मिथिलाका नारीले दाजुभाइसँग मनाउने पर्व ‘सामा’ समापनको सङ्घारमा

डिसी नेपाल
२ मंसिर २०७८ १०:०२
20
Shares

महोत्तरी । मिथिलामा दाजुभाइ/दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिने सामाचकेवा पर्व (सामा)समापनको सङ्घारमा छ । मिथिलानी (मिथिलाका नारी)ले दाजुभाइको सौर्य वृद्घिको कामनासहित मनाउने यो लोकपर्व कात्तिक शुक्ल पूर्णिमाका दिन समापन गरिने तयारी अहिले बढेको हो । मिथिलामा यो पर्व यसपालि शुक्रबार समापन गरिने छ ।

छठ पर्वको खरना (कात्तिक शुक्ल पञ्चमी)का दिन सुरु भएर बोलीचालीमा ‘सामा’ भनिने यो पर्व ११ दिनसम्म मनाइने चलन छ । अहिले कात्तिक पूर्णिमा नजिकिएर यो पर्व समापनको तयारी अघि बढेसँगै मिथिलानी आफ्ना दाजुभाइलाई डाक्न ब्यस्त छन् । पर्वको समापनमा दाजुभाइबाट सामाचकेवा खेलका माटाका आकृति घुँडामा राखेर फुटाउन लगाउने विधि र उनीहरुलाई मिष्ठान्न परिकार खुवाउने परम्पराले दिदीबहिनी आफ्ना दाजुभाइलाई डाक्न अहिले व्यस्त भएका हुन् ।

‘हमर भाइ आई साँझ धैर आयब जायत, ऐखने हम वात कैलिय’ (मेरा भाइ आज साँझसम्म आउँछन्, मैले उनलाइ खबर गरिसकेकी छु) सामा समापनको काममा जुटेकी महोत्तरीको भङ्गाहा नगरपालिका–४ पलार बस्तीकी सियानकीदेवी बाँतर भन्छिन्, ‘आब भाइके लेल मिठाई खरिदब्’ (अब भाइका लागि मिष्ठान्न परिकार किन्नेछु) ।’

आफ्ना दाजुभाइप्रति प्रेम र समर्पण दर्शाउँदै उनीहरुको सौर्य बखान गरेर रातिको समयमा गीत गाउँदै मनाइने सामाचकेवा पर्व रमाइलो खेल पनि भएको मिथिलानी बताउँछन् । ‘चकमन्न रातमा साथीहरु जम्मा हुन्छौँ, गीत गाउँछौँ, त्यसबेला ठट्टा परिहास हुन्छ, अनि खेल भएन त….?’,

सामा रमाइलो खेल भएको बताउने महोत्तरीकै मटिहानी नगरपालिका–७ की दीपिका साह भन्छिन्, ‘आफ्ना दाजुभाइप्रति गौरवबोध गर्नु र आपसी सम्बन्ध प्रगाढ बनाउने सन्देससँगै आपसी (सामा खेल्नेहरु) ठट्टा परिहासले ११ दिन बितेको पत्तै हुँदैन ।’

मध्यरातसम्मको चकमन्न समयमा नगर/गाउँ बस्तीको चौबाटामा समूहमा जम्मा भएर दिदीबहिनीले गीतमार्फत आफूहरुप्रति दर्शाएका प्रेम र समर्पण भावले रोमाञ्चित गराउने गरेको मिथिलाका युवा बताउँछन् ।

दाजुभाइको दीर्घायुको कामनामात्र नभएर मिथिलानी सामा गीतमा आफ्ना दाजुभाइ बहादुर, परोपकारी र दिदीबहिनीप्रति अपार स्नेह भएका पनि गीतबाटै भाव व्यक्त गर्दछन् । यस्ता गीत सुनि रहँदा आफ्ना दिदीबहिनी हुने खुशीले दङ्ग हुन्छन् भने दिदीबहिनी नहुनेलाई मेराचैँ किन दिदीबहिनी भएनछन् भन्ने भाव पैदा हुने गरेको महोत्तरीकै एकडारा गाउँपालिकाको अजमरपट्टि गाउँका सामाजिक कार्यकर्ता अजित मण्डल बताछन् ।

‘चलु बहिना सामा खेल भैयाके आँगन हे…।’ जुग जुग जियथिन भैया अपन हे….।’ (हिँड दिदीबहिनी हो, ‘सामा खेल्न तयार भएकी एक महिलाले अर्की महिलालाई भन्दैछिन्’ सामा खेल्न दाजुको आँगनमा जाउँ, हाम्रो कामनाले दाजुभाइ युगयुगसम्म बाँच्नेछन्) मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग रहेको सामाचकेवा पर्वले ‘छोरी’ नचाहिने भन्नेलाई पनि यो पर्वबीच ‘छोरी’ को रहर जगाउँछ । आफ्ना दाजुभाइ र दिदीबहिनी नहुनेले नजिककमा यस्तो नाताभित्र पर्व मनाउँछन् ।

पर्वमा मिथिलानीले सतभैया (सप्तर्षि), चुगला –कुरा लगाउने, कुरा काट्ने महाभारतकालीन ‘चुडक’ नाउँको एक पात्र, सामा र चकेवाका माटाका आकृति अगाडि राखेर गीत गाउँदै प्रत्येक दिन चुगलाको दाह्रीमा आगोले झोस्दै त्यो दिनको खेल सम्पन्न गर्ने गर्छन् ।

पर्वको अन्तिम दिन (कात्तिक पूर्णिमा) मा दाजुभाइका हातबाट ति आकृति फुटाउन लगाएर जोतिएको खेत वा निर्जन वनमा गाडेर पर्व समापन गरिन्छ । यस अवसरमा दाजुभाइले गच्छेअनुसार दिदीबहिनीलाई वस्त्र र नगद दक्षिणाबापत दिने गरेका छन् ।

दाजुभाइ दिदीबहिनीप्रति यस्तो प्रेम दर्शाउने यो पर्व करिब साढे पाँच हजार वर्ष पहिले द्वापर युगबाट सुरु भएको मिथिला संस्कृतिका जानकार बताउँछन् । द्वापर युगमा श्रीकृष्णकी छोरी सामाले चक्रधर ९चकेवा० सँग प्रेम सम्बन्ध राखेको कुरा एउटा कुरौटे ९चुगला०ले कृष्णलाई भन्दा छोरी स्वच्छन्द प्रवृत्तिकी भई भन्ने रिसमा दुवै (सामा र चकेवा)लाई चरा हुने श्राप दिएको पौराणिक कथा प्रसङ्ग यो पर्वको परिवेश रहेको मिथिलामा विश्वास गरिन्छ ।

कृष्णका श्रापले चरा भएर विचरण गरेकी बहिनी सामा र उनका प्रेमी चकेवाको मुक्तिका लागि कृष्ण पुत्र साम्बले शिवजीको तपस्या गरेर पिता रिझाउन सक्ने वरदान पाई कृष्णसँग गरेको याचनाबाट उनीहरु श्रापमुक्त भई पूर्व योनीमा आएर विवाह गर्न पाएका पौराणिक वर्णन पाइन्छ । दाजु साम्बको त्यही गुनलाई सम्झँदै सामाले गाएकी गीतको यादमा दाजुभाइप्रति कृतज्ञता जनाउन सामाचकेवा पर्वको परम्परा बसेको मिथिला संस्कृति परम्पराका जानकार बताउँछन् । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *