अबदेखि टोकन प्रणालीमार्फत श्रम स्वीकृति दिइने

डिसी नेपाल
१६ असोज २०७८ १५:४९

काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचलले अबदेखि टोकन प्रणालीको माध्यमबाट भौतिक उपस्थितमा श्रम स्वीकृत दिने भएको छ । ताहाचल कार्यालयका शाखा अधिकृत प्रदीप कुमार ढकालका अनुसार कार्यालयमा उपलब्ध जनशक्ति, स्रोत आदि समस्याका कारण एवं सेवाग्राहीहरुको हितसमेतलाई दृष्टिगत गरी टोकन प्रणालीका आधारमा श्रम स्वीकृति दिइने भएको हो ।

कार्यालयले एक सूचना जारी गर्दै भोलि (आइतबार)देखि सार्वजनिक विदा बाहेक हरेक (आइतबारदेखि शुक्रबारसम्म) दिन भौतिक उपस्थितिमा या अनलाइनको माध्यमबाट निश्चित समयावधिमा टोकन लिन सकिने जनाएको छ ।

सूचनाका अनुसार हरेक शुक्रबार दिनको २ बजेपछि र भौतिक उपस्थितितर्फ हरेक दिन ९ बजे र १०ः१५ बजे आसपासको समयमा निश्चित संख्यामा कम्युटर प्रणालीमार्फत टोकन खुला गरिने छ । साथै, खुला गरिने टोकनको संख्या सिमित हुने जनाइएको छ ।

त्यस्तै, टोकन खुला भएपछि आफ्नो टोकनसहित भौतिक उपस्थिति हुने सेवाग्राहीहरुले फारममा उल्लेख भएको टोकनको मितिभित्रमा कार्यालयबाट श्रम स्वीकृति नविकरण गराउनु पर्नेछ । र, अनलाइनबाट श्रम स्वीकृति लिन टोकन लिएको ४ दिनसम्म लाग्ने छ ।

भौतिक उपस्थितितर्फको टोकनको म्याद टोकनमा उल्लेख भएको मिति र सोको भोलिपल्ट गरी दुई दिनमात्र मान्य हुने जनाइएको छ । त्यसपछि भने स्वतः कम्प्युटर प्रणालीले रद्द गरिदिने छ ।

त्यसैगरी कार्यालयले श्रम गन्तव्यमा उड्नु भन्दा ९० दिन बढी समयको श्रम स्वीकृति हुनुपर्ने भएकोले श्रम स्वीकृतिको एकिन गरेर मात्र जहाजको टिकट लिन पनि सुझाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *