अमेरिकामा एउटी नेपाली चेलीको दुखद अन्त्य, पूर्वपतिले दिए दागबत्ती

डिसी नेपाल
१० असोज २०७८ २२:४३

वासिंगटन डिसी । अमेरिकाको टेक्सासमा सडक दुर्घटनामा परी मृत्युबरण गरेकी एकजना नेपाली चेलीका आफन्त र नातेदार कोही नहुँदा स्थानीय नेपाली समाजले अभिभावकत्व ग्रहण गरेर अन्तिम संस्कार गरेको छ । नेप्लिज सोसाइटी इन टेक्सास (एनएसटी) ले ती चेलीका पूर्वपतिसमेतको सहकार्यमा हिन्दू विधिपूर्वका सेप्टेम्बर २३ विहिबार अन्त्येष्टि गरेको छ । समाजले अन्तिम संस्कारको लागि सबै खर्च आफैं व्यहोरेको छ । पुरोहितसमेत लगाएर विधिपूर्वक उनको अन्त्येष्टि गरिएको समाजका अध्यक्ष दिनेश शर्माले डिसी नेपाललाई बताए ।

नेपालको सुदुर पश्चिम अछाम जिल्लाबाट विवाह गरेर अमेरिका आएकी निर्मला रेग्मी ओझा सडक दुर्घटनामा परेकी थिइन् । उनलाई तत्काल स्थानीय अस्पताल त पुर्याइयो तर उनको निधन सडकमै भइसकेको रहेछ । टेक्सासको फोर्थ वर्थमा बाटो काट्ने नियमको पालना नगरी सडकमा हिड्दै गर्दा निर्मलालाई गाडीले हानेको थियो । उनको घटनास्थलमै मृत्युभएको भए पनि प्रहरीले उद्दार गरी उनलाई नजिकको अस्पताल लगियो । अस्पतालले मृत घोषित गरिदियो । त्यतिञ्जेल उनका आफन्तहरु केही छन् कि भन्ने खोजी पनि भएको थियो । उनको परिचयपत्रमा उल्लेख भएको विवरण हेर्दा केन्टकीको ठेगाना र पूर्वपतिको नामसमेत भएपछि अस्पतालले सम्पर्क गरेको थियो ।

समाचारअनुसार, उनी अमेरिकाको केन्टकीमा बसोवास गर्ने एकजना नेपाली युवासंग मागी विवाह गरेर सन् २००७ मै अमेरिका आएकी रहिछन् । तर, उनको दाम्पत्य जीवन लामो समय चल्न सकेको रहेन छ । मानसिक रोगको औषधि खांदै गरेकी निर्मलाको दाम्पत्य जीवन विवाहको दुईबर्षभित्रै टुटेको रहेछ । तेह्र—चौध बर्षअघि कानुनीरुपमै डिभोर्स भइसकेकी पूर्वपत्नीको मृत्युलाई केन्टकी निवासी पूर्व पतिले वेवास्ता गरेनन् । उनकै माध्यमबाट टेक्सासस्थित नेपाली सोसाइटीलाई तत्काल खवर पुग्यो । नेपाली सोसाइटीका प्रतिनिधिहरु अस्पताल पुगे र उनको बारे थप बुझ्ने कोसिस गरे ।

नेप्लिज सोसाइटी इन टेक्सासका पूर्व अध्यक्ष तथा एनआरएनए अमेरिकाका उपाध्यक्ष सुमन थापा र समाजका अन्य प्रतिनिधिहरु अस्पताल पुगेर घटनाबारे विवरण लिएका थिए । उनीहरुले आफन्तहरु पनि खोज्ने प्रयास गरेका थिए । निर्मलालाई चिन्ने जान्नेहरुसंग सम्पर्कको कोसिस गरेका थिए तर अमेरिकामा निर्मलाका पूर्वपतिबाहेक अरु कोही पाइएनन् । सम्बन्ध विच्छेद भएको बर्षौं भए पनि उनका पूर्वपति केन्टकीबाट टेक्सास पुगेका थिए ।

कहिले न्यूयोर्क, कहिले केन्टकी बसेकी निर्मला केही समयदेखि टेक्सासमा बसेकी रहिछन् । उनी कहां कसरी बसेकी हुन् भन्ने कुरा कतैबाट खुलेन । स्थानीय अमेरिकी अधिकारीहरुको अनुसन्धानले उनी होमलेस रहेको पत्ता लगायो । त्यसपछि उनको नेपालमा रहेको परिवारसंग सम्पर्कको प्रयास गरियो । बुवा, आमा र भाइसंग समेत कुराकानी भएपछि उनको अन्तिम संस्कार टेक्सासमै गर्ने निधोमा एनएसटी पुगेको थियो । जसको कोही छैन, उसका लागि एनएसटी छ भन्ने प्रमाणित गर्दै एनएसटीले उनको अभिभावकत्व लियो । एनएसटीका पूर्व अध्यक्ष थापाले डिसी नेपाललाई भने, ‘हामीले उहांको कोही पनि नभएको थाहा पाएपछि अभिभावकत्व लिएर विधिपूर्वक अन्तिम संस्कार गरेका हौं ।’

अन्तिम संस्कारमा हिन्दू विधिपूर्वक दागबत्ती दिएर सवै कर्महरुसमेत पूरा गरी स्थानीय फ्युनरल होममा गरिएको थियो ।

सामाजका प्रतिनिधिहरुको उपस्थितिमा श्रद्धाञ्जलि सभा गरेर उनका पूर्वपतिले दागबत्ति दिएका थिए । एनएसटीका अध्यक्ष दिनेश शर्माले डिसी नेपाललाई दिएको जानकारीअनुसार, दुर्घटनामा गाडी चालकको गल्ती देखिएको छैन त्यसैले दुर्घटना विमाको रकम दावी गर्न पनि समस्या भइरहेको छ ।

‘गलतबाटोमा दगुरिरहेको बेला दुर्घटना भएको रहेछ’ शर्माले डिसी नेपालको अमेरिकाबाट संचालित हाम्रो लेन्स कार्यक्रममा प्रस्तोता अर्जुन दाहालसंग कुराकानी गर्दै भने, ‘कानुनीरुपमा कुनै सम्बन्ध नभए पनि उहांका पूर्वपति आउनुभयो, हामीले अनुरोध गर्यौं, उहा आएर दाहासंस्कार गर्यौं, अब तेह्र दिनमा सुदुर पश्चिम समाजका साथीहरुसँगको सहकार्यमा उहाँको अस्तु पनि यही खोलामा बगाउंदै छौं ।’ निर्मलाको अवस्थाका बारेमा समाजलाई पहिला नै थाहा भएको भए आफूहरुले उपचारका लागि कोसिस गर्ने थियौं भन्दै अध्यक्ष शर्माले आफूहरुले थाहा पाउंदा ढिलो भइसकेको र मृत्युपछि मात्र थाहा पाएकाले केही गर्न नसकिएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *