नागरिकता र एक्काइसौं शताब्दीको राष्ट्रिय एकीकरण – Dcnepal

नागरिकता र एक्काइसौं शताब्दीको राष्ट्रिय एकीकरण

नागरिक स्वतन्त्र हुँदैन राज्य भित्र। राज्य एउटा बन्धन हो। राज्यमा अनुशासन हुन्छ। नागरिक, नागरिकता र राष्ट्रलाई कानुनको शासनले उन्मुक्ति दिँदैन। सबै सार्वभौम छन् तर राज्यको सीमामा हुन्छन्। नागरिक, नागरिकता र राष्ट्रको एकीकरणबाट राज्य बन्छ।

नागरिक र राष्ट्रलाई नागरिकताले जोड्छ। नागरिक हुँदैमा राष्ट्र हुँदैन राष्ट्रियता हुँदैमा नागरिकता हुँदैन। नागरिकताले अधिकार स्थापित गर्छ, योग्य नागरिक बनाउँदैन। योग्य नागरिक बनाउनको लागि राज्यले नागरिकप्रति उत्तरदायी हुनुपर्छ।

नागरिक, नागरिकताको प्रमाणपत्रमात्र होइन। जहाँ नागरिक, नागरिकता र राष्ट्र एकीकरण हुन्छ, त्यो देश सभ्य, सम्पन्न, विकसित र प्रजातान्त्रिक हुन्छ। नागरिकको सम्मान नागरिकता हो।अमेरिका बेलायत क्यानाडा लगायतका देशमा नागरिकताको सम्मान छ।

जहाँ नागरिकताको सम्मान छ, नागरिक सम्मानित छन्। नेपाल ,भारत, पाकिस्तान, बङ्गलादेश लगायतका देशमा नागरिकता मतदानको लागि प्रयोग हुन्छ। त्यसैले नागरिक सम्मानित छैनन् । निर्वाचन र मतदानको लागि मात्र प्रयोग हुने नागरिकताले बलियो राष्ट्र निर्माण गर्न सक्दैन।

प्लेटो मेकियावेली, अरस्तुले नागरिक अधिकारको कुरा गरेका छन्। नागरिक र राष्ट्रको बीचमा अभेध्य सम्बन्ध हुन्छ आदर्श राज्यमा। प्लेटोको आदर्श राज्यको परिकल्पनामा नागरिकप्रति राज्यको दायित्व र नागरिकको राज्यप्रतिको उत्तरदायित्व मुख्य विषय छन्। राष्ट्र अमूर्त हुन्छ।

यसलाई नागरिकले मूर्त बनाउँछन्। राष्ट्र ,राज्य निर्माणपछि जन्मेको अवधारणा हो। राज्य निर्माणको पछिल्लो धारणा हो राष्ट्रनिर्माण। तर अहिले यो प्रथम अधिकारको रुपमा स्थापित भएको छ। नागरिकलाई राष्ट्रियताभन्दा राष्ट्रको आँखाले हेर्ने र राजनीति गर्ने कार्यको विकास हुँदै गयो। भइराखेको छ।

यसले नागरिक, नागरिकता र राष्ट्रमा भेद गर्छ र राज्य निर्माणमा असर पुर्याउँछ भन्ने मान्यता आधुनिक मान्यता हो।  पश्चिमाहरुले नागरिक, नागरिकता, राष्ट्र राज्यलाई समयमा एकिकरण गरे र अठारौँ शताब्दीभित्र नै एकीकरण गरे।

‘चार जात छत्तीस वर्णको फुलबारी सबैलाई चेतना भया’ भनेर पृथ्वीनारायण शाहले पनि एकीकरणको प्रयास गरे। प्रजातन्त्र, गणतन्त्र र अहिलेको लोकतन्त्रमा पनि राष्ट्र र नागरिक अधिकारको स्थापना गर्न नसक्नु राज्यभित्रको राजनीति द्वन्दको सबभन्दा ठूलो राजनीति गल्ती हो। यसैमा राजनीतिको असक्षमता देखिन्छ।

नेपालमा एकीकरणपछि राष्ट्रियता, राजा महेन्द्रको राष्ट्रबादले राष्ट्र राष्ट्रियता बलियो बनाएको छ। त्यसपछि नेपालको राष्ट्रलाई राष्ट्रियतामा एकीकरण गर्ने ठूलो प्रयास भएको छैन। राजनीतिक नेतालाई यस्को चेतना छैन। राजनीतिक असक्षमताले राष्ट्रियता बलियो बनाउँदैन। संघीयताको नाममा गरेको दुरुपयोगले राष्ट्रियता कमजोर बनाउँदै छ।

नागरिकलाई छनौटको अधिकार नागरिकताले दिन्छ तर नागरिक अधिकारबिना नागरिकता खोस्टो साबित हुन्छ। भएको छ। यहाँ नागरिकता महंगो छैन। नागरिक महंगा छन्। नागरिकताले असल नागरिक बनाउन सकेन। शिक्षा, स्वास्थ्य, सुरक्षा, रोजगारी ,मानवअधिकारको ग्यारेन्टीले नागरिकतालाई सम्मान गर्छ।

नागरिकताबाट राज्यका अधिकारको उपयोग गर्न पाएका छैनन् नागरिकले। संविधानमा रोजगारी ,खाद्य सम्प्रभुता लगायत मौलिक हक छन्। तर, यी धारामा मात्र सीमित छन्। आधारभूत अधिकार जनताले पाएका छैनन्। सुविधा पाएका छैनन्। राष्ट्रनिर्माणमा नागरिकले समान महसुस गर्नुपर्छ। नागरिक र नागरिकताको संयोजन राष्ट्र हो। राष्ट्रियताले राज्य चिनाउँछ। नागरिकता चिनाउँदैन र राष्ट्रियता हुँदैमा नागरिक बन्न सक्दैन।

जस्तै नेपालीमूलका भारतीय र भारतीय मुलका नेपाली। दुबैको राष्ट्रियता फरक छ, नागरिकता फरक छ, राष्ट्र फरक छ, तर ती नागरिक हुन्। राष्ट्रियताले नागरिक, नागरिकता र राष्ट्रको अनुभूति गराइराखेको हुन्छ। नेपालमा नागरिक ,नागरिकता राष्ट्रभन्दा राष्ट्रियता बलियो छ। जसले सार्वभौमसत्ताको रक्षा गरेको छ।

नेपाली राष्ट्रियता संसारमै बलियो मानिन्छ। जसको उपयोग, दुरपयोग राजनीति ,नेता, नेतृत्वले गरेका छन्। जति राजनीतिक गल्ती गरे पनि जनताले राजनीतिक पार्टीलाई पत्याउँछन् । यो राजनीति बलियो होइन नेपालको राष्ट्रियता बलियो हो । राष्ट्रियता बलियो नभएमा राजनीतिक गल्तीले राज्य विखण्डनतिर जान्छ। जस्तै सुडान, चेकोस्लोभाकिया,सोभियत रुस राष्ट्रियता बलियो नभए के कारण विखण्डनमा गए?

नेपालमा एकीकरणपछि राष्ट्रियता, राजा महेन्द्रको राष्ट्रबादले राष्ट्र राष्ट्रियता बलियो बनाएको छ। त्यसपछि नेपालको राष्ट्रलाई राष्ट्रियतामा एकीकरण गर्ने ठूलो प्रयास भएको छैन। राजनीतिक नेतालाई यस्को चेतना छैन। राजनीतिक असक्षमताले राष्ट्रियता बलियो बनाउँदैन। संघीयताको नाममा गरेको दुरुपयोगले राष्ट्रियता कमजोर बनाउँदै छ। प्रदेशपिच्छेका फरक–रक स्वार्थ, स्थानीय तह पिच्छेका फरक–फरक कानुन, भ्रष्टाचार, अपनत्वको अभाव, अयोग्य राजनीति गलत राजनीतिक संस्कारले राष्ट्रियता कमजोर बनाउँदै छ।

जनताको अधिकार स्थापित भएको छैन। नागरिक दिग्भ्रमित छन्, अब नागरिक नागरिकता र राष्ट्रलाई एकीकरण गर्ने नेता चाहिएको छ।  राष्ट्रियताको जग बलियो भएकोले नेपाल बलियो छ तर दशकौंदेखि नागरिक, नागरिकता र राष्ट्रले राष्ट्रियता बलियो बनाउन सकेको छैन। यो राज्यले भुल्नु हुँदैन। राज्यभित्रको राजनीतिक नेतृत्व र प्रशासनले बुझ्नुपर्छ तब मात्र देशभित्र नागरिक सम्मानित हुन्छन्।

राजनीतिमा प्रजातन्त्रको विकल्प देखिँदैन। प्रजातन्त्र भित्रै नागरिक हराउने पद्धति पनि प्रजातन्त्र नै हो । निरंकुशतन्त्रमा नागरिक ,नागरिकता र राष्ट्रको भेद हुँदैन । जनतामात्र हुन्छन्। जनतामाथि शासन गर्ने पद्धति निरंकुशतन्त्र हो  राणाकालमा नागरिकता थिएन, नागरिक थिए। राज्य थियो, राष्ट्र थिएन, राष्ट्रको राज्यमाथि उपस्थिति महसुस थिएन।

किनभने त्यहाँ प्रजातन्त्र या लोकतन्त्र थिएन। सात सालपछि रैति जनतामा परिणत भयौं।  जनता राज्यप्रति आश्रित भयो। अधिकार थाहा भएन। अधिकार दिइयो। मागेनौं। पञ्चायतमा जनता नागरिक बन्न सकेनन्। अन्तर्राष्ट्रिय सन्धि सम्झौता ,मानवअधिकारआदिमा हस्ताक्षर गर्यौं तर जनता नागरिक हुन सकेनन्।

अहिले हामी प्रजातन्त्र ,गणतन्त्र ,समावेशी लोकतन्त्रको अभ्यास गर्दैछौं । अझै हामी नागरिक अधिकार, सरकारको दायित्व, मौलिक अधिकारका विषयमा प्रष्ट छैनौं, अन्योलमा छौं।

राज्य निर्माण निरन्तर प्रक्रिया हो। हामी कहाँ छौं ? राजनीति, प्रशासन, विकास, अन्तर्राष्ट्रिय इज्जत, हाम्रो कहाँ छ? गरीबी स्वास्थ्यमा कम पहुँच, बेरोजगारीले राज्यप्रतिको अबिस्वास जताततै बढेको छ। यस्तो अवस्थामा सही तरिकाले राज्य निर्माण हुनसक्ला।

गरिबी पच्चीस प्रतिशत छ, बेरोजगारी धेरै छ, चालीस लाख युवा विदेसिएका छन् ,पढेलेखेका विदेश जान्छन ,गाउँमा मलामी छैनन्, युवाहरु छैनन्, स्वास्थ्य शिक्षा महँगो छ, सेवा प्रवाह झन्झटिलो छ, बजार महंगो छ, उद्योगधन्दा आफ्ना छैनन् ,राष्ट्रिय लगानी कम छ, कृषिमा आत्मनिर्भरता बढेन।

भ्रष्टाचार व्यापक छ, नीतिमा भ्रष्टाचार छ, सरकार भ्रष्टाचारबाट मुक्त छैन, जनता, सरकार र शासनको बीचमा ठूलो ग्याप छ फरक छ। सरकारका धारणा जनतासम्म पुग्दैनन्। सन्धि सम्झौता, एमसिसी, बेल्ट एण्ड रोडलगायतका विषयमा सरकार समर्थन गर्छ ,जनता विरोध गर्छन्। राष्ट्रिय स्वाधिनताका विषयमा नेताहरूको फरक मत छ। कहाँ छ नागरिकताको अधिकार ? विभाजित धर्म संस्कृति, परम्परा, रीतिथिति राष्ट्र हुन् ,यसबीचमा पनि राजनीति छ। विभाजित छ राष्ट्र।

प्रतिव्यक्ति आय माथि भएका देशमा राज्य बलियो छ। राष्ट्रिय स्वार्थमा राजनीति हुन्छ। अधिकार स्थापित भएको हुन्छ। नेपालजस्ता मुलुकमा राज्य निर्माण राजनीतिले बुझ्दैन। राजनीतिमा बाहिरको हस्तक्षेप, सन्धिसम्झौता, अन्तर्राष्ट्रिय सिमानाका विषयहरु, धर्मसापेक्ष, निरपेक्षता जस्ता विषयहरुले राष्ट्र एकिकरणमा बाधा पुर्याउँछ।

यी विषयलाई राजनीतिले बुझ्न सक्नुपर्छ। जातीयता, धर्म, संस्कृतिमाथि राजनीति गर्नु हुँदैन। राष्ट्र, राष्ट्रियता, नागरिकता, जनता र राज्यलाई संविधानले समेटेको छ। यी बिषयमा राजनीतिक एकता हुनु जरुरी छ। राज्य निर्माणमा बाधा पुर्याउने बजेट नीति कार्यक्रमबाट जनताले परिवर्तनको अनुभूति पाएनन्।

विदेशमा हरियो पासपोर्टको इज्जत छैन। नेपाली टोपीको इज्जत छ नेपालीको छैन। तीस वर्षअगाडि नेपाली विश्वभरमै विख्यात थियो-आँट, साहस, इमान्दारिता र विश्वासमा। आज क्षयीकरण हुँदैछ। लोकतन्त्रले नेता त जन्मायो। राजनीतिको स्वार्थ पूरा गर्यो ।  नेता धनी भए। सम्पत्ति कमाए तर नेपालको राष्ट्रियता, नागरिकता क्रमश धराशायी बनाउँदैछन।

नागरिकले राष्ट्रप्रति सम्मान देखाउन सकेको छैन। म नेपाली हुँ भन्ने सम्मान राजनीतिले राखेन । झुक्याउने, ढाँट्ने, गलत कुरा बोल्ने, नेता फुटाउने र राजनीति गर्ने प्रवृत्तिले राष्ट्रियता बलियो हुँदैन। नेताको ब्यक्तित्व विश्वासिलो हुनुपर्छ। बोलेका कुरा पुर्याउनुपर्छ।

अधिकार बिनाको नागरिकताले संख्या मात्र बढाउँछ । बलियो राष्ट्रबाद निर्माण गर्न सक्दैन। नेपालप्रति नै नेपालीको विश्वास नरहने स्थिति बन्दैछ। भोट र नोटमा नागरिकता किन्ने ,भोट बैंकको रुपमा जनतालाई हेर्ने, राजनीतिक आँखा अपराधी हुन् । जबसम्म हामी राजनीति संस्कार बनाउँदैनौं राष्ट्रियताको क्षयीकरण हुँदै जान्छ। थुप्रै राष्ट्रहरूको एकीकरण राष्ट्रियता हो। हामीले यो भुल्नुहुँदैन।

भ्रष्टाचार, अनैतिक शासनव्यवस्था, बेरोजगारी, गरिबी, गलत राजनीति प्रणालीले राष्ट्र कमजोर बनाउँछ। नागरिक उदासीन हुन्छन्, यो स्थिति नेपालमा देखिएको छ । प्रत्येक युवामा अहिले राज्यको नीतिप्रति वितृष्णा छ। कुनै नेताप्रति विश्वास छैन, गाली गर्छ, सामाजिक सञ्जालमा तथानाम भन्छन्। कानूनले काम गरेको छैन। यसको पछाडि हाम्रो राजनीति, कानुन मुख्य कारण हुन्।

सेवा प्रवाहमा जनताले पाएको दुःख नै प्रमुख हुन्। सत्रौं शताब्दीको राष्ट्रिय एकीकरण र एक्काइसौं शताब्दीको राष्ट्रिय एकीकरण फरक छ। अब भूगोलको एकीकरण हुँदैन। राष्ट्रियताको एकीकरण हुनु जरुरी छ। जब राष्ट्रियताको एकीकरण हुन्छ ,तब मात्र राज्य बलियो हुन्छ। अहिलेका नेता, प्रशासक, नागरिक, जनता सबैमा चेतना हुनु जरुरी भइसकेको छ।

प्रदेश सचिव, मुख्यसचिव तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो