… त्यसपछि जन्मियो ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’ – Dcnepal

… त्यसपछि जन्मियो ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’

‘मेरो कृतिले मदन पुरस्कार पायो भन्ने खबर पत्याएकै थिइन,’ मदन पुरस्कारबाट पुरस्कृत ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’का लेखक भगिराज इङ्नाम आफ्नो अनुभव सुनाउँदै थिए।

२०७७ सालको मदन पुरस्कार भगिराज इङ्नामद्वारा लिखित ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रहले प्राप्त गरेको छ। हरेक वर्ष एउटा उत्कृष्ट कृतिलाई प्रदान गरिँदै आएको उक्त पुरस्कार अधिकांश साहित्य र त्यसमा पनि आख्यानले पाएका छन्।

२०१३ सालबाट सुरु भएको मदन पुरस्कारले थोरै मात्र इतिहासका पुस्तकहरु सम्मान गरेको छ। ‘इतिहासका पुस्तक पनि सम्मानित हुने रहेछन्। मेरो पनि भयो। इतिहास तथ्यमा आधारित भयो भने मदन पुरस्कारले हेर्दैन, पुरस्कृत हुँदैन भन्ने होइन,’ आफ्नो पुस्तक मदन पुरस्कारबाट पुरस्कृत भयो भन्दा भर नमानेर गुठीको विज्ञप्ति नै मागेका इङ्नाम अहिले दंग परिरहेको अवस्थामा छन्।

‘मेरो पुस्तकले पुरस्कार पायो भन्ने खबर साथीले सुनाउनु भयो। विश्वास नै लागेन। पछि उहाँले नै गुठीले निकालेको विज्ञप्तिको लिंक पठाउनु भयो। त्यो हेरेपछिमात्र विश्वास गरेँ। चर्चित अनुहार, चर्चित पुस्तक लेखेका लेखकहरुका पुस्तक, अझै धेरै साहित्यका पुस्तकहरुको बीचमा मेरो पुस्तकले पाउँछ भन्ने अपेक्षा मैले गरेकै थिइन।’

गुठीमा गएर पुरस्कारका लागि दर्ता गर्न पनि अर्कैले जोड गरेका हुन् रे इङ्नामलाई। उनी त गुठीको प्राङगढमा छिरेपछि न पढेर परीक्षा दिन आएको विद्यार्थी झैं अलमलमा परेका थिए।

तीन सय वर्ष पुरानो इतिहास उनको किताबमा समावेश गरिएको छ। नेपालमा सेनहरुले शासन गर्दा लिम्बुवान संघीयता जस्तै थियो। शुब्बाहरु शक्तिशाली थिए। शाह वंशले शासन गर्दा लिम्बुवान क्षेत्र दबाबमा परेको उनको पुस्तकमा देखिन्छ। थुप्रै लालमोहर, स्यामोहरहरु संकलन गरिएको छ। राजाहरुले दिएको आदेश, अनुमति, अधिकार सबै लालमोहर लागेर गएको र राणाहरुले दिएको त्यही कुरा स्यामोहरमा गएको इङ्नामले किताबमा उल्लेख गरेका छन्।

उनले गुठीमा पुस्तक दर्ता गर्दाको अनुभव सुनाउँदै भने, ‘दर्ता गर्न जाने बेला पनि नपढेर परीक्षा दिन गएको विद्यार्थी जस्तै धक मान्दै मान्दै पुगेको थिएँ। एक जना भाइ प्रोचुगलमा हुनुहुन्छ उहाँले तीन पटकसम्म म्यासेन्जरमा मदन पुरस्कारको लागि दर्ता गराउनुहोस् भनेर भन्नु भएपछि दर्ता गराएको हुँ। मलाई तथा थाहै थिएन, उहाँले नभनेको भए म दर्ता नै गराउँथेन।’

तत्कालीन लिम्बुवान क्षेत्रमा जन्म लिएका इङ्नाम पूर्व प्रशासक हुन्। आफ्नो जागिरे जीवनमा नै लिम्बुहरुको इतिहाससहित दुईवटा पुस्तक लेखेका उनलाई इतिहासमा कलम चलाउने हुटहुटी बढ्यो।

‘२०३९ सालमा लोकसेवा दिएर सरकारी जागिरमा प्रवेश गरेको हुँ। लोकसेवाको परीक्षा दिनेहरुले कसरी पढ्नु पर्छ सबैलाई थाहा छ। मेरो पनि त्यहीबेलादेखि पढ्ने बानीको विकास भयो।’

लोकसेवाको लागि इतिहास पढ्दा उनलाई छोयो। उनले इतिहास पढ्न थाले। उनी प्रमुख जिल्ला अधिकारी हुँदा पनि समय पायो कि इतिहास अनुसन्धानमा लागि हाल्ने गरेको सहकर्मीहरु बताउँछन्।

लामो समय सरकारी सेवामा काम गरेका उनलाई रिटार्यडपछिको जीवन आरामले बाँच्न सक्ने अवस्था थियो। उमेरले पनि तीन बीसमाथि भएका इङ्नामलाई त्यसै बस्न मन लागेन झण्डै ७ वर्षको लामो संघर्ष गरे इतिहास खोज्नमा। उनी रिटार्यड भए टायर्ड भएनन्।

‘जब पढ्ने बानीको विकास भयो। मैले इतिहाका धेरै पुस्तकहरु पढेको छु। इतिहास भनेको तथ्यमा आधारित सत्य हो। अरु साहित्य लेखेझैँ कहीँ कल्पना मिसाउँ, कतै वास्तविकताले क्लिक गरोस भन्ने हुँदैन।’ उनले जागिर छोडेपछि सत्यको खोजीमा लागे।

‘म धनकुटाको प्रमुख जिल्ला अधिकारी भएर काम गरेँ। त्यहीबाट रिटायर्ड भएको हुँ। काठमाडौं आउने, पेन्सन मिलाउने, अथवा अर्को कुनै ठाउँमा जागिरका लागि जाने भन्दा पनि मलाई लिम्बुवानको इतिहास खोज्नु पर्ने थियो। म त्यतैबाट इतिहास खोज्नका लागि लागेँ।’

जागिरबाट रिटायर्ड भएपछिको सात वर्ष उनले लिम्बुवान क्षेत्रको भ्रमण गरे। भ्रमणमात्र होइन, रातदिन लगाएर तथ्यहरुको खोज गर्न थाले। एउटा शब्दको लागि एक हप्ता पनि लगाए इङ्नामले। ‘पुराना दस्तावेजहरु पढ्न थालेपछि शब्दको अर्थ नबुझिने। नेपाली शब्दकोषमा खोजी नीति गर्‍यो त्यहाँ पनि नपाइएपछि समय लियो र विज्ञहरुकोमा पुग्यो। झण्डै एउटै शब्दको लागि एक हप्ता लागेको अनुभव पनि छ।’

सामान्यतः उमेर पाको हुँदै गएपछि विहान उठेर मोर्निङवाक जाने चलन छ। त्यो बानी इङ्नाममा पनि नभएको होइन। प्रमुख जिल्ला अधिकारी बनेका उनी बन्दुकधारी सुरक्षा गार्डको साथमा घरबाहिर निस्कने गरेको सम्झना उनका मनमा ताजै छ। त्यसपछिको जीवनमा पनि गार्डसहित अझै केही वर्ष बिताउने पाउने ठाउँ हुँदा हुँदै पनि इङ्नामले दुई वर्षदेखि मोर्निङवाकसमेत जान छोडे।

‘विहान उठेदेखि राति नसुत्दासम्म कम्प्युटरको अगाडि हुन्थेँ। करिव दुई वर्ष त म बाहिर पनि निस्किइन। बाहिर भनेको काममा त निस्के हुँला, यो पुस्तकको काम भन्दा बाहिर निस्केन भन्दा राम्रो होला अझैँ। हरेक शब्दहरुको अर्थ खोज्नमै दिन बित्थ्यो। विहान उठेदेखि नसुत्दासम्म।

सामान्यतः विहान ५ बजेदेखि राति ९ बजेसम्म लगातार काम गर्थेँ। त्यसरी जन्म भएको हो ‘लिम्बुहरुको ऐतिहासिक दस्तावेज संग्रह’को।’
सातवर्षको लामो मेहनत लगाएर निकालिएको नौ सय १६ पेज मोटो किताबमा सबै इतिहासका पाना छन्।

तीन सय वर्ष पुरानो इतिहास उनको किताबमा समावेश गरिएको छ। नेपालमा सेनहरुले शासन गर्दा लिम्बुवान संघीयता जस्तै थियो। शुब्बाहरु शक्तिशाली थिए। शाह वंशले शासन गर्दा लिम्बुवान क्षेत्र दबाबमा परेको उनको पुस्तकमा देखिन्छ।

थुप्रै लालमोहर, स्यामोहरहरु संकलन गरिएको छ। राजाहरुले दिएको आदेश, अनुमति, अधिकार सबै लालमोहर लागेर गएको र राणाहरुले दिएको त्यही कुरा स्यामोहरमा गएको इङ्नामले किताबमा उल्लेख गरेका छन्।

नेपालको नक्सा पूर्वमा टिस्टा पुगेको प्रमाण पनि संकलन गरेर इङ्नामले आफ्नो किताबमा राखेका छन्। गार्खाली सेनाले टिस्टा खोलामा हरितयार पखालेको छ भने अरुण पूर्व टिस्टा पश्चिमको भागलाई लिम्बुवान क्षेत्र रहेको कुरा इङ्नामको पुस्तकमा दस्ताबेजसहित पाइन्छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो