बाँकेमा चितुवाको छाला र हड्डीसहित तीन जना पक्राउ

डिसी नेपाल
१३ कार्तिक २०७८ १९:५२

काठमाडौं ।कोहलपुर प्रहरीले चितुवाको छाला र हड्डीसहित तीनजनालाई पक्राउ गरेको छ ।

कोहलपुर नगरपालिका–११ स्थित सागर गेष्टहाउसमा बसेका सुर्खेत र बाँकेका तीन जनाको साथबाट चितुवाको छाला एक थान र एक किलो ४० ग्राम हड्डी बरामद गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

उनका अनुसार सागर गेष्टहाउसको कोठा नं २०५ मा बसेका सुर्खेत पञ्चपुरी नगरपालिका–७ निवासी रमेश बयक र वसन्त बिसी तथा बाँके राप्तीसोनारी गाउँपालिका–९ निवासी हिरासिंह विकलाई प्रहरीले चितुवाको छाला र हड्डीसहित नियन्त्रणमा लिएको हो ।

बाँकेमा चितुवा, रेडपाण्डालगायतको छाला र हड्डीको कारोबारका क्रममा प्रहरी पटक–पटक संलग्नलाई पक्राउ गर्न सफल भएको छ । पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *