मेरापिक बेसक्याम्पमा अनाधिकृत रुपमा बने घरटहरा

डिसी नेपाल
२ मंसिर २०७८ १५:०३

काठमाडौं । सोलुखुम्बु जिल्लाको महाकुलुङ्ग गाँउपालिकामा पर्ने मेरापिक हिमालको बेसक्याम्प र हाइक्याम्पमा अनाधिकृत टहरा निर्माण गरिएको छ । काठ र जस्तापाता प्रयोग गरी बनेका उक्त टहराहरु व्यवसायिक प्रयोजनका लागि निर्माण गरिएको हो ।

नेपाल सरकारबाट आरोहण खुला गरिएको हिमालमा आरोहणको गतिविधि बाहेक अरु गतिविधि गर्न नपाईने कानुनी व्यवस्था छ । यस्तो व्यवस्था हुदाँहुदै पनि मेरापिक क्षेत्रमा होटल व्यवसाय संचालन गर्दै आएका व्यवसायीहरुले कानुनी रुपमा अनुमतिसमेत नलिइ आफुखुसी टहरा निर्माण गरेको खुलेको छ ।

यसरी मेरापिकको बेसक्याम्प र हाईक्याम्प क्षेत्रमा निर्माण गरिएको टहरा सम्बन्धीत पर्यटन व्यवसायीले प्रयोग गर्दै आएका छन् । जसले गर्दा हिमालमा कुनैपनि भौतिक संरचना निर्माण गर्न नपाईने कानुनको खिल्ली उडेको छ ।

यसरी अनाधिकृत रुपमा निर्माण भएका टहराको बारेमा मकालु बरुण राष्ट्रिय निकञ्ज लगायतका सरोकारवालाहरुसमेत जानकार छन् । यसरी थाहा हुँदाहुँदै पनि होटल व्यवसायीको मिलेमतोमा कुनै पक्ष पनि नबोलेको जानकारहरु बताउछन् ।

५ हजार ७ सय मिटरको उचाइमा रहेका अधिकांश होटल व्यवसायीले पनि टहरा बनाएका छन् । आरोहणका क्रममा प्रयोग हुने सामाग्री ल्याउने लाने झन्जट गर्नु भन्दा बेसक्याम्प र हाईक्याम्पमा टहरा निर्माण गरि थन्काएर राख्न सजिलो हुने भएको व्यवसायीहरुले बताउने गरेका छन् ।

मेरापिकको आरोहण अनुमतिपत्र नेपाल पर्वतारोण संघले जारी गर्छ। त्यसोहुँदा व्यवस्थापन र सरसफाइको समेत जिम्मेवार हुनु पर्ने संघ यो विषयमा जानकार नै नहुनु लज्जास्पद र हाँस्यस्पद भएको नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघका अध्यक्ष राम काजी प्रयासले बताए ।

यसरी बेसक्याम्प वा सो भन्दा माथि भौतिक संरचना निर्माण गर्दा जलवायु परिर्वतनको भय रोक्नसमेत गाह्रो हुने अध्यक्ष प्रयासको भनाई छ । उनका अनुसार यस विषयलाई यथासिघ्र समाधान गर्न अर्थात रोक्न पर्यटन विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल पर्वतारोहण संघलाई अनुरोध गरिएको छ ।

साथै, मेरापिकको बेसक्याम्प र हाईक्याम्पमा बनाइएका टहराहरु नहटाए त्यसको सशक्त प्रतिकार गर्ने निटोगले जनाएको छ ।

मकालु बरुण राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत राम चौधरीले मेरापिक हाइक्याम र बेसक्याममा घरटहरा बनाएको भन्ने कुरा बाहिरेपछि आफ्ना कर्मचारीको साथमा नेपाली सेनासमेत पठाएको जानकारी गराए । उनले भने, ‘अहिले हामी त्यहाँ गएका कर्मचारीहरुको जवाफको पर्खाइमा छौं र त्यसैअनुसार अगाडि बढ्ने वा कारवाही गर्नेछौं ।’

चौधरीले टहरा कसले बनाएको, किन बनाएको र कति ओटा बनाएको हो भने सबै सत्यतथ्य पत्ता लगाएपछि कारवाही अगाडि बढाउने बताएका छन् । उनका अनुसार त्यहाँ पुगेर सत्यतथ्य पत्ता लगाउन हप्तादिन लाग्ने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *