साफ उपविजेता नेपाली टिम स्वदेश फिर्ता (फाेटाेफिचर)
काठमाडौं। पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता भएको छ। माल्दिभ्सको मालेमा आयोजना भएको १३औं साफमा नेपाल दोस्रो भएको हो । नेपाल फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग ३-० गोल अन्तरले पराजित भएको थियो।
नेपाली टिम बिहान १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लिएको थियो। नेपाली टोलीलाई खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का उपदाधिकारी लगायतले भव्य स्वागत गरे।

नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताई भने फाइनल अघि नै राजीनामा दिइसकेका कारण माल्दिभ्सबाट कुवेत पुगेका छन्। यस्तै राष्ट्रिय टोलीका सदस्य रोहित चन्दसमेत नेपाल झरेनन् । व्यावसायिक फुटबलका लागि इन्डोनेशिया लिग वान खेलिरहेका रोहित जाकार्ता नै लागेका छन्। यसअघि रोहित जाकार्ताबाट सिधैं माल्दिभ्स पुगेका थिए।

पाँच राष्ट्र सहभागी प्रतियोगितामा नेपाल लिग चरणमा उपविजेता बन्दै फाइनल पुगेको थियो । भारतले भने राउण्ड रोबिन लिगको शीर्ष स्थानमा रहँदै फाइनल खेलेको हो।

लिग चरणमा नेपालले माल्दिभ्सलाई १-० र श्रीलंकालाई ३-२ ले हराएको थियो। यस्तै भारतसँग १-० ले पराजित हुँदा अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेलेको थियो।




























No ads found for this position


Facebook Comment