राष्ट्रपतिलाई ‘वटुक’ को स्वस्तिवाचन

डिसी नेपाल
६ मंसिर २०७८ २३:०२

महोत्तरी । पीत (पहेँलो) वस्त्रधारी वटुक (संस्कृत विद्यालयका छात्र) को सामूहिक स्वर लयमा गुञ्जियो, ‘स्वस्ति न इन्द्रो वृहदश्वा, स्वस्तिन पुषा…।’ मुलुककै जेठो मानिने महोत्तरीको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालय परिसरमा राष्ट्रपति विद्यादेवी भण्डारी आज प्रवेश गर्दा देखिएको दृश्य हो यो । विद्यालयमा नियमित रुद्राभिषेक गुञ्जने र आउने अतिथिलाई ‘स्वस्तिवाचन’ बाट स्वागत गरिने अब परम्परा नै बनेको प्राचार्य (प्रधानाध्यापक) ईश्वरीप्रसाद पौडेल बताउँछन् ।

विसं १७७५ मा जयकृष्ण दास नाउँका एक सन्तले स्थापना गरेको गुरुकुल कालान्तरमा संस्कृत पाठशाला भनिँदै अब राजकीय संस्कृत माविका नाउँमा सञ्चालित छ । करिब १५ कट्ठा क्षेत्रफलमा फैलिएको कक्षा ८ देखि १२ सम्म अध्यापन हुने विद्यालयमा अहिले मुलुकका २७ जिल्ला र छिमेकको भारतका विभिन्न ठाउँका गरी १५० विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीहरुमा महोत्तरीबाहेक विकट पहाडी जिल्ला दैलेखका बढी छन् ।

विगतमा ब्राह्मण जातिका वटुकमात्र पठनपाठन गर्न पाउने विद्यालयमा अहिले सबै जातजाति, धर्म परम्पराका छात्रछात्राले पढ्न पाउने भएका छन् । विद्यालयमा हिन्दू परम्पराका विभिन्न जातजातिका मात्र नभई इस्लाम धर्म परम्पराका छात्र पनि रहेका प्राचार्य पौडेलले राष्ट्रपतिलाई अवगत गराए ।

मुलुकको राजगुठीबाट विद्यालयको छात्रावासमा रहने विद्यार्थीले भोजनवृत्ति पाउँदै आएका छन् । यसको स्थानीय व्यवस्थापन मटिहानीस्थित लक्ष्मीनारायण मठले गर्दै आएको छ ।

मुलुकमा शिक्षाको प्रसारमा योगदान दिनुभएका शैक्षिक क्षेत्रका अग्रदूत बालगुरु षडानन्दले शिक्षा आर्जन गरेको यो विद्यालयमा पढेका सयौँ विद्यार्थीले देशका विभिन्न क्षेत्रको विशिष्ट सेवामा योगदान दिएका प्राचार्य पौडेलले सम्झना गरे ।

राष्ट्रपति भण्डारीले गहिरो अभिरुचिका साथ विद्यालयको अवस्थाबारे जानकारी लिए । यसपालिको वर्षाकालमा विद्यालयको पुरानो भवन लडेको र छात्रछात्रालाई पठनपाठनमा भौतिक पूर्वाधारको अभाव भएको सो अवसरमा राष्ट्रपतिलाई जानकारी गराइएको थियो । विद्यालयमा समयानुकूल पठनपाठनका विषय थपिन आवश्यक रहेको र व्यावसायिक शिक्षा प्रवद्र्धनका लागि आयुर्वेद विषयको अध्ययन÷अध्यापनको खाँचो महसुस गरिएको प्राचार्य पौडेलले बताए ।

आज मटिहानी नगरपालिकाले निर्माण गरेको रङ्गशाला उद्घाटन गर्न आएकी राष्ट्रपतिले मुलुककै जेठो विद्यालयको अवलोकन गरेकी हुन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *