चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा विस्तार

डिसी नेपाल
७ कार्तिक २०७८ २१:१०

काठमाडौं । सामान्य स्वास्थ्य सेवा प्रदान गर्दै आएको टोखा नगरपालिकामा रहेको चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा विस्तार गरिएको छ । उक्त केन्द्रले यही कात्तिक १ गतेदेखि विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य सेवा विस्तार गरेको नगरपालिकाका स्वास्थ्य शाखाप्रमुखले बताएका हुन् ।

नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख रनलाल कुलालले टोखाका जनतालाई नगरपालिकामा नै स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा विस्तार गरिएको जानकारी दिए । टोखाले विस्तार गरेको सेवामा भिडियो एक्स–रे सेवा, स्त्री रोग विशेषज्ञ सेवा र डेन्टल सेवा रहेका छन् । तीमध्ये भिडियो एक्स–रे सेवा हरेक हप्ताको सोमबार बिहान ८ देखि ९ बजेसम्म, स्त्री रोग विशेषज्ञ सेवा हरेक हप्ताको सोमबार र बिहीबार बिहान १० देखि साँझ ५ बजेसम्म र डेन्टल सेवा आइतबार, बुधबार र शुक्रबार कार्यालय समयमा प्रदान गरिने स्वास्थ्य शाखाप्रमुख कुलालले बताए ।

टोखाले चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रबाहेक हरेक वडामा रहेका स्वास्थ्य केन्द्रमार्फत टोखाका बासिन्दालाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिकामा ११ वडा रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *