेपालको पहिलो र एकमात्र कार्वन न्यूट्रल एअरलाइन्स हो । वातावरण संरक्षणमा यती एयरलाइन्स उत्तिकै संवेदनशील र सक्रिय रहेको प्रवक्ता बर्तौलाले बताए ।

यतीले कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न निकायहरुको सहकार्यमा सगरमाथा सफाई अभियानमार्फत सगरमाथालगायत खुम्बु क्षेत्रबाट हालसम्म करिब सय टन फोहोर एयरलिफ्ट गरिसकेको छ । त्यस्तै, विभिन्न जिल्लामा दुईलाख ७२ हजार ६ सय वटा विरुवा वृक्षारोपण गरिसकेको छ ।

वायुयानभित्र प्लाष्टिक कपको सट्टा पेपर कप प्रयोगमा ल्याएको, विद्युतीय सवारीसाधनलाई प्राथामिकताका साथ प्रयोगमा ल्याएको कम्पनीले जनाएको छ । हवाई र पर्यटनमा मात्र नभई खेलकुदको क्षेत्रमा पनि यतीको विशेष योगदान रहेको छ । विशेषगरी क्रिकेट, फुटबल र गल्फमा पनि यती एयरलाइन्सको प्रत्यक्ष योगदान रहेको छ ।

कोभिड–१९ महामारीको चुनौतीमा समेत उच्च सुरक्षा सतर्कता अपनाउँदै यतिले प्रशंसनीय सेवा प्रवाह गर्दै लाखौं यात्रुहरुलाई सुरक्षित यात्रा गराउन सफल भएको कम्पनीले जनाएको छ ।

प्रवक्ता बर्तौलाका अनुसार यतिले आगामी वर्षमा वायुयानको संख्या थप गर्ने, नयाँ गन्तव्यमा उडान थप गरी बजार हिस्सा बढाउने, थप रोजगारी सृजना गर्ने, चार्टर उडानमार्फत् अन्तर्राष्ट्रिय गन्तव्यमा सेवा विस्तार गर्ने, नयाँ प्रविधिहरुलाई प्रयोगमा ल्याई हवाई सेवालाई परिस्कृत गर्दै थप गुणस्तरीय बनाउने र यात्रुहरुलाई प्रत्यक्ष लाभ हुने सहुलियत अफरहरु ल्याउने तथा सामाजिक उत्तरदायित्वहरुलाई निरन्तरता दिने छ ।

यतीले हाल पाँचवटा एटिआर विमानमार्फत् नेपालगञ्ज, भद्रपुर, जनकपुर, पोखरा, सिमरा, भैरहवा र विराटनगरमा उडान भर्दै आएको छ भने भगिनी संस्था तारा एयरको ४ वटा ‘ट्वीन–अटर’ विमानमार्फत् दुर्गम हिमाली तथा पहाडी भागहरु लुक्ला, फाप्लु, जोमसोम, हुम्ला, जुम्ला, रारा, डोल्पा, बाजुरा जस्ता विमानस्थलमा सेवा दिँदै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *