संविधान र कानूनले दिएको जिम्मेवारी पूरा गरेर मात्र म बाहिरिन्छुः प्रधानन्यायाधीश

डिसी नेपाल
९ कार्तिक २०७८ १८:५१

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संविधान र कानूनले दिएको दायित्व पूरा गरेर मात्र आफू सेवाबाट बाहिरिने बताएका छन् । प्रधानन्यायाधीश र न्यायाधीशहरुको बीचमा आज भएको भेटमा उनले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताएका हुन्।

प्रधानन्यायाधीश र न्यायाधीशहरुबीचको छलफलपछि सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले प्रधानन्यायाधीशले भनेको कुरालाई उद्धृत गर्दै भने, “संविधान र कानूनबमोजिम नियुक्त भएको प्रधानन्यायाधीशले संवैधानिक दायित्व गर्नुपर्छ, म त्यो पूरा गर्न सक्षम छु, संविधान र कानून दिएको जिम्मेवारी पूरा गरेर म बाहिरिन्छु ।”

प्रधानन्यायाधीश जबराले आफूले सेवाबाट बाहिरिनुपर्ने हो भने प्रश्न उठाइएका अरु न्यायाधीशले पनि राजीनामा दिनुपर्ने अनि आफूले राजीनामा दिने समेत छलफलमा भने। प्रवक्ता दाहालले प्रधानन्यायाधीशले भनेको कुरा उद्धृत गर्दै भने, “तपाइँहरुले भने जसरी म बाहिरिनु राजी छैन, यदि सेवाबाट मैले राजीनामा दिनुपर्ने हो भने जुन–जुन श्रीमान्का विषयमा प्रश्न उठेको छ उहाँहरुले पनि राजीनामा दिए म पनि राजीनामा दिन तयार छु ।”

प्रधानन्यायाधीश राणाले न्यायाधीशहरुलाई संविधान र कानूनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रहसमेत गरेका छन् । सर्वोच्च अदालतमा हिजो र आज पेशी तोकिए पनि बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । जसले गर्दा पालोमा टाढाटाढाबाट आएका सेवाग्राही मर्कामा परेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *