आफ्नो तलब १३ करोड घटाएर सबै कर्मचारीलाई ८० लाख दिने सीइओले भने ‘नाफा भयो’

डिसी नेपाल
६ असोज २०७८ १३:०६

काठमाडौं। अमेरिकाको एक क्रेडिट कार्ड प्रोसेसिङ कम्पनीले ६ वर्ष पहिले आफ्ना सबै कर्मचारीको तलब बढाएर न्यूनतम ७० हजार डलर (नेपाली ८० लाख रुपैयाँ) बनाइदिएको थियो । ग्रेभिटी पेमेन्ट्स नामको कम्पनीको यो निर्णयका विषयमा त्यतिबेला अलग अलग राय व्यक्त गरिएका थिए । तर, अहिले कम्पनीका सीइओ डेन प्राइसले भने आफ्नो पारिश्रमिक बढाउने नीति सफल भएको बताएका छन् ।

६ वर्षअघि सबै कर्मचारीको तलब बढाउने क्रममा सीइओ प्राइसले आफ्नै पारिश्रमिकमा १.१ मिलियन डलर (१३ करोड रुपैयाँ) कटौती गरेर आफ्नो तलब पनि कर्मचारीहरुकै तलबको स्तरमा झारेका थिए । यो निर्णयपछि कैयौं मानिसहरुले प्राइसलाई हिरो भनेका थिए । यद्यपि केही मानिसहरुले भने कम्पनी टाट पल्टिने भविष्यवाणी गरेका थिए ।

तर, अहिले भने डेन प्राइसले ग्रेभिटी पेमेन्ट्सले निकै प्रगति गरिरहेको र कम्पनी छोडेर जाने स्टाफको दर आधा भएको बताएका छन् । अर्कोतर्फ ६ वर्ष पहिलेको तुलनामा अहिले स्टाफको संख्या पनि दुई गुणा भएको छ । तर, अहिलेसम्म पनि सीइओले आफ्नो वार्षिक पारिश्रमिक ७० हजार डलर नै राखिरहेका छन् ।

सीबीएस न्यूजसँगको कुराकानीमा डेन प्राइसले भने ‘पारिश्रमिक बढाएपछि स्टाफहरु कम्पनीप्रति धेरै वफादार भए ।’ २०२० मा कोरोना महामारीको क्रममा कम्पनीको स्थिति खराब भएको थियो । तर, केही महिनाको समस्यापछि कम्पनी त्यो समस्याबाट पार पाउन सफल भयो । यो समयमा केही स्टाफले स्वेच्छाले केही महिनाको लागि आफ्नो पारिश्रमिक घटाएका थिए ।

पारिश्रमिक बढाएपछि ग्रेभिटी पेमेन्ट्सका स्टाफहरुले मिलेर आफ्ना सीइओलाई एउटा शानदार कार समेत गिफ्ट दिएका थिए । तर, सीइओले त आफ्नो पुरानो पारिश्रमिकबाट पनि कार किन्न सक्थे ? यो प्रश्नको जवाफमा डेन प्राइसले भने ‘यही कुरा सही हो तर म पहिलेको तुलनामा निकै धेरै खुसी छु ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *