द्रुत गतिमा पग्लिरहेको खुम्बुको फोटोहरु सार्वजनिक

डिसी नेपाल
७ मंसिर २०७८ १२:२४

काठमाडौं । विश्वभरका १० जना ख्यातीप्राप्त चलचित्र निर्माता तथा भ्लगर्सहरु सगरमाथा आधार शिविरसम्मको पदयात्रा सफलतापूर्वक पूरा गरि फर्केका छन् ।

उक्त पदयात्रामा खिचिएका द्रुत गतिमा पग्लिरहेका हिमनदीका फोटो र भिडियो फुटेजहरू आयोजक पाटी नेपालले वल्र्ड भ्लग च्यालेन्जमार्फत सोमबार नेपाल पर्यटन बोर्डको हलमा प्रदर्शन गरेको थियो ।

विश्वभरका चर्चित चलचित्र निर्माता तथा भ्लगर्सहरु हिमालको आवाज बन्नुका साथै नेपालको सुन्दरता, संस्कृति, परम्परा, र जिवनशैलीलाई प्रदर्शन गरि प्रवर्द्धन गर्ने उद्देश्य उक्त पदयात्राको रहेको थियो ।

विश्वव्यापी रुपमा बढेको तापक्रम, हिमनदी पग्लने र हिमालयको सरसफाइको विषयवस्तुलाई ध्यानमा राखेर ‘वल्र्ड भ्लग च्यालेन्ज’ परियोजना परिकल्पना गरिएको थियो ।

परियोजनाका प्रमुख श्री गुरुङका अनुसार उत्तर–दक्षिण ध्रुवपछि तेस्रो ठूलो हिउँ जम्ने देश नेपालमा अहिले तापक्रम वृद्धिका कारण द्रुत गतिमा हिमनदी पग्लिरहेको छ । यहि कुरालाई तत्काल ध्यान दिनु आवश्यक रहेको भन्दै खुम्बु ग्लेसियरका मौलिक तस्बिरहरू पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको गुरुङले बताए ।

हिमनदीहरु द्रुत गतिमा पग्लिरहेका छन् जसले निकट भविष्यमा सम्पूर्ण मानव जीवन र इको–सिस्टममा समेत असर पर्नेछ । यससम्बन्धमा ट्रेकिङ गर्न लागेका निर्माता तथा भ्लगर्सहरुका युट्बुमा २ करोडभन्दा बढी फलोअर्स छन् भने समग्र सामाजिक सञ्जालमा ३ करोडभन्दा बढी फलोअर्स छन् ।

उनीहरुको माध्यमद्वारा हिमनदी पग्लिएका सूचना संसारभर फैलाउन मद्दत पुग्नेछ भने सचेतना फैल्याउन र सरोकारवालाहरुले यसको संरक्षणमा कदम चाल्न मद्दत पुग्नेछ ।

यसअघि गत असोजमा उक्त प्रोजेक्टले आयोजना गरेको नेपाल भ्लग च्यालेन्जमा नेपालबाट ११ जना फाइनलिस्टहरु छानिएका थिए । देशभरबाट भाग लिएका ८७ जना मध्य २७ जना भ्लगर्सहरु सेमिफाइनलमा पुगेका थिए ।

कात्तिक पहिलो साता २५औं पटक सगरमाथा आरोही कीर्तिमानी कामीरिता शेर्पा र सन् २०१९ का ‘शेर्पा अफ द इयर’ पदक विजेता तथा कीर्तिमानी आरोही मिङ्मा डेविड शेर्पाका साथमा चलचित्र निर्माता तथा भ्लगर्सहरुको टोली सहासिक पदयात्रामा प्रस्थान गरेका थिए ।

पदयात्रामा कामीरिता मुख्य प्रशिक्षक (हेड कोच) रहेका थिए भने मिङ्माले टोलीको नेतृत्व गरेका थिए ।

कार्यक्रममा अष्ट्रेलिया, कोलम्बिया, भारत, नेपाल, फिलिपिन्स, थाइल्याण्ड, अमेरिका, अफ्रिका र युरोपका विभिन्न देशका ११ वटा चर्चित चलचित्र निर्माता तथा भ्लगरको सहभागिता रहेको थियो ।

विश्वव्यापी तापक्रम बढेकोले यी हिमनदीहरू द्रुत गतिमा पग्लिरहेका छन् । भ्लगरहरूद्वारा खिचिएका पग्लिएको हिमालको तस्विर तथा भिडियोले युवा पुस्ताका लागि सूचनाको ठूलो स्रोत हुने आयोजकले जनाएको छ ।

ख्यातीप्राप्त चलचित्र निर्माता तथा भ्लगर्सहरुले हिमालयन हिमनदीहरूका कथाहरू बताउन (खुम्बु ग्लेसियर) माउन्ट एभरेष्ट आधार शिविरमा पदयात्रा गरेर फर्केको आयोजकले जानकारी दिए ।

आयोजकले हिमालयको संस्कृति, प्रकृति र गतिविधिहरु समाहित साहसिक रियालिटी टिभी शो सञ्चालन गर्नुको साथै हिमालयको राजधानी र भगवान बुद्धको जन्मस्थलबारे विश्वभर प्रवर्द्धन गर्नेसमेत जानकारी गराएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *