अस्पतालमाथि ढुंगा प्रहार भएको भन्दै अस्पतालका सबै सेवा बन्द

डिसी नेपाल
२१ असोज २०७८ १८:४७

काठमाडौं। जिल्ला अस्पताल पाँचथरले इटा, ढुंगा, रड, भाला, खुकुरीसहित अस्पतालमाथि आगजनी भएको भन्दै अस्पतालका सबै प्रकारका सेवा बन्द गरेको छ ।

अस्पतालले आज प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालमा उपचाररत बालिकाको मृत्यु भएको घटनालाई लिएर बुधबार बेलुका अस्पतालमा भएको आगजनीले स्वास्थ्य सेवा प्रवाह गर्न सक्ने अवस्था नरहेको भन्दै आजैदेखि सबै प्रकारका स्वास्थ्य सेवा बन्द गर्ने जनाउँदै सो कार्यमा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।

अस्पतालले बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई बलजफ्ती दोषी करार गरी डर र धम्कीका आडमा पैसाको लेनदेन गर्न पल्केकाहरूले उक्त घटना गराएको समेत जनाएको छ । ‘ बिरामीको उपचारमा अहोरात्र खटिने स्वास्थ्यकर्मीहरूलाई बलजफ्ती दोषी करार गरी डर र धम्कीका आडमा पैसाको लेनदेन गर्न पल्केका केही अराजक मानवभेषी दानवहरूको समूह नै यस्तो कुकृत्यमा संलग्न रहेको घामजत्तिकै छर्लङ्ग छ’, अस्पतालले विज्ञप्तिमा भनेको छ ।

मृतक बालिकाका आफन्तसँग समझदारीको प्रयास भइरहेकै अवस्थामा अस्पतालमा आपराधिक हमला भएको अस्पतालले जनाएको छ । उपचाररत नवजात शिशु, बालबालिका, प्रसूति पीडामा रहेका आमाहरू, सुत्केरी, वृद्धवृद्धालगायत गम्भीर बिरामीहरूले सकस झेलिरहेका बेला गरिएको आक्रमणको निन्दा गर्दै अस्पतालले न्यूनतम मानवीय संवेदना भएका व्यक्तिहरूबाट क्रूरतापूर्ण आक्रमणको अपेक्षा गर्न नसकिने भनेको छ ।

आज अस्पताल प्रशासन र मृतक बालिकाका परिवारबीच घटनाको छानविन गर्नेलगायत चार बुँदे सहमति भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *