पाल्पामा उत्पादित छुर्पी अमेरिका निर्यात

डिसी नेपाल
६ कार्तिक २०७८ १५:५९

काठमाडौं ।पाल्पामा छुर्पी खाउँ, सुर्ती हटाउँ भन्ने अभियानका साथ आठ वर्षअघि उत्पादित छुर्पीले व्यावसायिक रुप लिन थालेको छ ।

पाल्पाको तानसेनमा उत्पादित छुर्पी अमेरिका निर्यात हुँदै आएको छ । गाईको दूधबाट उत्पादित वार्षिक १० मेट्रिकटन छुर्पी निर्यात हुने गरेको छ । यहाँ उत्पादित छुर्पी पोखरा, काठमाडौँ हुँदै अमेरिका निर्यात हुँदै आएको भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा चन्द्रबहादुर रानाले बताए ।

अमेरिकामा कुकुरलाई आहाराका रूपमा खुवाउने गरिएकाले यहाँ उत्पादित छुर्पी काठमाडौँमा सङ्कलन गरी अमेरिका पठाउने गरिएको उनको भनाइ थियो । पाल्पा पछिल्लो वर्ष व्यावसायिकरूपमा पशुपालनसँगै दूध र मासुमा आत्मनिर्भर बनेको छ ।

जिल्लामा उत्पादित भैँसीको दूधको खपत सहजरूपमा हुँदै आएको छ । गाईको दूधको माग न्यून हुँदा खपतमा समस्या भएपछि सहकारी तथा निजी डेरी छुर्पी उत्पादनमा आकर्षित भएका हुन् । उत्पादित दूध सहजरूपमा खपत गर्न जिल्लाका अन्य स्थानमा पनि छुर्पी उत्पादन हुन थालेको छ । ‘छुर्पी खाऊँ, सुर्ती हटाऊँ’ भन्ने अभियानका साथ सञ्चालित उद्योगले अहिले स्वदेशमै आम्दानीसँगै स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गरेको छ । दूधलाई प्रशोधन गरी छुर्पी उत्पादन गरिन्छ । यहाँबाट दैनिक ५५ हजार छुर्पी जिल्ला बाहिर निर्यात हुन्छ । उपभोक्तालाई चाहिने दूध, दही र पनिरबाट बाँकी रहेको दूधबाट छुर्पी उत्पादन गरी किसानलाई मिल्क होलीडेबाट बञ्चित गराउने गरिएको सञ्चालक खरालले बताए ।

दूधको विविधिकरण गर्न थप जनशक्ति आवश्यक पर्ने भएकाले छुर्पी उद्योगमा २० भन्दा बढी युवाले रोजगारी पाएका छन् । उक्त उद्योगले न्यूनतम रु १३ हजारदेखि २७ हजारसम्म आम्दानी गर्न सफल बनेको जिल्ला भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *