शाहीन ट्रपिकल चक्रवात : ओमानमा नेपालीलाई सर्तक रहन आग्रह

डिसी नेपाल
१७ असोज २०७८ १३:५४

काठमाडौं । ओमानको राष्ट्रिय बहु–विपद पूर्व सतर्कता केन्द्रद्वारा जारी सूचनाका अनुसार पछिल्लो समय अरब सागरमा केन्द्रविन्दु बनाएर शाहीन नामको ट्रपिकल चक्रवात सुरु भएको छ । २ देखि ३ दिनसम्म रहने उक्त चक्रवातको असर मस्कटसम्म पर्ने हुनाले त्यहाँ रहेका नेपालीलाई सतर्कता रहन ओमानको मस्कटस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।

केन्द्रका अनुसार मस्कटभन्दा ६ सय ५० किलोमिटर टाढा अरब सागरमा सुरु भएको चक्रवात तीव्र गतिमा ओमान सी तथा मस्कट तटीय क्षेत्रतर्फ आइरहेको छ । दूतावासका अनुसार उक्त चक्रवातको प्रभावले मस्कट तथा मस्कटबाट उत्तरतर्फको समुन्द्र तटीय क्षेत्रमा आउँदो २–३ दिनसम्म प्रभाव पार्ने अनुमान गरिएको छ । र, प्रभावित क्षेत्रमा ठुलो हावा हुरी एवम् ६०० मि.मि. सम्मको भीषण वर्षा हुन सक्ने छ भने खोला नालाहरूमा पानीको बहाव बढन गई बाढी आउन सक्ने अनुमान गरिएको छ ।

त्यसैगरी, समुन्द्र सतहको उच्च मात्रामा बृद्धि हुन सक्ने छ । चक्रवातका कारण ठूलो हावाहुरी आउने, भीषण वर्षा हुनसक्ने आदिले गर्दा मस्कट तथा मस्कटको उत्तरी क्षेत्रमा दुई/तीन दिनसम्म यसको प्रभाव पर्ने हुनाले सो समयमा समुन्द्र नजिक नजान र सुरक्षित रहन नेपालीहरुलाई सूचनामार्फत दूतावासले सचेत गराएको छ ।

ओमान सरकारले आज र भोलि (आइतबार र सोमबार) त्यहाँका सम्पूर्ण सरकारी कार्यालयहरु बन्द गरेको छ । दूतावासले पनि आफ्नो नियमित सेवा प्रवाह बन्द गर्ने जनाएको छ । साथै, मौसमको नियमित अपडेट हेरिरहन र आधिकारिक सूचनामा मात्र विश्वास गर्न सबै नेपालीलाई दूतावासले आग्रह गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *