१०८ घरमा ‘एक घर–एक धारा’ जडान

डिसी नेपाल
२३ असोज २०७८ १७:३७

काठमाडौं । स्याङ्जाका १०८ घरमा एक घर एक धारा जडान गरिएको छ । लामो समयदेखि खानेपानीको समस्यामा गुजारा चलाइरहेका वालिङ–५ मजकोटमा बोहोरीखोला मजकोट लिफ्टिङ खानेपानी योजनामार्फत घर घरमा पानी पुगेको हो ।

विभिन्न चरणमा वालिङ नगरपालिकाबाट विनियोजन भएको रु ५० लाखको लागतमा योजना सम्पन्न गरी प्रत्येक घरमा धारा जडान गरी खानेपानी वितरण गरिएको वालिङ नगरपालिकाका इञ्जिनियर दीपेन्द्र मल्लले जानकारी दिए । इञ्जिनियर मल्लका अनुसार गाउँभन्दा तल रहेको बोहोरीखोला मुलबाट पानी तानेर मजकोटमा ल्याइएको र त्यहाँ ४० हजार लिटरको ट्याङ्कीमा पानी सङ्कलन गरी वितरण गरिएको छ ।

एक गाग्री पानीका लागि एकदेखि डेढघण्टा समय खर्चनुपर्ने अवस्था रहेकोमा योजनामार्फत गाउँमा पानी आए पछि निकै सहज भएको बोहोरीखोला लिफ्टिङ खानेपानी योजनाका अध्यक्ष फणीन्द्र थापाले बताए । खोल्सा खोल्सीमा गएर पालो कुरेर खानेपानी ल्याउनुपर्ने बाध्यता हटेको छ भने पानी बोक्दा बोक्दै थकाइ लाग्ने अवस्था अब नरहने अध्यक्ष थापा बताए ।

प्रत्येक घरमा मिटर जडान गरिएको छ । वालिङ नगरपालिकाले खानीपानीका समस्या भएका बस्तीमा शुद्ध खानेपानी पु¥याउने लक्ष्यसहित योजना अगाडि बढाएको छ । नगरपालिकाले गत आव २०७७/०७८ मा खानेपानीमा रु ५६ लाख ५५ हजार ५७४, आव २०७६/०७७ मा रु ८४ लाख ७० हजार ५६४, आव २०७५/०७६ मा रु दुई करोड सात लाख चार हजार ६८९ विनियोजन गरेको थियो । प्रदेश, केन्द्र सरकार र अन्य सहयोगी सङ्घ संस्थाको पहलमा नगरका १४ वटै वडामा खानेपानीका योजना अगाडि बढाइरहेको जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *