संयुक्त राष्ट्रसंघको महासभामा इरानका राष्ट्रपतिको प्रहार र चीनको महत्वपूर्ण घोषणा

डिसी नेपाल
६ असोज २०७८ १५:५३

काठमाडौं। इरानका नयाँ राष्ट्रपति इब्राहिम रइसीले संयुक्त राष्ट्रसंघको महासभामा पहिलो सम्बोधनको क्रममा अमेरिकामाथि निकै आक्रामक अभिव्यक्ति दिएका छन् । रइसीले इरानमाथि प्रतिबन्धलाई अमेरिकाले युद्धका बेलामा जस्तो गरी प्रयोग गरिरहेको आरोप लगाए । रइसी राष्ट्रसंघमा आफ्ना पूर्ववर्ती प्रधानमन्त्री हसन रुहानी भन्दा कडा रुपमा प्रस्तुत भए । रइसीले गएको महिना मात्र राष्ट्रपति पदको शपथ लिएका थिए । उनी इरानको सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश समेत हुन् ।

रइसीले महासभालाई तेहरानबाट भर्चुअल रुपमा सम्बोधन गरे । उनले भने ‘संसारका कैयौं देशहरुमाथि अमेरिका प्रतिबन्धलाई हतियारजस्तै प्रयोग गरिरहेको छ । कोभिड महामारीको समयमा यस किसिमको आर्थिक सजाय मानवताविरुद्ध अपराध हो ।’ रइसीले अगाडि भने ‘हाम्रो क्षेत्रमा अमेरिकाले अधिनायकवादी व्यवहार मात्रै गरिरहेको छैन, पश्चिमी पहिचान थोपर्ने प्रयास पनि गरिरहेको छ । इराक र अफगानिस्तानबाट अमेरिका आफैं गएको होइन उसलाई निकालिएको हो ।’

अमेरिकालाई निशानामा लिँदै रइसीले यसै वर्ष ६ जनवरीमा अमेरिकाको क्यापिटल हिलमा ट्रम्प समर्थकको हिंसाको हवाला दिए । उनले भने ‘क्यापिटलदेखि काबुलसम्मबाट स्पष्ट सन्देश आएको छ कि अमेरिकाको अधिनायकवादी प्रणालीको कुनै साख छैन त्यो चाहे अमेरिकाभित्र होस् वा अमेरिका बाहिर । पश्चिमी तौरतरिका थोपर्ने कोसिस विफल भएको छ । इराक र अफगानिस्तानबाट यो प्रमाणित भयो । विश्वलाई अमेरिकी नाराले कुनै फरक पार्दैन । त्यो चाहे ट्रम्पको अमेरिका फर्स्ट होस् वा बाइडेनको अमेरिका ब्याक ।’

रइसीले इरानमा १९७९ को इस्लामिक क्रान्तिको प्रशंशा गरे र यसलाई धार्मिक लोकतन्त्रसँग जोडे । उनले पश्चिममा आतंकवादमा भएको वृद्धिलाई आध्याप्ममा आएको गिरावटसँग जोडे । रइसीले आफ्नो सम्बोधनका क्रममा भने ‘अमेरिकासँग वार्ता त्यतिबेला मात्र सुरु हुन सक्छ जब कुनै ठोस उपलब्धी आउने आशा हुन्छ र प्रतिबन्ध हटाइनेछन् । इरान अमेरिकी सरकारको प्रतिबद्धतामा विश्वास गर्न सक्दैन ।’

अमेरिकी अखबार वाशिङटन पोस्टका अनुसार अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले भनेका छन् कि उनले रइसीको भाषण सुनेका छन् तर उनीहरु चाहन्छन् कि इरान आफ्नो परमाणु कार्यक्रमका विषयमा केही ठोस काम गरोस् । रइसीले इरानको रक्षा सिद्धान्तमा परमाणु हतियार र डेटरेन्स पोलिसीको कुनै स्थान नभएको बताए । अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार महासभालाई सम्बोधन गर्दै अमेरिका आफ्नो अडानमा कायम रहेको र इरानलाई परमाणु हतियार हासिल गर्न नदिने बताएका थिए ।

राष्ट्रसंघको ७६ औं महासभालाई सम्बोधन गर्दै चीनका राष्ट्रपति शी जिनपिंगले पनि अमेरिकालाई अप्रत्यक्ष रुपमा निशाना बनाए । चिनियाँ राष्ट्रपतिले आफ्नो सम्बोधनमा भने ‘लोकतन्त्रमा कुनै एक देशको सुरक्षित अधिकार छैन । यो सबै देशका जनताको अधिकार हो । बाहिरबाट सैन्य हस्तक्षेप र कथित लोकतान्त्रिक परिवर्तनबाट केही हासिल हुँदैन बरु यसबाट नोक्सानी नै हुन्छ ।’

आफ्नो सम्बोधनमा चिनियाँ राष्ट्रपतिले निकै महत्वपूर्ण घोषणा पनि गरे । शी जिनपिङले चीनले अब विदेशमा नयाँ कोइला पावर प्रोजेक्टमा काम नगर्ने घोषणा गरे । यसलाई चीनले विश्वव्यापी तापमान वृद्धिविरुद्ध उठाएको अहम कदमको रुपमा हेरिएको छ । शी जिनपिङले भने ‘चीन अन्य देशहरुलाई कम कार्बन उत्सर्जन गर्ने ऊर्जा उत्पादनमा सहयोग गर्नेछ । अब हामी विदेशमा नयाँ कोइला प्रोजेक्टमा पनि काम गर्ने छैनौं । शी जिनपिङले आफ्नो सम्बोधनमा बहुध्रुवीय संसारको पनि वकालत गरे । उनले भने ‘विश्व्ले संयुक्त राष्ट्र चार्टरको नियमको हिसाबले अन्तर्राष्ट्रिय नियम तथ गर्नुपर्छ ।’ शी जिनपिङले संयुक्त राष्ट्रसंघको महासभालाई बेइजिङबाट भर्चुअल रुपमा सम्बोधन गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *