कपिलवस्तुका ६ स्थानीय तहमा फैलियाे झाडापखाला, गाउँलेमा छैन सचेतना

डिसी नेपाल
९ कार्तिक २०७८ ११:२१

कपिलवस्तु। कृष्णनगर-५ डेबराका गंगादेवी पाण्डेय घरको आँगनमा इनार रहेको छ। दसकौँ वर्ष अगाडि खनिएको इनारदेखि पानी नियाल्दा गाढा कालो देखिन्छ। पानीको सतह हेर्दा घीन लाग्छ।

भ्यागुताले टाउको देखाउँदै डुबुल्की मारेकाे देखिन्छ। तीन तहको सरकारले जनतालाई स्वच्छ खानेपानीको पहुँचमा पुर्‍याउने नीति बनाएका छन् । तर डेबराका विपन्न र दलित समुदाय भने पानी पिउन इनार सहारा लिनुपरेको छ।

गाउँका अगुवा वंशराज रैदास भन्छन्, ‘गाउँमा तीन सातादेखि हैजा फैलिएको छ। दूषित पानी खाएका कारण हैजा फैलिएको भन्दै स्थानीय सरकारले स्वच्छ पानी खान आग्रह गरेको छ। तर हामी सँग कुनै उपाय नै छैन ।

सम्पन्न र ब्राह्मण समुदायका घरमा ह्याण्डपम्प छन्। उनीहरूको पानी हामीलाई चल्दैन। करिब नाै घर यही इनारको पानीको भरमा चलेको छ। ’

हैजा प्रभावित कपिलवस्तुको कृष्णनगर नगरपालिका-५ डेबरा गाउँका स्थानीयलाई इनारको पानी पिउने बाध्यता छ। पानी पिउन धारा नभएका कारण विपन्न तथा दलित परिवार दशकौँदेखि इनारको पानी खाँदै आइरहेका छन्। केही घरधुरीले चापाकल प्रयोग गर्ने गरेका छन्। तर चापाकलको पाइप भने इनारमा पुर्‍याइएको छ।

इनारको पानी प्रशोधन नगरी दैनिक क्रियाकलापमा प्रयोग गरिएको सामाजिक अभियन्ता पृथ्वी पाल तेलीले बताए। झाडापखालाको सर्वे गर्ने क्रममा स्थानीयसँग सोधपुछ गर्दा इनारको पानी पिउने गरेको थाहा भएको तेलीले बत्ताउँछन्।

तेली भन्छन्, ‘स्थानीयले इनारको पानी पिउन, लुगा धुन, नुहाउन र गाईवस्तुलाई खुवाउनसमेत प्रयोग गर्छन्। सर्वे गर्दा वंशराज रैदास, त्रिवेणी रैदास, छोटकाउ रैदास, नन्काउ रैदास, जोगराम रैदास, राम किशोर रैदास, पुरन रैदास, गंगादेवी पाण्डे र उनका छिमेकीले समेत इनारको पानीको भर पर्ने गरेका छन्।

उपचार नगरी घरमै बस्छन् बिरामी

डावराका इन्द्रावती केवटलाई झाडाबान्ता देखिएको पाँच दिन भएको छ। औषधि खाए पनि सन्चो भएको छैन। कालिका स्वावलम्बन सामाजिक संस्थाअन्तर्गत सुहारा कार्यक्रमका कर्मचारी पृथ्वीपाल तेलीले दुई किलोमिटर टाढा रहेको शिवराज अस्पतालका उपचार गर्न जान सल्लाह दिन्छन्। तर उनलाई अस्पताल जाने रुचि छैन। केवट भन्छिन्, ‘टोनवा झराई, टोना रही तब दबाइ नही लागी ( झारफुक गर्छु, त्यो भए औषधिले काम गर्दैन), निको नभएपछि अस्पताल जान्छु।’

यता कृष्णनगर-७ सुखरामपुरका एक महिला स्वास्थ्य स्वयंसेविकाको छोरा ११ वर्षका गौतम रैदासलाई शनिबारदेखि झाडापखालाको लक्षण देखिएको छ। आइतबार उनले चारपटक दिसा गरेका थिए। जीवनजल र अन्य औषधि नखाएको भन्दै दुईपटक पानी मात्र खाएको रैदासले बताए। महिला स्वास्थ्य स्वयंसेविकाको छोरा भए पनि दुई दिनदेखि उपचार नगरी गाउँमा डुलेका थिए।

सोही गाउँका पाँच महिनाका अर्श शाह १० दिनदेखि बिरामी परेका छन्। कृष्णनगरको डा.अनवरका उपचार गरेको शाहलाई डवल एन्टीबायोटिकदेखि इन्जाइमसम्म औषधि दिइएको छ। तर उनले खाने मेट्रो नाम गरेको औषधि थिएन। जिंक मिसिएको मन्टी भिटामिन औषधि ६ थोपा दैनिक तीनपटक खान सिफारिस गरेका थिए।

उनलाई दिएको औषधिको विषयमा शिवराज अस्पतालका डा‍. मुकेश चौधरीसँग सोधपुछ गर्दा अनावश्यक औषधि र एकपटक खानुपर्ने जिंक ओभरडोज दिएको बताए। गाउँमा अझै पनि बिरामी भए पनि धान स्याहार्ने काममा व्यस्त हुँदा उपचार नगरी घरमै बस्दै आएका छन्।

डेरा सार्दै झाडापखाला जिल्लाका ६ पालिकामा रोग फैलिन सुरु

कृष्णनगर नगरपालिकामा देखिएको झाडापखालाको प्रकोप जिल्लाका अन्य पाँच स्थानीय तहसम्म फैलिएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कृष्णनगरसँगै बुद्धभूमि नगरपालिका, महाराजगञ्ज नगरपालिका, शिवराज नगरपालिका, यशोधरा गाउँपालिका र विजयनगर गाउँपालिकासम्म फैलिएको छ।

कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिकाका बिरामीको दिसाका नमुनामा हैजा भएको पुष्टिसमेत भएको छ। कार्यालयका अनुसार कृष्णनगर नगरपालिकामा तीनजना, शिवराज नगरपालिका र यशोधरा गाउँपालिकामा दुईजना गरी पाँचजनाको मृत्यु भएको बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *